१९ असार २०८३, शुक्रबार

यस्ता छन् पक्राउ परेका कांग्रेसका सांसद आलममाथि लागेका संगीन आरोपहरू

असोज २६, २०७६
यस्ता छन् पक्राउ परेका कांग्रेसका सांसद आलममाथि लागेका संगीन आरोपहरू

काठमाडौँ - रौतहटको क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद अफताव आलमलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ । उनीमाथि २०६४ चैत २७ गते राति संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम विष्फोट गराएको र घाइतेलाई जलाएर मारेको आरोप लागेको छ ।

२०६४ चैत्र २८ गते सम्पन्न भएको पहिलो संविधानसभाको निर्वाचन बिथोल्न आलमले २० जना भारतीय र ३ जना नेपालीलाई बम बनाउने तालिम दिएको जाहेरीवालाले आरोप लगाएका थिए । बम बनाउँदै गर्दा चैत २७ गते राति विष्फोट भयो र बम बनाउँदै गरेका मानिसहरू घाइते भए ।

त्यसपछि घाइतेहरूलाई आफ्नै स्वामित्वको इँटाभट्टामा लगेर जलाएर मारेको आरोप जाहेरीवालाको तर्फबाट आलमलाई लागेको छ ।

मृतकका आफन्तको पक्षबाट मुद्दा लडिरहेका अधिवक्ता पुष्पराज पौडेलले आलमले जिउँदा मान्छेहरूलाई जलाएर मारेको आरोप लगाए ।

पौडेलका अनुसार घाइते भएका २३ जना मध्ये १ जना आफन्त परेकाले उपचारका लागि आलमले भारत पठाएका थिए भने २२ जनालाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेका थिए । हत्या गरिएका मध्ये एकजनाकी आमा रुक्सना खातुनले प्रहरीमा जाहेरी दिन खोजिन् तर प्रहरीले जाहेरी लिएन ।

खातुनले नेपाल बार एसोसियसनको सहयोगमा पुनः जाहेरी दिइन् । 'दोस्रोपटक प्रहरीले जाहेरी त लियो तर सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गर्यो,' पौडेलले भने, 'सरकारी वकिलको कार्यालयले गरेको निर्णयलाई महान्यायाधिवक्ता कार्यालय पनि सदर गर्यो । पीडितले न्याय पाउने सम्भावना देखिएन ।'

अधिवक्ता पौडेलले त्यसपछि आफूहरू सर्वोच्चबाट उत्प्रेषण परमादेश जारी गराउन सर्वोच्च पुगेको स्मरण गरे । २०६९ जेठ १६ गते सर्वोच्चले मुद्दा नचलाउने निर्णय बदर गर्ने आदेश दियो । पुनः मुद्दा चलाएर छानबिन गर्ने अदालतको आदेश आइसकेपछि पनि ३ वर्षसम्म मुद्दा चलेन ।

यो बीचमा जाहेरीवाला रुक्सना खातुनको हत्या भयो । उनलाई गोली हानेर मारियो । उनको हत्या भएपछि अर्को जाहेरीवाला डराएको अधिवक्ता पौडेलको भनाइ छ ।

त्यसपछि पौडेलले अदालतको अवहेलना भएको भन्दै मुद्दा हाले । 'अदालतले मुद्दा चलाउनु भन्दै दिएको आदेश पालना नभएपछि अवहेलनाको मुद्दा हाल्नुपर्यो,' अधिवक्ता पौडेल भन्छन्, 'अस्ति असार २८ गते अदालतले मुद्दा चलाउन दिएको आदेशपछि आलम पक्राउ परेका हुन् ।'

salt training

कमेन्ट गर्नुहोस्