२१ असार २०८३, आइतबार
पुस्तक समीक्षा

मनको कथाव्यथा

कात्तिक २, २०७६
मनको कथाव्यथा

काठमाडौं –डा विश्वबन्धु शर्माको पुस्तक मान्छेको मन विभिन्न किसिमका मानसिक समस्या भोगिरहेका मानिसहरूको केस स्टडीको संकलन हो । पुस्तकमा डा शर्माले आफ्नो जीवनी पनि प्रस्तुत गरेका छन् । 

हरेक मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या हुन्छ– कसैमा त्यसको अतिरेक भएर अभिव्यक्त हुन्छ भने कसैमा त्यो सुषुप्त हुन्छ । जस्तो, क्लेप्टोमेनिया भन्ने एक मानसिक रोगमा मानिसले अर्काको सामान नजानिकनै चोरिदिन्छ । तर हामीमध्ये लगभग सबैले कसैसँग डटपेन मागेर केही लेखेपछि फिर्ता दिन बिर्सने गर्छौं र आफूसँग राख्छौं । त्यो पनि क्लेप्टोमेनिया नै त हो । 

अनि डा शर्माले नै पुस्तकमा उल्लेख गरेअनुसार, थोरबहुत डिप्रेसन सबैमा हुन्छ । यस वर्षका नोबेल साहित्य पुरस्कार विजेता अस्ट्रियाली लेखक पिटर हान्ड्क पनि बाहिर देखिने प्रत्येक विवेकशील गतिविधिका पछाडि पागलपन लुकेको हुन्छ भन्छन् । भन्नुको अर्थ मानसिक समस्याको बीज लगभग सबैको मनमा रहेको हुन्छ ।

डा शर्माको किताबमा चाहिँ अभिव्यक्त भएका मानसिक समस्याहरूको फेहरिस्त पाइन्छ । उनीसँग मानसिक परामर्श लिन आएका रोगीहरूको केस हिस्ट्री, उपचारविधि र प्राप्त सफलता असफलताको इमान्दार वर्णन डा शर्माले यस पुस्तकमा गरेका छन् । 

मानसिक रोगप्रति हाम्रो समाजमा रहेको नकारात्मक धारणाका कारण रोगीहरू परामर्श लिन आउन हिचकिचाउने र आफ्नो परिवारको कुनै सदस्यमा मानसिक रोग छ भने त्यसलाई सकभर लुकाउन खोज्ने गर्छन् भनी डा शर्माले सही चित्रण गरेका छन् । यस प्रसंगमा ओशोको एक प्रवचनमा आएका कुरा सान्दर्भिक ठहर्ला ।

ओशो भन्छन्– ‘मानसिक रोगको चर्चा हाम्रो समाजमा वर्जित विषय बनाइएको छ । कुनै व्यक्तिलाई कसैले गएर शारीरिक सञ्चो बिसञ्चोको कुरा सोध्यो भने ऊ दंग पर्छ, मलाई ध्यान दिएर मेरो हालचाल सोध्यो भनेर । तर तपाईं कसैलाई ‘दिमाग ठीक दुरुस्त छ नि’ भनेर सोध्नुस् त, ‘मलाई पागल ठान्ने’ भनेर त्यो व्यक्ति झम्टिन आइहाल्छ ।’ मानसिक रोगलाई ठूलो हौवा बनाइएको भएर नै यस्तो प्रतिक्रिया आएको हो । 

डा शर्माको पुस्तकमा विभिन्न किसिमका मनोरोग जस्तै डिप्रेसन, ओसीडी, सुस्त मनस्थिति, साइकोसिस, बाइपोलर डिसअर्डर, टिक डिअर्डर, हाइपोमेनिया, प्रेमसम्बन्धले जन्माउने मनोरोगका केस स्टडीहरू अटाएका छन् । मानव मन र मानव व्यवहारबीचको सम्बन्धलाई पुस्तकमा पठनीय हिसाबमा प्रस्तुत गरिएको छ । गम्भीर मनोरोगहरू रोगीमा कसरी देखापर्छन् अर्थात् कुनै पनि मनोरोगको सूक्ष्म कारण के होला भनी डा शर्माले गरेको अध्ययनलाई पुस्तकमा निकै जीवन्त रूपमा प्रस्तुत गरिएको छ । 

वर्षा ऋतु लाग्यो कि अँठ्याएको जस्तो हुने र घरैमा थुनिएर बस्न मन लाग्ने एक महिलाको मानसिक समस्याको जरो खोतल्दै जाँदा डा शर्मा रोगीको बाल्यकालको आघातपूर्ण घटनासम्म पुग्छन् । डा शर्माले पत्ता लगाएको उक्त कारणको बारेमा थाहा पाएपछि पाठक आश्चर्यचकित हुन्छ ।

प्रत्येक मानिस आफैंमा एक बेग्लै संसार हो भन्छन् दार्शनिकहरू । व्यक्तिको आफ्नो विश्वमा अनेकौं घटनाहरू हुन्छन् र ती घटना अर्को व्यक्तिका लागि कथासरह हुन्छन् । त्यस्ता कथाहरूलाई डा शर्माले केस स्टडीमार्फत पाठकसामु पेश गरेका छन् र मनोरोगीप्रति सहानुभूतिशील बनाउन पाठकलाई प्रेरित गरेका छन् । 

अनौठा लाग्ने केस स्टडीहरूमार्फत पाठकलाई आश्चर्यमा पार्दै मानसिक रोगको बेग्लै संसारको दिग्दर्शन गराउन पुस्तक सफल छ । डा शर्माले दिएको परामर्शपछि रोग निको पार्न सफल भएकाहरूको संख्या नै बढी छ । मानव मन प्रतिकूल परिस्थितिको सामना गरेरै मजबूत बन्छ भन्ने गहन अन्तर्दृष्टि डा शर्माको यस पुस्तकले दिएको छ । अनि मनोरोगीहरूप्रति डा शर्माले देखाएको सहानुभूतिशील व्यवहार उनको पेशागत धर्म मात्र नभई उनको उदात्त चरित्रको समेत उदाहरण हो भन्ने देखिन्छ । उक्त उदात्त चरित्र त उनले काठमाडौं बाहिर गएर निःस्वार्थ रूपमा दिने गरेको सेवामा समेत झल्किन्छ ।

पुस्तकमा डा शर्माको जीवनी पनि अटाएको छ । स्याङ्जाको हुनेखाने परिवारका डा शर्मा विद्यालयमा लद्दु विद्यार्थी थिए तर कसरी उनले कडा मेहनतका साथ आफूलाई खार्दै लगेर रुसमा मनोचिकित्सा अध्ययन गरी नेपाल फर्केर ४० वर्षदेखि मनोचिकित्सा गरिरहेका छन् भनी रमाइलो गरी प्रस्तुत गरेका छन् । चिकित्सा आरम्भ गर्दा संरचना र औषधिको अभाव, अस्पताल प्रशासनका राजनीतिक दाउपेच, अन्य मनोचिकित्सकहरूको इगोका कारण परेका अप्ठ्यारा, प्रजातान्त्रिक आन्दोलनमा लाग्दा भोग्नुपरेको सास्ती सबैलाई डा शर्माले प्राञ्जल भाषामा प्रस्तुत गरेका छन् । 

डा शर्मालाई धर्मप्रति खासै विश्वास रहेनछ त्यसैले धर्म र मनोविज्ञानबीचको सम्बन्धमा उनी प्रवेश गरेका छैनन् । अनि उनी पश्चिममा पढेर आएका भएर उतैको विधि अनुुसरण गर्छन् । मनोचिकित्साको पूर्वीय विधिका बारेमा पुस्तकमा कुनै उल्लेख छैन । 

पुस्तकमा कताकति आउने मुद्राराक्षस चाहिँ हटाएको भए हुन्थ्यो । एक ठाउँमा रक्तश्रावलाई रक्तश्राप छापिएको छ । त्यस्ता भूल अन्यत्र पनि गरिएका छन् । आशा गरौं, पुनर्मुद्रण वा अर्को संस्करण निस्कँदा यी त्रुटिहरू सच्याइनेछन् ।

केही वर्षअघि दिवंगत भएका स्नायुविज्ञ ओलिभर स्याक्सका विभिन्न पुस्तक त्यसमा पनि विशेषगरी द म्यान हु मिस्टूक हिज वाइफ फर ए ह्याटमा मस्तिष्कमा पुगेको क्षतिका कारण मानव व्यवहारमा आएको परिवर्तन अनि त्यसलाई निको पार्न स्याक्सले गरेको प्रयासका विभिन्न केस स्टडीहरू छन् । स्याक्सको पुस्तकले स्नायु समस्या र निदानलाई सरल रूपमा प्रस्तुत गरेकाले धेरै समीक्षक र पाठकले त्यसलाई औधी मन पराएका थिए ।

डा शर्माको यो पुस्तक पनि त्यही स्तरको पुस्तक नेपाली भाषामा आएको छ । यसलाई समीक्षक तथा पाठकले व्यापक स्तरमा अँगाल्ने विश्वास पंक्तिकारले लिएको छ ।      
 

salt training

कमेन्ट गर्नुहोस्