२८ असार २०८३, आइतबार

जनयुद्धमा २ छोरा गुमाएकी आमाको पीडादायी कथा

मंसिर १४, २०७६
जनयुद्धमा २ छोरा गुमाएकी आमाको पीडादायी कथा

७० वर्षीया वृद्धाको घरमा पुग्दा गुन्द्रुकको मगमग बास्ना आइरहेको थियो । सानो आँगनमा एउटा बोरामा उनी गुन्द्रुक सुकाइरहेकी थिइन् ।

आँगन नजिकै तरकारीका लागि गाडिएका झेक्रामा उनको सारी लामो गरी सुकाइएको थियो । सुनसान घर । पूर्व पश्चिम राजमार्ग अन्तरर्गत रूपन्देहीको सैनामैना नगरपालिका–९ बाँसगढीबाट झण्डै १ सय मिटर दुरीमा रहेको उनको घरमा मंगलबार १२ बजेतिर उनको घरमा पुग्दा उनी एक्लै थिइन् ।

टिन र ब्लकले बनेको त्यो सानो घर हो, ७० वर्षीया तुलसा पाण्डेको । घरमा पुगेर खाटमा बस्न नपाउँदै उनले भनिन्, 'आधा जीवन रोएरै गयो । जीवनमा अहिल्यै खुसीले बास गरेन । मर्न पनि सकिनँ । देश बदल्न हिँडेका मेरा छोरा फर्किएनन् कहिल्यै घर ।’

उनले माथिको वेदना पोख्नुको एउटै कारण छ, सशस्त्र द्वन्द्वमा आफ्ना दुई सन्तान गुमाउनु ।

२०६० साल असोज २९ गते उनको कान्छो छोरा युवराज पाण्डे माओवादीमा संलग्न भएको आरोपमा रूपन्देहीको लुम्बिनी क्षेत्रमा बेपत्ता पारियो । २१ वर्षीया छोरा देश परिर्वतनको लागि सशस्त्र द्वन्द्वमा होमिएका उनलाई लुम्बिनीको सुन्डियाबाट राज्यपक्षले अपहरण गरेर बेपत्ता बनाएको थियो । युवराज अहिले पनि बेपत्ता सूचीमा छन् । युवराज बेपत्ता हुनुअगाडि गुल्मीको वामीटक्सार प्रहरी चौकी आक्रमण परी घाइते भएका थिए । खुट्टामा गोली लागेका ५ वर्ष भारतको नयाँदिल्लीमा खुट्टाको उपचार गरेर घर फर्किएका थिए । पार्टीले उनलाई लुम्बिनी क्षेत्रको इन्चार्ज बनाएर पठाएको थियो । सोही क्षेत्रबाट इन्चार्ज भएको केही दिनमा उनी बेपत्ता भए ।

तुलसा भन्छिन्, ‘राज्य पक्ष (सेना/प्रहरी) नियन्त्रणमा लिएर बेपत्ता बनाएका हुन् । छोराको खोजीका लागि कहाँ गइनँ । शान्ति समिति धाइनँ कि मानवअधिकार आयोगको ढोका ढक्ढकाइनँ कि । डीएसी कार्यालय पुगिनँ कि ? दमननाथ ढुंगानाकोमा पनि पुगेँ तर न छोरो भेटियो न छोराको लास ।’

१६ वर्षदेखि युवराजको अत्तोपत्तो छैन । अब छोराको खोजी गर्न ढोका ढक्ढकाउने ठाउँ पनि सिद्धिएको उनको गुनासो छ । केही वर्ष अगाडिसम्म त कसैले घरमा आएर बाहिरबाट ढोका ढक्ढकाउँदा पनि तुलसालाई छोराले ढक्ढकायो कि भन्ने लाग्थ्यो रे ! अहिले त तुलसाको आशाको त्यान्द्रो पनि चुडिइसकेको छ । बेपत्ताहरूको खोजविनका लागि गठन भएका सत्य निरुपण तथा मेलमिलाप  आयोगले पनि छोराको अवस्था बताउन सकेन ।

भाइलाई राज्यपक्षबाट बेपत्ता बनाएपछि त्यसको प्रतिशोधमा दाजु पनि माओवादीमा संलग्न भए । २०६० फागुन २१ गते माओवादीले पार्टीले रूपन्देहीकै सैनामैनाको बुद्धनगरको सेरुवामा आयोजना गरेको कार्यक्रममा सहभागी हुन दुर्गा त्यहाँ गएका थिए । त्यहाँ माओवादीले कार्यक्रम गर्न लागेको थाहा पाएपछि नेपाली सेनाले उक्त ठाउँलाई घेरा हाल्यो । सोही ठाउँमा दुर्गाको सेनाको गोली प्रहारबाट मृत्यु भयो । सेनाको गोलीबाट छोराको मृत्यु भएको उनलाई भोलिपल्ट मात्र थाहा भयो । ‘कसैले मुख खोलेर भनेनन्,’ उनले भनिन्, ‘सालझण्डीको सेनाको ब्यारेकमा शव राखेको थिए भन्ने सुनेर गएँ । त्यहाँ गएर हजार बिन्ती गर्दा पनि छोराको शव पाइनँ ।’

 दुर्गासँगै सोही ठाउँमा अन्य चार जनाको पनि मृत्यु भएको थियो । दुर्गाको काजकिरिया पनि तुलसाले गरिदिन पाइनन् । गुल्मी बलेटक्टरमा रहेका उनको देवरले काजकिरिया गुल्मीमै गरिदिए ।

सानो बुकुरो घरको आँगनतर्फको कोठाको भित्ता उनको दुई छोरा र श्रीमानको तस्वीर छन् । कोठाभित्र छिर्दा त्यही तस्वीर हेर्छिन् । बाहिर निस्किँदा तिनै छोराहरूका तस्वीर नियाल्छिन् । केही वर्ष अगाडिसम्म त बेपत्ता युवराज आउँछ कि भन्ने आशा गरिरहे पनि अहिले तुलसाले अब आउनेमा आशा मारेकी छन् । माओवादीमा लाग्दा युवराजको नाम किरण र दुर्गाको विवेक थियो । दुई वर्ष अन्तरका दुई भाई दुर्गा २०३५ र युवराज २०३७ सालमा जन्मिएका थिए ।

युवा अवस्थाका दुई छोरा गुमाएर अहिले उनले एक्लो जीवन बिताइरहेकी छन् ।  ‘अब मेरो कान्छो पनि फर्केर आउँदैन । दुवै छोरा देशका लागि मरे । बुढेसकालमा कान्छी छोरी विष्णु सहारा छिन् । अब त ७० वर्ष लागेँ । अब कति बाँचुला र ?,’  उनले थपिन्, ‘बाँच्न त बाँचेकी छु । तर म जिउन सकेकी छैन ।’ उनले शहीद र बेपत्ता परिवारलाई राज्यले पेन्सनको व्यवस्था गर्नुपर्ने र आफ्नो रखेदेख गर्ने कान्छी छोरी विष्णुलाई राज्यले रोजगार दिनुपर्ने बताउँछिन् ।

विष्णुले पनि तत्कालीन दाङमा कार्यरत प्रेमबहादुर खत्रीसँग प्रेम विवाह गरिन् । तर प्रेमबहादुरले सेनामा कार्यरत रहँदै गर्दा अर्को विवाह गरेपछि विष्णुलाई त्यो घर जान मन भएन । एक्ली आमाकी सहारा बनेकी छन् । तुलसाका चार छोरीमध्ये विष्णु कान्छी हुन् । विष्णुका पनि दुई छोरा छन् । जसले तुलसालाई छोराहरूको याद भुलाउँदै लगेका छन् ।

*****

कुराकानीको क्रममा उनले प्रश्न गरिन्, ‘प्रचण्डले युद्ध हाँके । आफू सत्तामा पुगे । देशको परिवर्तनका लागि आफ्नो बलिदान र देशका लागि लड्दै गर्दा बेपत्ता पारिएका परिवालाई अहिले खै हेरेको ?’ बेपत्ता र मारिएका छोराको नाममा उनले सरकारबाट किस्ता किस्तामा गरी १० लाख रुपैयाँ पाएकी छन् ।

‘म अहिले सुगर, प्रेसर, दमको रोगी छु औषधि खाने पैसा छैन । कम्तीमा यस्ता परिवारलाई राज्यले पेन्सनको व्यवस्था गर्नुपर्छ । त्यो एकल महिलाको भत्ताले के गर्न पुग्छ र ?,’ उनको अर्को प्रश्न पनि थपियो । तुलसाले छोराहरूको सम्झनामा बाँसढी चोकमा गेट निर्माण गरेकी छन् । शहीद र बेपत्ता गेटमा उनले दुई छोराको प्रतिमा पनि स्थापना गरेकी छन् । आफ्नो व्यक्तिगत ३ लाख रूपैयाँको लगानीमा उनले शहीद बेपत्ता स्मृति गेट निर्माण गरेकी हुन् ।

गेटसँगै गाउँलेहरूको सहयोगमा उनले छोराहरूकै सम्झनामा सडक पनि निर्माण गरिन् । गेटबाट उनको घर जाने बाटोलाई शहीद मार्ग नामाकरण गरिएको छ । त्यस्तै छोराहरूको सम्झनामा नै गाउँकै जनचेतना माविमा अक्षयकोष स्थापना गरेकी छन् । जसबाट दलित र विपन्न विद्यार्थीहरूलाई छात्रावृत्ति प्रदान गरिँदै आएको छ । उनले अहिले आफ्नो दैनिकी बाख्रा चराएर बित्ने गर्छ ।

दैनिक घरव्यवहार चलाउन उनले चार वटा बाख्रा पालेकी छन् । तुलसा २०४८ सालमा गुल्मीको बाँझखर्कबाट रुपन्देहीकै बाँसगढीमा बसाइसराइ गरी आएकी हुन् । उनका श्रीमान झविन्द्र पाण्डे पनि हृदयघातका कारण गुल्मीमै मृत्यु भएको थियो । श्रीमानले किनेको केही कठ्ठा जग्गा तुलसाले अहिले चार छोरीलाई बाडिदिएकी छन् । तराईको गर्मीमा टायल र टिनको छानोमुनी बस्दा गर्मीले पोल्ने गर्छ । अन्तिममा उनले भनिन्, ‘त्यो बुकुरो घरलाई व्यवस्थित गरिदिन कोही पाए आभारी हुने थिएँ ।'

salt training

कमेन्ट गर्नुहोस्