२३ असार २०८३, मंगलबार

लोक सेवा पास गर्दापनि स्थानीय तहले दिएनन् नियुक्ति, मन्त्रालय धाउँदै नयाँ कर्मचारी

मंसिर ३०, २०७६
लोक सेवा पास गर्दापनि स्थानीय तहले दिएनन् नियुक्ति, मन्त्रालय धाउँदै नयाँ कर्मचारी
फाइल फोटो

स्थानीय तहको दरबन्दीमा लोक सेवा आयोगको परीक्षा पास गरी नियुक्ति लिन पुगेका केही कर्मचारीलाई स्थानीय तहहरूले फर्काइदिएका छन् ।

९ हजारभन्दा बढी कर्मचारीका लागि भएको परीक्षामा पास भएका करीब ४० जना कर्मचारीलाई सम्बन्धित स्थानीय तहले नियुक्ति नदिई फर्काइदिएको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रलय स्रोतले जानकारी दियो ।

यसरी नियुक्ति नपाउनेमा अधिकृत स्तरका प्रशासन, लेखा र इञ्जिनीयरतर्फका कर्मचारी रहेका छन् ।

भर्खरै नियुक्तिको प्रक्रिया सञ्चालन भएकाले फिर्ता भएर आउने कर्मचारीको संख्या बढ्न सक्ने मन्त्रालयको अनुमान छ ।

यसरी कर्मचारीहरू फिर्ता भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले स्वीकारे ।

कर्मचारी समायोजनबाट पदपूर्ति भइसकेको भन्दै केही स्थानीय तहले कर्मचारीहरूलाई मन्त्रालयमा फिर्ता पठाएको प्रवक्ता बरालले लोकान्तरलाई जानकारी दिए ।

प्रवक्ता बरालका अनुसार कर्मचारी समायोजनबाट पदपूर्ति भइसकेका र पदरिक्त नभएकाले आवश्यक निर्देशन पाउँ भनी पत्रसहित कर्मचारीहरू मन्त्रालयमा आएका छन् । 

‘मन्त्रालयले विवरण संकलनको काम गरिरहेको छ, विवरण संकलन भइसकेपछि आवश्यक निर्णय गर्छौं । पद रिक्त भएको स्थानीय तहमा स्थानान्तरण गर्न सकिने विकल्प हुनसक्छ,’ प्रवक्ता बरालले लोकान्तरसँग भने ।

लोक सेवा आयोगले लिएको परीक्षामा एउटा स्थानीय तहको दरबन्दीमा उत्तीर्ण भएका कर्मचारीलाई अर्कोमा पठाउन कानूनी जटिलता छ ।

मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर मात्र यस्ता कर्मचारीलाई व्यवस्थापन गर्न सकिने मन्त्रालय स्रोत बताउँछ ।

लोक सेवा आयोगले स्थानीय तहका परीक्षा सञ्चालन गरी ९ हजार १ सय ६१ जना कर्मचारी छनोट गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्