
त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहमा १० हजार १८३ जना विद्यार्थी दीक्षित भएका छन् ।
विश्वविद्यालयका विभिन्न संकाय अन्तर्गत ६२ वटा आंगिक र १ हजार ६१ सम्बन्धन प्राप्त क्याम्पसबाट २०७५ असारदेखि २०७६ जेठसम्म उत्तीर्ण भएका ७० हजार ७७ विद्यार्थी उत्तीर्ण भएका मध्येबाट १० हजार १८३ विद्यार्थी दीक्षित भएका हुन् ।
राष्ट्रिय स्तरमा विषयगत जनशक्ति आवश्यकताको प्रक्षेपण नभएकाले त्रिभुवन विश्वविद्यालय आफैंले परम्परागत शैलीमा जनशक्ति उत्पादन गर्नुपरेको उपकूलपति प्रा.डा. धर्मकान्त बास्कोटाले बताए । ‘त्रिभुवन विश्वविद्यालयमा विश्व बजारले माग गरे अनुसार सञ्चालन रहेका कार्यक्रमलाई परिमार्जन गर्दै लैजाने छौं,’ उपकुलपति बास्कोटाले भने ।

विश्वविद्यालयले प्रदान गर्ने उच्च शिक्षालाई समयसापेक्ष र बजारमुखी र विश्व बजारमा प्रतिस्पर्धी बनाउनेतर्फ अँगालेका कदम समयसापेक्ष भएको सहकूलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताए ।
‘उच्च शिक्षामार्फत दक्ष, योग्य र उत्पादनशील नागरिक विकास गरी देशको विकास र समृद्धिको यात्रालाई सहज र सफल बनाउन तपाईंहरू अग्रसर हुनुनेछ,’ उनले भने ।
‘हरेक क्षेत्रमा शिक्षाले ठूलो महत्त्व राख्छ, लीडरशीपको लागि पनि शिक्षाको ठूलो महत्त्व हुन्छ, मैले मानविकी तथा समाजशास्त्रमा स्नातकोत्तर गरें, अब पीएचडी गर्ने योजना बनाएको छु,’ सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्णभक्त बह्मचार्यले लोकान्तरसँग भने, ‘हामीले समाजको सेवा गर्ने हो, शिक्षित मान्छेले समाज सेवा गर्नु र अशिक्षित मान्छेले समाज सेवा गर्नुमा धेरै फरक पार्छ ।’

रसायनशास्त्रमा पीएचडी गरेकी कृष्णवदन नकर्मीले लोकान्तरसँग भनिन्, ‘आज धेरै खुशी छु, पीएचडी गरें । अबको मेरो उद्देश्य लक्ष्य नेपाललाई आवश्यक पर्ने रसायन शास्त्रमा रिसर्च गर्ने हो ।’
समाजशास्त्रमा स्नातकोत्तर गरेका नेपाल प्रहरीका प्रहरी निरीक्षक बुवा घनबहादुर थापा र इन्जिनीयरिङ गरेका छोरा असिमकुमार थापाले एकैदिन दीक्षित हुन पाएकोमा दंग परेको बताएका छन् । ‘जागिर गर्दागर्दै समय निकालेर स्नातकोत्तर पास गरें । अब पीएचडी पनि गर्ने योजना बनाएको छु । छोराले इन्जिनीयरिङमा स्नातकोत्तर गरेको छ, खुशीको सीमा छैन,’ लोकान्तरसँग थापाले खुशी व्यक्त गरे ।
बिहीवार विश्वविद्यालयको दीक्षान्त समारोहमा ढाका विश्वविद्यालयका उपकूलपति प्रोफेसर डा. मोहम्मद अख्तर उज्जामानलाई प्रमुख अतिथिको रुपमा निम्त्याइएको थियो ।























