
नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले मन्त्री भएलगत्तै १ महिना आफूलाई मन्त्रालय बुझ्नुपर्ने भएकाले समय दिन सञ्चारकर्मीलाई आग्रह गरेका थिए ।
नेपालका कतिपय कम्युनिस्ट कार्यकर्तालाई मार्क्सवाद पढाउने ‘गुरु’ समेत रहेका भुसालले कृषि तथा पशुपन्छी विकास जस्तो प्राविधिक मन्त्रालय कसरी सम्हाल्लान् भन्ने जिज्ञासा चासोको विषय बनेको थियो ।
‘म लोभ र डरमा काम गर्दिनँ,’ मंसिर ५ गते पदभार ग्रहण गर्दै भुसालले भनेका थिए, ‘मलाई सिक्ने समय चाहिन्छ, सिक्दै–बुझ्दै काम गर्छु । कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्छु ।’
भुसालले मन्त्रालयको पदभार सम्हालेको १ महिनाभन्दा बढी भइसकेको छ । यसअघि सरकारको जमेर आलोचना गर्ने भुसाल मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा नरम देखिएका थिए ।
उनी मन्त्रालयमा पनि हत्तपत्त कसैसँग बोल्दैनन् । मन्त्रालयका दैनिक कामहरू गर्दा कर्मचारी र आफू निकटका व्यक्तिहरूसँग बढी नै परामर्श लिइरहेका हुन्छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटिएका मन्त्री भुसाललाई ‘मन्त्री भएपछि पार्टीको बैठकमा सरकारको निकै कम आलोचना गर्नुभयो नि मन्त्रीज्यू !’ भन्ने प्रश्नमा उनले भने, ‘यस्तै हो, तपाईंहरूले बुझ्नुभएकै छ नि !’
मन्त्री भुसालले मन्त्रालय सम्हालेदेखि अलि बढी नै समय अध्ययन र परामर्शमा बिताउने गरेको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताए । ‘उहाँले बढी समय अध्ययन र परामर्शमै बिताउनुभएको छ,’ लोकान्तरसँग कुरा गर्दै डा. केसीले भने, ‘बढीभन्दा बढी सिक्ने र आफूले सिकेको कुरा सोचेर मात्रै लागू गर्ने उहाँको स्वभाव देखिन्छ ।’
मन्त्री भएपछि भुसालले प्रदेशका मन्त्रीसँग अन्तर्क्रिया गरिसके । अहिले प्रदेशका सचिवसँग अन्तर्क्रिया चलिरहेको डा. केसी बताउँछन् ।
‘सूचना आदान–प्रदान, समन्वय र कार्यक्रमको विषयमा छलफल भएको मैले बुझेको छु,’ प्रवक्ता केसीले भने, ‘उहाँले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सघन अनुगमन गर्न मन्त्री भुसालले लगाउनुभएको थियो र अहिले सो अनुगमनको प्रतिवेदन आउने क्रम जारी रहेको छ ।’
मन्त्री भुसालले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम कसरी अगाडि बढाउने र अहिलेको मोडालिटी उपयुक्त छ कि छैन भन्ने कुरामा विशेष चासो दिने गरेका छन् । अनुगमनको क्रममा मन्त्री भुसालले किसान र कर्मचारीसँग बढी नै छलफल गर्न रुचाउने गरेका छन् ।
‘अहिलेसम्म भएका छलफल, अन्तर्क्रियाका सम्बन्धमा प्रतिवेदन आउन बाँकी रहेको छ,’ प्रवक्ता डा. केसीले भने, ‘प्रतिवेदनका आधारमा अघि बढ्ने मनसाय उहाँले राख्नुभएको छ ।’
मन्त्री भुसालले मन्त्रालय मातहतका विभाग, परिषद्, आयोजना प्रमुख, कर्मचारी, प्राविधिक र सरोकारवाला पक्षसँग छलफल र परामर्शमा १ महिना खर्च गरे ।
मन्त्री भुसाल नियुक्त भएपछि मन्त्रालयले चौमासिक अवधिको कार्यक्रम समीक्षा गर्यो । मन्त्रीले समीक्षा कार्यक्रममा पूरै समय सुन्ने बुझ्ने कोसिस गरेको उनी निकटले बताउँछन् ।
मन्त्रालयमा भेटिने अधिकांश कर्मचारीले मन्त्रीको स्वभाव लामो अध्ययन गर्ने र निकै पछि मात्र निष्कर्षमा पुग्ने रहेको बताउँछन् । ‘उहाँले अध्ययन गर्दै हुनुहुन्छ, कसरी अगाडि बढ्ने भन्ने विषयमा,’ मन्त्रालयमा भेटिएका एक कर्मचारीले लोकान्तरसँग भने, ‘एक–डेढ महिनामा केही नयाँ कार्यक्रम ल्याउनुहुन्छ होला ।’
‘नयाँ मन्त्री नियुक्त भएपछिको १ महिनामा नीतिगत रुपमा नयाँ केही भएको छैन, उहाँ अलिक अरूभन्दा फरक पृष्ठभूमि भएको हिसाबले केही फरक ढंगले सोचिरहनुभएको छ जस्तो लाग्छ,’ मन्त्री भुसालको निजी सचिव गंगा आचार्यले लोकान्तरलाई भने ।
बजेट कार्यान्वयन प्रक्रियामा गइसकेकाले नयाँ कार्यक्रम ल्याउनेभन्दा पनि चलिरहेको कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने भुसालको प्राथमिकता छ ।
मन्त्री भुसालले मन्त्री भएपछिको १ महिना मिडियालाई समय दिन चाहेका थिएनन् तर उनले दिएको समयसीमाको बाँध फुट्न लागेको छ । आशा गरिएका मन्त्री सधैं चुपचाप बसिरहँदा सर्वसाधारणमा निराशा देखिन सक्ने चर्चा समेत मन्त्रालयमा हुने गरेको छ ।
‘उहाँले आफूले गर्ने कामको ठोस र मूर्त खाका तयार पारेपछि आफैं पत्रकारहरूलाई बोलाउनुहुन्छ,’ मन्त्रीको निजी सचिवालयका एक कर्मचारीले भने, ‘अहिले अन्तर्वार्ता लगायतका कार्यक्रममा समय खर्च नगर्ने भन्नुभएको छ ।’