
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाका लागि उम्मेदवार छनोटमा पनि एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष थप असन्तुष्ट बनेको छ ।
शनिवार बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि १६ उम्मेदवारको नामावली सार्वजनिक गरेको थियो । जम्मा १८ सिटमा हुने निर्वाचनमा कांग्रेसले प्रदेश नम्बर २ मा रहेका ४ सीटमा समाजवादी पार्टीसँग २/२ सिटको तालमेल गर्ने निर्णय गरेको थियो ।
'शनिवारको पदाधिकारी बैठकमा वरिष्ठ नेता पौडेल जानुभएन, उहाँहरूले एकलौटी ढंगबाट उम्मेदवार छान्नुभएको छ,' पौडेल खेमाका केन्द्रीय सदस्य रामकृष्ण यादवले लोकान्तरसँग भने, 'जित्नु हार्नु भनेको प्रक्रियाकै एक अंग हो तर उम्मेदवार छनोटमा उहाँहरूको मनोमानी देखिएको छ ।'
पौडेल पक्षको बहिष्कारका बावजुद गत पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तय गरेको थियो । महाधिवेशनजस्तो 'उत्सव'को मिति तय गर्न असन्तुष्ट पक्षसँग कुनै छलफल नगरेको भन्दै सभापति देउवाको आलोचना भएको थियो ।
केन्द्रीय समितिको बैठकले २०७७ सालको फागुनमा महाधिवेशन गर्ने निर्णय गरेपछि त्यसलाई सच्याउन दबाब दिने रणनीति पौडेल पक्षको रहेको छ ।
साथसाथै विभागको संख्या थपिएको, तरुण दलको म्याद थपिएको र विधानका कतिपय धाराहरू निलम्बन गरिएको भन्दै पौडेल पक्षले औपचारिक बैठकमा सामेल नहुने घोषणा गरिसकेको छ । पुस २१ गते जिल्ला सभापतिहरूको भेला डाकेको पौडेल पक्षले त्यसपछि मात्र नयाँ रणनीति तय गर्ने बताएको छ ।
उम्मेदवार चयनका लागि कांग्रेसले बिहीवार केन्द्रीय समितिको बैठक बोलाएको थियो । बैठकमा पौडेलपक्षीय नेताहरू उपस्थित नभएपछि उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिइएको थियो ।
बिहीवार एकातिर पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बसिरहेको थियो भने बैठक बहिष्कार गरेर वरिष्ठ नेता पौडेल, नेता प्रकाशमानसिंह, मिनेन्द्र रिजाल लगायतका नेताहरू महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा भेला भएका थिए ।
महाराजगञ्जबाट सभापति देउवालाई राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा एकलौटी नगर्न 'सचेत पत्र' पठाइएको थियो । त्यसपछि केन्द्रीय समितिले उम्मेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दियो ।
शनिवार सभापति देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा पनि वरिष्ठ नेता पौडेल उपस्थित भएनन् ।
'सभापति देउवाले फोन गरेर पौडेललाई बोलाउनुभएको थियो,' स्रोतले भन्यो, 'वरिष्ठ नेताले हामी आउँदैनौं, तपाईंहरू जेसुकै गर्नुस् भन्नुभयो । त्यसपछि उम्मेदवार चयन गरिएको हो ।'
देउवापक्षीय एक नेताले वरिष्ठ नेता पौडेलले कुनै छलफल गर्न नचाहेकाले उम्मेदवारको एकलौटी छनोट भएकोजस्तो देखिएको स्वीकारे । उनले भने, 'रामचन्द्रजीले कुनै छलफल नै गर्न चाहनुभएन । बैठकमा आउनुभएन । फोन गरेर बोलाउँदा पनि जेसुकै गर्नुस् भन्ने जवाफ दिनुहुन्छ । त्यसपछि के गर्ने त ? कि त राष्ट्रिय सभामा उम्मेदवारी नै दिनुभएन !'
राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसले अधिकांश सीट हार्ने अवस्था देखेकाले पौडेल पक्षले कुनै वास्ता नगरेको ती नेताको आरोप छ ।
'कांग्रेसले जित्ने भएको भए उहाँहरू बुर्कुसी मारेर आउनुहुन्थ्यो,' उनले भने, 'अहिले त्यो स्थिति देखिएको छैन । सबै प्रदेशमा सत्तारूढ दलको बहुमत भएकाले अधिकांश सिटमा नेकपाले जित्ने आंकलन गरिएको छ । पार्टीले हार्ने स्थिति देखेपछि उहाँहरूले वास्ता गर्नुभएन । अनि एकलौटी गर्यो भन्दै आफ्नो हात माथि पार्ने प्रयासमा हुनुहुन्छ ।'
यद्यपि पौडेलको उपस्थितिविनै पदाधिकारीले गरेको छनोटमा केही उम्मेदवारहरू पौडेल पक्षका पनि छन् । जस्तै प्रदेश नम्बर २ मा अल्पसंख्यक/अपाङ्गताको कोटामा उम्मेदवार भएका भोला पञ्जियार र प्रदेश ५ बाट उम्मेदवार भएका बालकृष्ण पाण्डे पौडेल पक्षका हुन् ।
समाजवादी पार्टीसँग २ नम्बर प्रदेशमा तालमेल गरेपछि आफ्नो पक्षमा परेको २ सिटमा जित्ने झिनो आशा सभापति देउवाले देखेका छन् ।
त्यही आशा रहेकाले त्यहाँ पञ्जियारलाई पौडेलपक्ष तर्फबाट उम्मेदवार बनाइएको स्रोतको दाबी छ ।
'२ नम्बर प्रदेशमा भोला पञ्जियारको नाम वरिष्ठ नेता पौडेलले दिनुभएको हो,' स्रोतले भन्यो, 'त्यहाँ नेकपा-राजपा र कांग्रेस-समाजवादी दुवै गठबन्धनको मतभार लगभग बराबरजस्तो छ । त्यहाँ पनि एकलौटी गर्ने हो भने पौडेलपक्षीय प्रदेश सभा सदस्यहरूले कांग्रेसलाई नै भोट नहाल्न सक्ने स्थिति देखेर सभापति हच्किनुभएको थियो ।'
त्योबाहेक अन्य उम्मेदवार देउवाले एकलौटी छनोट गरेका हुन् ।
५९ जना सदस्य रहेको राष्ट्रिय सभामा फागुन २० गतेबाट १९ जनाको पदावधि सकिँदै छ । तीमध्ये १८ जना प्रदेश सभा सदस्य, नगरपालिकाका मेयर र उपमेयर अनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको फरक-फरक मतभारबाट चुनिन्छन् भने एक जनालाई राष्ट्रपतिले नियुक्त गर्नेछिन् ।
दुई वर्षअघि फागुनमा राष्ट्रिय सभामा कांग्रेसका तर्फबाट १३ सदस्यहरू निर्वाचित भएका थिए । तिमध्ये गोलाप्रथाद्वारा २, ४ र ६ वर्षे कार्यकाल छनोट गरिएको थियो । कांग्रेसका १३ मध्ये ७ जनाले २ वर्षे कार्यकालका लागि गोला तानेका थिए । उनीहरूको पदावधि फागुन २० गतेबाट समाप्त हुँदैछ ।