भारतको बनारसस्थित काशी विश्वनाथ मन्दिरमा हुने स्पर्श–दर्शन (ज्योतिर्लिंग छोएर गरिने प्रार्थना) का लागि मन्दिर प्रशासनले धोती कुर्ता र सारी लगाउनुपर्ने जनाएको छ ।
विद्वत् परिषद्सँग सल्लाह लिएर उत्तर प्रदेशका धार्मिक मामिला मन्त्री नीलकण्ठ तिवारीले मन्दिर अधिकारीहरूलाई धोती कुर्ता र सारीमा आउने भक्तजनका लागि स्पर्श–दर्शनको समय बढाउन भनेका छन् ।
वरिष्ठ विद्वानहरूसँग मन्त्री तिवारी र डिभिजनल कमिस्नर दीपक अग्रवालले आइतवार राति भेटघाट गरेका थिए ।
काशी विश्वनाथ मन्दिरमा स्पर्श–दर्शनको परम्परा शताब्दियौंदेखि चलिआएको छ । साउन महिनाको अन्त्यपछि मन्दिर प्रशासनले यसलाई पुनः शुरू नमान्दा भक्तजनमा आक्रोश छाएको थियो । त्यसपछि मन्दिरका अधिकारीहरूले यसलाई फेरि शुरू गरेको थियो तर दुईदेखि तीन घन्टाका लागि मात्र अनुमति दिएको थियो ।
तर मन्दिरमा अत्यधिक भीडभाड हुने हुँदा सबैलाई स्पर्श–दर्शन गराउन असम्भव हुने हुँदा मन्दिर अधिकारीहरूले त्यसको समाधान खोजिरहेका थिए ।
विद्वानहरूबाट सुझाव आएपछि मन्त्री तिवारीले कमिस्नरलाई स्पर्श–दर्शनका लागि ड्रेस कोड लागू गराउन निर्देशन दिएका छन् ।
एजेन्सी