
यही हप्ता एक नयाँ सामाजिक सञ्जाल याप सार्वजनिक भएको छ । त्यसमा प्रयोगकर्ताहरूले साथीको अनुहारमा स्मार्टफोन क्यामरा देखाएर उनीहरूको प्रोफाइल खोज्न मिल्छ ।
ओक्टी नाम दिइएको यस यापमा प्रयोगकर्ताले स्पटीफाईबाट तस्वीर र मन परेका गीत, युट्युबबाट रमाइला लिंक र स्टिकर जस्ता सन्देशहरू छानेर व्यक्तिगत प्रोफाइल बनाउन पाउँछन् ।
तर यी विस्तृत विवरणहरूले युजर प्रोफाइल भरिने हैन । बरू यो याप भएको फोनको क्यामरा आफूतिर तेर्सिँदा थम्बनेल आकारका आइकनहरू आफनो वरिपरि घुम्छन् ।
कसैले तपाईंतिर क्यामरा तेर्स्याएमा ओक्टीले अनुहार चिन्ने सफ्टवेयर उपयोग गरेर प्रोफाइल बनाउँछ ।
क्यामरा तेर्स्याएर अनि फ्रेन्ड रिक्वेस्ट पठाएर नयाँ साथी पनि बनाउन सकिन्छ । तर उक्त मानिसको प्रोफाइल पनि ओक्टीमा हुनुपर्छ ।
ओक्टीका सीईओ जस्टिन फुइस्जको दिमागमा यो यापको आइडिया फुरेको हो । उनले वेब ब्राउजरमा खुरुखुरु स्क्रोल गर्नुको साटो व्यक्तिगत अनुभव दिलाउने सामाजिक सञ्जाल बनाउन चाहेको बताए ।
फुइस्जले यो याप लस एन्जलसमा रहेका हजारौं स्कूले विद्यार्थीहरूमा परीक्षण गरिसकेको बताए ।
ओक्टी कम्पनीले प्रयोगकर्ताहरूको निजता र व्यक्तिगत डेटाको सम्मान गर्ने जनाएको छ । तर कसरी सम्मान गर्ने भन्ने खुलाएको छैन ।
अनि ओक्टी प्रयोगकर्ताहरूले अन्य व्यक्तिलाई थाहा नदिई वा सहमति नलिई भिडियो बनाउने, ट्याग गर्ने वा पहिचान गर्ने गरेमा कस्तो सुरक्षा दिइनेछ भन्ने विषय पनि स्पष्ट छैन । फेसियल रेकगिनसन उपयोग गर्ने सफ्टवेयर याप्लिकेसनहरूमा यो समस्या कायम छ ।
अहिले यो याप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ ।