
नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतबाट गिरफ्तार गरिएको घटनाको भर्त्सना गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो कदमलाई ‘गैरकानुनी’, ‘अलोकतान्त्रिक’ र ‘अपहरणको शैली’ को संज्ञा दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, 'पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका उपाध्यक्ष पौडेललाई सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ, यसप्रति हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ।'
एमालेले यस कार्यलाई वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरेको अराजनीतिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा समेत भनेको छ।
उपाध्यक्ष पौडेल सुर्खेतको कार्यक्रम सकेर भोलि नै काठमाडौँ फर्कने कार्यतालिका रहेको अवस्थामा, कानुनी प्रक्रियाको धज्जी उडाउँदै नियतवश गिरफ्तार गरिएको एमालेको आरोप छ। सार्वजनिक पद धारण गरिसकेका र कानुनको सम्मान गर्ने व्यक्तिलाई सोधपुछका अन्य विकल्प हुँदाहुँदै ‘सस्तो स्टन्ट’ र राजनीतिक खपतका लागि बदनियतपूर्वक पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष ओलीले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।