३१ असार २०८३, बुधबार

११ जिल्लामा फैलियो बर्ड फ्लु: साढे ५ लाख पन्छी नष्ट, उपत्यकामा संक्रमण बढ्दो

असार ९, २०८३
काठमाडौं
११ जिल्लामा फैलियो बर्ड फ्लु: साढे ५ लाख पन्छी नष्ट, उपत्यकामा संक्रमण बढ्दो

 पशु सेवा विभागले मुलुकका विभिन्न भागमा देखिएको बर्ड फ्लु रोग नियन्त्रणका लागि उच्च सतर्कताका साथ काम भइरहेको जनाएको छ।

विभागले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगत तीन महिनादेखि देखा परेको यो संक्रामक रोग हालसम्म देशका ११ जिल्लाका ८२ स्थानमा पुष्टि भइसकेको जानकारी दिएको छ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार गत चैत्र ४ गते मोरङ जिल्लाबाट सुरु भएको यो प्रकोप हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासीसहित काठमाडौँ उपत्यकाका तीनै जिल्ला र काभ्रेपलाञ्चोकमा फैलिएको हो। रोग नियन्त्रणका लागि विभागले हालसम्म ५ लाख ६९ हजार ८ सय ५८ वटा पन्छी नष्ट गरिसकेको छ। पन्छीसँगै ९ लाख ८९ हजार ३ सय १३ वटा अण्डा र करिब १ लाख ९५ हजार ४ सय ८५ किलो दाना समेत सुरक्षित रूपमा नष्ट गरिएको विभागले जनाएको छ।

विभागका अनुसार कोशी प्रदेशमा देखिएको बर्ड फ्लुको प्रकोप भने हाल पूर्ण नियन्त्रणमा आइसकेको छ। यसअघि गृह मन्त्रालयसँगको समन्वयमा कोशी प्रदेशमा एक महिनासम्म लगाइएको पन्छी ओसारपसारको प्रतिबन्धलाई पनि संक्रमण घटेसँगै हाल खुकुलो बनाइएको छ।

यद्यपि, पछिल्लो समय काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पालिएका पन्छीहरूमा भने संक्रमण देखिने क्रममा वृद्धि भएको र यसले थप जोखिम निम्त्याएको विभागको ठहर छ।

रोगको प्रभावकारी नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा 'बर्ड फ्लु रोग नियन्त्रण कक्ष' स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा आवश्यक जनशक्ति परिचालन गरेको विज्ञप्तिमा उल्लेख छ।

salt training

कमेन्ट गर्नुहोस्