
ड्यानियल मुनोजको निर्णायक गोलको मद्दतले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)को कसिलो रक्षापङ्क्तिलाई तोड्दै कोलम्बिया फिफा विश्वकप २०२६ मध्ये अन्तिम ३२ मा प्रवेश गरेको छ। बुधबार बिहान भएको समूह ‘के’ को प्रतिस्पर्धात्मक खेलमा कोलम्बियाले डीआर कङ्गोलाई १–० ले पराजित गरेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलभरि कङ्गोको टोलीले निकै दबाब झेल्नुपरेको थियो भने उनीहरूका लागि गोलकिपर लियोनेल म्पासी पर्खाल बनेर उभिएका थिए । म्पासीले खेलको सुरुवाती २० मिनेटमै कोलम्बियाका पाँचवटा कडा प्रहारहरूलाई विफल पारिदिएका थिए।
कोलम्बियाले खेलभरि कङ्गोको पोस्टमाथि लगातार आक्रमण बुन्दै २० पटक प्रहार गरेको थियो, जसमध्ये ९ वटा प्रहार ‘शट अन टार्गेट’ थिए । यसबाहेक कोलम्बियाले अन्य तीन पटक बललाई जाली चुमाए पनि ती गोलले मान्यता पाउन सकेनन् । कोलम्बियाको आक्रामक खेलसामु कङ्गोले अग्रपंक्तिमा कुनै ठुलो चुनौती खडा गर्न सकेन र उनीहरूलाई मिडफिल्ड पार गरेर काउन्टर अट्याक गर्न समेत निकै मुस्किल परेको थाल्यो।
अन्ततः खेलको ७६औँ मिनेटमा कोलम्बियाले डेडलक तोड्न सफल भयो। डिबक्सभित्र कङ्गोका डिफेन्डरलाई लाग्दै डिफ्लेक्ट भएको बललाई ड्यानियल मुनोजले देब्रे खुट्टाले सुन्दर प्रहार गर्दै गोलमा परिणत गरे। गोलकिपर म्पासीसँग उक्त प्रहार रोक्ने कुनै अवसर थिएन । खेलको अन्तिम समयमा कङ्गोले खेलमा फर्किन केही प्रयास गरे पनि त्यो निकै ढिला भइसकेको थियो ।
विश्व वरीयतामा ११औँ स्थानमा रहेको कोलम्बिया दक्षिण अमेरिकी टोलीहरूमध्ये ब्राजिल र अर्जेन्टिनापछि तेस्रो उत्कृष्ट टोली हो। आफ्नो पहिलो खेलमा उज्वेकिस्तानलाई ३–१ ले हराएको कोलम्बिया अहिले २ खेलबाट ६ अङ्क जोड्दै समूह ‘के’ को शीर्ष स्थानमा फर्किएको छ।
यसअघि आफ्नो पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई १–१ को बराबरीमा रोकेर सरप्राइज दिएको कङ्गोको भने यो ५२ वर्षपछिको पहिलो विश्वकप सहभागिता हो । हाल यस समूहमा कोलम्बिया ६ अङ्कसहित शीर्ष स्थानमा छ भने पोर्चुगल ४ अङ्कसहित दोस्रो र कङ्गो १ अङ्कसहित तेस्रो स्थानमा छ। गएराति भएको अर्को खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० ले पराजित गरेको थियो।
अब आगामी शनिबार समूहको शीर्ष स्थान पक्का गर्न कोलम्बियाले पोर्चुगलको सामना गर्नेछ, जहाँ कोलम्बियालाई समूह विजेता बन्न बराबरीको नतिजा मात्रै पर्याप्त हुनेछ। सोही बराबरीको नतिजा पोर्चुगललाई पनि नकआउट चरणमा पुर्याउन काफी हुनेछ।
अर्कोतर्फ, कङ्गोले अन्तिम ३२ मा पुग्ने आफ्नो झिनो आशा जीवित राख्न समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानविरुद्ध विश्वकप इतिहासकै आफ्नो पहिलो ऐतिहासिक जित निकाल्नुपर्ने छ।