
विश्वकप केवल मैदानभित्रको ९० मिनेटको खेल मात्र होइन, यो त मैदानबाहिर फ्यानहरूले सिर्जना गर्ने संस्कृति, भातृत्व र अनेकौँ अनोखा परम्पराहरूको एउटा महाउत्सव पनि हो । रेफ्रीले पहिलो सिठ्ठी बजाउनु धेरै अघिदेखि शुरू हुने र खेल सकिएको लामो समयपछिसम्म जारी रहने फ्यानहरूका यस्ता परम्पराले विश्वकपलाई थप सुन्दर, आत्मीय र रोचक बनाइदिन्छन्।
'वाइकिङ रो'
केही दिनअघि बोस्टनको एउटा व्यस्त रेलवे स्टेशनको एस्केलेटर (गुड्ने भर्याङ) मा एउटा निकै रोचक दृश्य देखियो, जसले त्यहाँका यात्रुहरूलाई अचम्ममा पार्दै अनुहारमा मुस्कान छरिदियो।
नोर्वेका फुटबल फ्यानहरू गुडिरहेको एस्केलेटरमा एकपछि अर्को गर्दै लहरै बसे। त्यसपछि सबैजना एकसाथ अघि-पछि ढल्कँदै हात हल्लाउन थाले- मानौँ उनीहरू कुनै डुङ्गामा बसेर चप्पू खियाइरहेका छन्। उनीहरूको यो 'काल्पनिक डुङ्गा' को यात्रा देखेर हतार-हतार हिँडिरहेका यात्रुहरू पनि रोकिए। कसैले भिडियो बनाए त कोही आफैँ पनि त्यो डुङ्गाको हिस्सा बनेर चप्पू खियाउन थाले। क्षणभरमै पूरा स्टेशन हाँसो, उत्साह र अपनत्वको ऊर्जाले भरियो।
नोर्वेका फ्यानहरूले यो 'भाइकिङ रो'लाई आफ्नो मुख्य पहिचान बनाएका छन्। बोस्टनमा इराकसँगको पहिलो खेलका क्रममा एस्केलेटरमा डुङ्गा खियाएका उनीहरूले सेनेगलविरुद्धको दोस्रो खेलअघि न्यूयोर्कको प्रसिद्ध टाइम्स स्क्वायरलाई नै कब्जा गरे। त्यहाँको 'रेड ग्लास स्टेयर्स'मा जम्मा भएर ड्रमको तालसँगै एकै स्वरमा रो! भन्दै उनीहरूले गरेको सामूहिक अभिनय विश्वकपको सबैभन्दा उत्कृष्ट दृश्यमध्ये एक बन्यो। यो परम्पराले नोर्वेको ऐतिहासिक सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाएको छ।
स्ट्याचुहरूलाई ट्राफिक कोन पहिराउने स्कटिश फ्यान
बोस्टनका सडकहरू अमेरिकी इतिहासका थुप्रै स्मारक र ऐतिहासिक मूर्तिहरूले भरिएका छन्। तर, विश्वकप शुरू भएदेखि स्कटल्याण्डका फ्यानहरूले यी मूर्तिहरूलाई चम्किलो सुन्तला रङ्गको 'ट्राफिक कोन' पहिर्याएर नयाँ रूप दिइरहेका छन्।
वास्तवमा, यो स्कटल्याण्डको ग्लासगो शहरको एउटा पुरानो र चर्चित परम्परा हो। त्यहाँको ग्यालरी अफ मोडर्न आर्ट बाहिर रहेको 'डक अफ वेलिङ्टन' को मूर्तिलाई सन् १९८० को दशकदेखि स्थानीयले यसरी नै ट्राफिक कोन पहिर्याउने गर्थे। स्कटल्याण्डको राष्ट्रिय टोलीका समर्थकहरूले यसलाई आफ्नो ट्रेडमार्क टोपी र रमाइलो गर्ने माध्यमको रूपमा विश्वकपमा पनि निरन्तरता दिएका छन्।
सडक नै सुन्तला रङ्गमय बनाउने 'ओरेन्ज फ्यानवक'
जब डच (नेदरल्याण्ड्स) का समर्थकहरू सडकमा उत्रिन्छन्, लाग्छ साँझको क्षितिज नै सडकमा ओर्लिएको छ। चारैतिर चम्किलो सुन्तला रङ्ग मात्र देखिन्छ।
स्विडेनविरुद्धको खेलअघि ह्युस्टनको सडकमा हजारौँ डच समर्थकहरूले 'ओरेन्ज फ्यानवक' निकाले। ठुलो आवाजमा टेक्नो म्युजिक र गीतको तालमा दायाँ-बायाँ नाच्दै र मार्चपास गर्दै उनीहरू एनआरजी स्टेडियमसम्मको ४ किलोमिटरको दूरी हिँडेका थिए। नेदरल्याण्ड्समा यो सुन्तला रङ्गको क्रेजको शुरूआत सन् १९३० को दशकमा राजतन्त्रको उत्सव मनाउन शुरू भएको थियो, जुन अहिले खेलकुदका ठुला प्रतियोगितामा राष्ट्रिय एकता प्रदर्शन गर्ने साझा माध्यम बनेको छ।
जापानी फ्यानहरूको लोभलाग्दो 'सफाई संस्कृति'
सामान्यतया खेल सकिएपछि रंगशालामा प्लास्टिकका कप, कागज र खाद्यान्नका टुक्राहरू छरपस्ट देखिनु सामान्य मानिन्छ। तर, जापानी फ्यानहरूको हकमा यो लागु हुँदैन।
आफ्नो टोलीले जितोस् वा हारोस्, जापानी समर्थकहरू खेल सकिएपछि पनि रंगशालामै बस्छन् र आफू बसेको ठाउँ सफा गरेर मात्र फर्कन्छन्। जापानी भाषामा यसलाई 'गोमी हिरोई' भनिन्छ, जसको अर्थ साझा ठाउँको सफाइको जिम्मेवारी आफैँले लिनु हो। सन् १९९८ को विश्वकपमा जापानले पहिलो पटक सहभागिता जनाउँदादेखि यो परम्परा चर्चामा आएको हो। टोकियोस्थित जर्मन इन्स्टिच्युट फर जापानीज स्टडिजकी उपनिर्देशक बारबरा होल्थस भन्छिन्, 'जापानीहरू सानैदेखि आफ्नो कारणले अरू कसैलाई असुविधा वा दुःख हुनु हुँदैन भन्ने कुरा सिक्छन्। त्यसैले रंगशाला सफा गर्नु उनीहरूको संस्कारकै पाटो हो।'
बोस्नियाको अनौपचारिक फुटबल गान
सन् २०११ मा बोस्नियाली ब्याण्ड 'डुबियोजा कोलेक्टिभ' ले 'यूएसए' नामको एउटा व्यङ्ग्यात्मक गीत रिलिज गरेको थियो, जसमा राम्रो जीवनको खोजीमा बोस्निया छाडेर अमेरिका जाने कुरा थियो। तर, १५ वर्षपछि सोही गीत अहिले उनीहरूको अनौपचारिक फुटबल एन्थम (गान) बन्ला भन्ने कसैले सोचेका थिएनन्।
'आई एम फ्रम बोस्निया, टेक मी टु अमेरिका' (म बोस्नियाबाट हुँ, मलाई अमेरिका लैजाउ) भन्ने बोलको यो गीतलाई फुटबल सुहाउँदो शब्दहरू थपेर नयाँ संस्करण बनाइएको छ, जुन यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। अमेरिका र क्यानडाका सडकहरूमा बोस्नियाली फ्यानहरूले यो गीत निकै गर्वका साथ गाइरहेका छन्, जसमा अन्य देशका समर्थकहरूले पनि उत्तिकै साथ दिइरहेका छन्।
डेमोक्रेटिक रिपब्लिक अफ कंगोको 'ज्युँदो मूर्ति'
यस विश्वकपमा डीआर कंगोको टोलीसँग मैदानमा २६ जना खेलाडी मात्र छैनन्, बरु मैदानबाहिर उनीहरूको मनोबल बढाउन अर्का एक विशेष सदस्य पनि छन्।
उनी अरू फ्यानजस्तो चिच्याएर वा उफ्रिएर समर्थन गर्दैनन्। बरु, उनी खेल शुरू भएदेखि नसकिँदासम्म एउटा हात माथि उठाएर ज्युँदो मूर्तिको रूपमा कत्ति पनि नहल्लीकन उभिइरहन्छन्। उनको यो रूप कंगोका पहिलो प्रधानमन्त्री पेट्रिस लुमुम्बा (जसको सन् १९६१ मा हत्या भएको थियो) को सम्मानमा समर्पित छ। उनले लगाएको कपडा र उभिने शैली कंगोको राजधानी किन्शासामा रहेको लुमुम्बाको मूर्तिसँग ठ्याक्कै मिल्छ। म्बोलादिङ्गा भन्छन्, 'लुमुम्बा हाम्रा लागि एक नायक र मार्गदर्शक हुन्, जसले हामीलाई स्वतन्त्रता दिन आफ्नो जीवन बलिदान दिए।'
उनी सन् २०१३ देखि यसरी ज्युँदो मूर्तिको रूपमा खेलहरूमा सहभागी भइरहेका छन्। यद्यपि, इबोला महामारीका कारण अनिवार्य क्वारेन्टाइनमा बस्नुपरेकाले उनी कंगोको पहिलो खेलमा भने सहभागी हुन पाएका थिएनन्।
साझा सहभागिताबाट पैदा हुने अपनत्व
मनोवैज्ञानिक तथा 'हाऊ चेन्ज रियली वर्क्स' की लेखिका जूलिया धरका अनुसार, विश्वकपका दौरान मैदानबाहिर देखिने यस्ता साना लाग्ने घटनाहरू मानवीय सम्बन्धका निकै ठुला उदाहरण हुन्। जब आजको विश्व एक्लोपनको समस्यासँग जुधिरहेको छ, यस्ता साझा अनुभवले मानिसहरूमा अपनत्व र गहिरो सम्बन्धको भावना पैदा गर्छन्।
यी परम्पराहरू कुनै खेल संस्था वा ठुला ब्रान्डले बनाएका होइनन्, बरु फ्यानहरू आफैँले स्वःस्फूर्त रूपमा सिर्जना गरेका हुन्। हार्वर्डको प्रसिद्ध 'आईकिया इफेक्ट'ले पनि भन्छ- जुन कुरा वा परम्परा निर्माण गर्न मानिसहरू आफैँले श्रम वा योगदान दिन्छन्, त्यसप्रति उनीहरूको लगाव र अपनत्व निकै बढी हुन्छ। रंगशालामा जब हजारौँ मानिस एकसाथ गीत गाउँछन् वा हात उठाउँछन्, तब उनीहरू केवल दर्शकको भीड मात्र रहँदैनन्, बरु एउटा विशाल र आत्मीय समुदायको हिस्सा बन्न पुग्छन्।