२९ असार २०८३, सोमबार
फिफा विश्वकप–२०२६

टर्कीको सनसनीपूर्ण जित, अमेरिका, अस्ट्रेलिया र पाराग्वे पनि नकआउटमा प्रवेश

असार १२, २०८३
काठमाडौं
टर्कीको सनसनीपूर्ण जित, अमेरिका, अस्ट्रेलिया र पाराग्वे पनि नकआउटमा प्रवेश

जारी फिफा विश्वकपअन्तर्गत समूह 'डी' को अन्तिम खेलमा टर्कीले अमेरिकामाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेको छ । खेलको अन्तिम सेकेन्डमा काआन आयहानले गोल गरेपछि टर्कीले विश्वकपमा आफ्नो एक मात्र सान्त्वना जित निकालेको हो । 

हारका बाबजुद अमेरिका समूह विजेता बन्दै नकआउट चरणमा पुगिसकेको छ भने सोही समूहको अर्को खेलमा अस्ट्रेलिया र पाराग्वेले बराबरी खेल्दै अघिल्लो चरणको यात्रा तय गरेका छन् ।

सोफी स्टेडियममा उपस्थित दर्शकहरूले भरिभराउ रङ्गशालामा भएको खेलमा अमेरिकाले सुरुवाती अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमै अस्टन ट्रस्टीले गोल गर्दै अमेरिकालाई अघि बढाएका थिए । यो गोल विश्वकपको १७३ औँ गोल बन्यो, जसले चार वर्षअघि कतार विश्वकपमा बनेको कुल गोलको कीर्तिमानलाई ४ खेल अगावै तोडेको छ । साथै यो अमेरिकाको समूह चरणको सातौँ गोल थियो, जसले नकआउट खेलअगावै उसको विश्वकपको गोल रेकर्डसँग बराबरी गरेको छ ।

तर, सुरुवाती दुई खेल हारेर पहिले नै प्रतियोगिताबाट बाहिरिइसकेको टर्कीले खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको १० औँ मिनेटमा रियल मड्रिडका २१ वर्षीय उदाउँदो तारा अर्दा गुलरले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ३१ औँ मिनेटमा गुलरकै पासमा ओर्कुन कोक्कुले गोल गर्दै पहिलो हाफमा टर्कीलाई २–१ को अग्रता दिलाए ।

दोस्रो हाफको सुरुमै अर्थात् ४९ औँ मिनेटमा अमेरिकाका सेबास्टियन बर्हाल्टरले २० यार्ड टाढाबाट प्रहार गर्दै उत्कृष्ट गोल गरेर खेललाई २–२ को बराबरीमा पुर्‍याए । खेलको ५८ औँ मिनेटमा चोटमुक्त हुँदै स्टार खेलाडी क्रिस्टियन पुलिसिक मैदान प्रवेश गरेपछि अमेरिकी टोलीले थप आक्रामक खेल खेल्यो । पुलिसिकको प्रहार गोलपोस्टमा ठोकिएको थियो भने ब्रेन्डेन आरोन्सनले पाएको सहज अवसर सदुपयोग गर्न सकेनन् ।

खेलको इन्जुरी समयको आठौँ मिनेटमा टर्कीका कान उजुनले ब्याक पोस्टमा बल नियन्त्रणमा लिँदै अमेरिकी गोलकिपर म्याट टर्नरलाई छक्याएर पास दिएपछि स्लाइड गर्दै काआन आयहानले गोल गरेर टर्कीलाई ३–२ को अविश्वसनीय जित दिलाए । अब समूह विजेता अमेरिकाले आगामी बुधबार अन्तिम ३२ को खेलमा बोस्निया–हर्जगोभिनाको सामना गर्नेछ ।

समूह 'डी' को अर्को खेलमा अस्ट्रेलिया र पाराग्वेले सान फ्रान्सिस्कोमा गोलरहित (०–०) बराबरी खेल्दै अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेका छन् । दुवै टोलीलाई अनुकूल हुने गरी भएको यो निरस खेलले तेस्रो स्थानमा रहने टोली पनि नकआउट चरणमा जाने नियमको विरोध गर्नेहरूलाई थप बल पुर्‍याएको छ, किनकि खेल अवधिभर दुवै टोलीले कुनै जोखिम मोल्ने प्रयास गरेनन् ।

अस्ट्रेलियालाई उपविजेता बन्दै छनोट हुन १ अङ्क (बराबरी) को खाँचो थियो भने पाराग्वेलाई ४ अङ्क बनाउँदा उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने आठ टोलीभित्र परेर अघिल्लो चरण पुग्ने सम्भावना बलियो हुन्थ्यो । खेलको पहिलो हाफमा अस्ट्रेलियाले केही राम्रो सुरुवात गरे पनि पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले ज्याक्सन इर्भिन र क्रिस्टियन भोल्पाटोका प्रहारहरूलाई विफल पारिदिए । पाराग्वेका स्टार खेलाडी मिगुएल आल्मिरोन टर्कीविरुद्धको खेलमा रातो कार्ड पाएका कारण यस खेलमा निलम्बित थिए ।

दोस्रो हाफमा पाराग्वेले केही आक्रामक खेल प्रस्तुत गर्‍यो । हाफ–टाइममा मैदान छिरेका माउरिसियोको प्रहारलाई अस्ट्रेलियाका गोलकिपर प्याट्रिक बीचले बचाए भने जुलियो एन्सिसोले पनि खेलमा ऊर्जा थपेका थिए । खेलको अन्तिम क्षणमा अस्ट्रेलियाका जोर्डन बोस र इन्जुरी समयमा पाराग्वेका माउरिसियोले गोल गर्ने अवसर गुमाएका थिए ।

बराबरीसँगै अस्ट्रेलिया समूहको उपविजेता बन्दै अब आगामी जुलाई ३ (शुक्रबार) मा इजिप्ट, इरान र बेल्जियम रहेको समूहको उपविजेतासँग भिड्नेछ । अर्कोतर्फ, तेस्रो स्थानमा रहेको पाराग्वेले अब सोमबार समूह 'ई' को विजेता जर्मनीको सामना गर्ने सम्भावना बलियो बनेको छ । यद्यपि, पाराग्वेका मिडफिल्डर डिएगो गोमेजले पहेँलो कार्ड पाएका कारण उनले पहिलो नकआउट खेल गुमाउनेछन् भने डिफेन्डर ओमार अल्डेरेटे घुँडाको चोटका कारण मैदानबाट बाहिरिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्