
फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको भिडन्तमा पाँच पटकको विश्व विजेता ब्राजिल पहिलो हाफको समाप्तिसम्म जापानसँग १–० गोल अन्तरले पछि परेको छ।
ह्युस्टन स्टेडियममा जारी खेलमा जापानले उत्कृष्ट रणनीति र रक्षात्मक खेलको प्रदर्शन गर्दै ब्राजिललाई स्तब्ध बनाएको हो।
खेलको २९औं मिनेटमा जापानका काइशु सानोले सानदार गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। ब्राजिलका डानिलोको एउटा कमजोर पासलाई बीचमै नियन्त्रणमा लिँदै सानोले अनुभवी मिडफिल्डर क्यासेमिरोलाई गतिमा पछाडि पारे र पेनाल्टी बक्सको नजिकैबाट गरेको शक्तिशाली प्रहार ब्राजिलियन गोलकिपर एलिसन बेकरलाई छक्याउँदै पोस्टको तल्लो कुनामा छिरेको थियो।
यो गोलसँगै ह्युस्टनको मैदानमा उपस्थित हजारौं जापानीज समर्थकहरू निकै उत्साहित देखिएका थिए।
गोल गर्नुअघि सानो एउटा विवादास्पद निर्णयमा रातो कार्डबाट जोगिएका थिए। ब्राजिलका म्याथियस कुन्हालाई लडाएपछि ब्राजिलियन खेलाडीहरूले सानोलाई दोस्रो पहेँलो कार्ड दिनुपर्ने माग गर्दै रेफ्रीलाई घेरेका थिए, तर रेफ्रीले उनलाई मैदानमै रहन दिए। सोही घटनाको केही मिनेटपछि नै सानोले गोल गरेपछि ब्राजिल थप दबाबमा परेको देखिन्छ।
खेलको तथ्याङ्क अनुसार ब्राजिलले झण्डै ७० प्रतिशत बल पोजेसन आफ्नो नियन्त्रणमा राखे पनि जापानको पाँच डिफेन्डर सहितको मजबुत रक्षापंक्ति तोड्न सकेको छैन। ब्राजिलका लागि विनेसियस जुनियर र ब्रुनो गुइमारेजले गोल गर्ने केही प्रयास गरे पनि ती सफल हुन सकेनन्। पहिलो हाफको अन्त्यतिर जापानका दाइची कामादाले ब्राजिलको काउन्टर अट्याक रोक्ने क्रममा पहेँलो कार्ड खाएका थिए।
स्टेडियममा ब्राजिलका दिग्गज खेलाडीहरू रोनाल्डो र रोबर्टो कार्लोस पनि आफ्नो टोलीलाई समर्थन गर्न उपस्थित छन्। यस खेलको विजेताले अन्तिम १६ मा नर्वे वा आइभोरी कोस्टको विजेतासँग सामना गर्नेछ।