
प्रतिनिधिसभा/प्रदेशसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षको संवैधानिक भूमिकालाई थप प्रभावकारी, जिम्मेवार र ओझपूर्ण बनाउने उद्देश्यका साथ बिहीबारदेखि झापाको बिर्तामोडमा दुई दिने सम्मेलन हुने हुँदैछ ।
कोशी प्रदेशसभाको आयोजनामा हुन लागेको सम्मेलनमा प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष र सातै प्रदेशका उपसभामुखको सहभागिता रहने कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले जानकारी दिइन् ।
सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ ।
सम्मेलनको मुख्य एजेन्डा उपसभामुख र उपाध्यक्षको पदलाई कसरी थप सक्रिय र प्रभावकारी बनाउन सकिन्छ भन्नेमा केन्द्रित रहनेछ ।
उपसभामुख दनुवारका अनुसार सम्मेलनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र सातै प्रदेशका उपसभामुखहरूबीच कार्य अनुभव आदानप्रदान हुनेछ ।
‘विशेषगरी उपसभामुखको पदलाई कसरी थप सक्रिय र ओझपूर्ण बनाउन सकिन्छ भन्नेमा हाम्रो गहन छलफल हुनेछ,’ उनले भनिन् ।
सम्मेलनमा संघीयता र संसदीय मामिलाका विज्ञबाट कार्यपत्र समेत प्रस्तुत हुनेछन् । प्राप्त जानकारी अनुसार डा. खिमलाल देवकोटा र पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेले सम्मेलनमा कार्यपत्र पेस गर्ने तालिका छ ।
डा.देवकोटाको स्वास्थ्यमा केही समस्या देखिएकाले उनको विकल्पमा अर्को व्यवस्था हुन सक्ने भए पनि विषयगत छलफल भने निरन्तर रहने आयोजकले जनाएको छ ।
गत वर्ष मधेश प्रदेशले धनुषामा यस्तै सम्मेलन आयोजना गरेको थियो, जसले ५ बुँदे घोषणापत्र जारी गरेको थियो । अघिल्लो सम्मेलनले संघीयता कार्यान्वयनका लागि लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै भएको निष्कर्ष निकाल्दै संघीयता अनुकूलका कानून निर्माण, संसदीय बजेट र संवैधानिक अभ्यासमा जोड दिएको थियो ।
यस पटकको सम्मेलनले उपसभामुखहरूको भूमिका स्पष्ट नभएको जनगुनासो र व्यावहारिक कठिनाइलाई चिर्दै विगतका बाँकी प्रतिबद्धता कार्यान्वयन गर्ने नयाँ मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ ।
सम्मेलन शुक्रबार घोषणापत्र जारी गर्दै समापन हुनेछ ।