२६ असार २०८३, शुक्रबार

स्थानीय सरकारले बाँड्यो कुहिएको चामल: गरीबलाई हेपेको भन्दै नगरपालिकाको गेटैमा फालियो राहत !

१० किलो भनिएका चामलका पोकामा १-१ केजी कम
चैत २८, २०७६
स्थानीय सरकारले बाँड्यो कुहिएको चामल: गरीबलाई हेपेको भन्दै नगरपालिकाको गेटैमा फालियो राहत !

पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकाले राहतका नाममा गरीबलाई गन्हाएको चामल दिएको भन्दै गरीब तथा विपन्न समुदायले शुक्रवार नगरपालिका अगाडि राहतको चामल फ्याँकिदिएका छन् ।

नगरपालिकाले गरीब तथा विपन्नको तथ्यांक संकलन गरी शुक्रबारदेखि वडामार्फत खाद्यान्न वितरण शुरू गरेको थियो । नगर क्षेत्रमा उपलब्ध गराइएको खाद्यान्नअन्र्तगत चामल गन्हाएको भन्दै गरीब तथा विपन्नले आफूले पाएको खाद्यान्न नगरपालिकाको गेट अगाडि लगेर छरिदिएका हुन् । उपलब्ध गराइएको खाद्यान्नको तौल समेत भनिएको भन्दा कम रहेको उनीहरूको गुनासो छ ।

१८ वटा वडा रहेको नगरपालिकाले कुल २३ सय विपन्नलाई राहत वितरण गर्न खाद्य सामग्री खरिद गरेको छ । शुक्रबार बिहान वडा नं. ६ र ११ मा वितरण गरिएको खाद्यान्न गुणस्तरहीन भएको पाइएपछि नगरपालिकाले सबै वडामा राहत बाँड्न रोक लगाएको छ ।

५ जनासम्मको परिवारलाई १० केजी चामल, १ केजी दाल, आधा लिटर तेल, आधा केजी सोयबिन र दुईवटा साबुन वितरण गर्ने गरी नगरपालिकाले राहत प्याकिङ्ग गरेको थियो ।

२ जनासम्मको परिवारलाई ५ केजी चामल र सोही अनुसारका अन्य खाद्य सामाग्री राहत बाँड्न पठाइएको थियो ।

उपलब्ध गराइएको खाद्यान्नको तौल समेत कम छ । राहत सामाग्री वितरण स्थलमा पुगेका पत्रकारका अगाडि उनीहरूले चामलको प्याकिङ नै तौल गरेर देखाएका थिए ।

तौलका क्रममा १० केजी चामलमा १ केजी र ५ केजीमा आधा केजी चामल कम देखिएको छ । 

गुणस्तरहीन चामल र सोयबिन बाँडेपछि विपन्नहरूले आफूहरूलाई पशुले पनि खान नसक्ने अन्न ल्याएर दिएको भन्दै नगरपालिकासँग आक्रोश पोखेका छन् ।

‘यो चामल गन्हाएर खानै सकिन्न, पशुले पनि खान नमान्ने चामल हामी गरीबलाई किन दिइयो ? गरीबलाई हेप्ने गरी बाँडिएको राहतले झन चोट थपिएको छ,’ रामग्राम नगरपालिका–११ पाडाटिकरका स्थानीय ओम प्रकाश मुसहरले भने । उनले पकाएको भात देखाउँदै भने, ‘हेर्नुस् चामल पकाउँदा पिठो जस्तो छ । कसरी खाने ? गन्हाएर मुखमा लानै सकिन्न । सोयबिन भिजाँउदा पानीमा किरा तैरिन्छ ।’ 

नगरपालिकाले सोना मन्सुली भनेर पठाएको चामल मोटा रहेको त्यो पनि गन्हाएको रहेको उनले बताए । 

‘दाल राम्रो छ, चामल र सोयबिन खानलायक छैन,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्