
पोखरामा एक महिलाको र्यापिड डायनोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ ।
पोखरा–१२, ढिकालेथरकी ५५ वर्षीया महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि उनको स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालास्थित पीसीआरमा राखेर परीक्षण भइरहेको छ ।
यता, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले ती महिलाको एन्टिबडी कोरोना भइरस देखिएको बताए । उनले भने, ‘यसलाई कोरोना भाइरस नै भएको भन्न नमिल्ने तर पीसीआर टेष्ट भइरहेकोले भोलि (बिहीबार) सम्म कोरोना संक्रमित हो वा होइन भन्न मिल्नेछ ।’
पोखरा वडा १० र १२ का ३४ जनाको आरडीटी परीक्षण गर्दा ती महिलाको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो । उनी दुबइमा रहेका आफ्ना छोरालाई भेटेर गत चैत ८ मा पोखरा फर्किएकी थिइन् । विदेशबाट फर्केर उनी होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।
कास्कीमा आरडीटी टेष्टमा यसरी पहिलो पटक पोजेटिभ रिपोर्ट आएको हो ।
यसैबीच, गण्डकी प्रदेशमा बुधबार साँझसम्म ३ हजार १ सय ७ जनाको आरडीटी किट परीक्षण गरिएको छ ।
प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी बागलुङमा १ हजार ७ जनाको त्यसखालको परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै, स्याङ्जामा ४ सय ३६, तनहुँमा ३ सय ९२, कास्कीमा ३ सय २९, पर्वतमा २ सय ६५, नवलपुरमा २ सय ७, गोरखामा १ सय ६०, लमजुङमा १ सय ४९, म्याग्दीमा १ सय ३० र मुस्ताङमा ७ जनाको द्रूत परीक्षण भएको छ । मनाङमा भने हालसम्म कसैको पनि परीक्षण भएको छैन ।
गण्डकीमा चैत महिनायता विदेशबाट फर्किएका, क्वारेन्टाइनमा बसेका, कोरोना संक्रमितको सम्पर्कमा आएका लगायत गरी यो सातासम्म करिब ४ हजार जनाको आरडीटी परीक्षण गर्ने कार्यक्रम छ ।