११ साउन २०८३, सोमबार

पोखरामा एक महिलाको आरडीटी परीक्षणमा कोरोना 'पोजेटिभ' देखियो, स्वाब पीसीआरमा राखेर परीक्षण हुँदै

बैशाख ३, २०७७
पोखरामा एक महिलाको आरडीटी परीक्षणमा कोरोना 'पोजेटिभ' देखियो, स्वाब पीसीआरमा राखेर परीक्षण हुँदै

पोखरामा एक महिलाको र्‍यापिड डायनोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ ।

पोखरा–१२, ढिकालेथरकी ५५ वर्षीया महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि उनको स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालास्थित पीसीआरमा राखेर परीक्षण भइरहेको छ । 

यता, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले ती महिलाको एन्टिबडी कोरोना भइरस देखिएको बताए । उनले भने, ‘यसलाई कोरोना भाइरस नै भएको भन्न नमिल्ने तर पीसीआर टेष्ट भइरहेकोले भोलि (बिहीबार) सम्म कोरोना संक्रमित हो वा होइन भन्न मिल्नेछ ।’

पोखरा वडा १० र १२ का ३४ जनाको आरडीटी परीक्षण गर्दा ती महिलाको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो । उनी दुबइमा रहेका आफ्ना छोरालाई भेटेर गत चैत ८ मा पोखरा फर्किएकी थिइन् । विदेशबाट फर्केर उनी होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । 

कास्कीमा आरडीटी टेष्टमा यसरी पहिलो पटक पोजेटिभ रिपोर्ट आएको हो । 

यसैबीच, गण्डकी प्रदेशमा बुधबार साँझसम्म ३ हजार १ सय ७ जनाको आरडीटी किट परीक्षण गरिएको छ । 

प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी बागलुङमा १ हजार ७ जनाको त्यसखालको परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

यस्तै, स्याङ्जामा ४ सय ३६, तनहुँमा ३ सय ९२, कास्कीमा ३ सय २९, पर्वतमा २ सय ६५, नवलपुरमा २ सय ७, गोरखामा १ सय ६०, लमजुङमा १ सय ४९, म्याग्दीमा १ सय ३० र मुस्ताङमा ७ जनाको द्रूत परीक्षण भएको छ । मनाङमा भने हालसम्म कसैको पनि परीक्षण भएको छैन । 

गण्डकीमा चैत महिनायता विदेशबाट फर्किएका, क्वारेन्टाइनमा बसेका, कोरोना संक्रमितको सम्पर्कमा आएका लगायत गरी यो सातासम्म करिब ४ हजार जनाको आरडीटी परीक्षण गर्ने कार्यक्रम छ ।
 

salt training

कमेन्ट गर्नुहोस्