
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पक्षमा रहेका सांसदहरूलाई बालुवाटार बोलाएर संसदीय दलमा बहुमत जुटाउने अभियानमा लागेका छन् ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आफूइतरका नेताहरूले राजीनामा माग्ने तयारी गरेपछि ओलीले आफ्नो पक्षमा रहेका सांसदहरूलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।
आफ्नो पक्षमा बहुमत देखाएपछि आजै बस्ने भनिएको सचिवालय बैठक र नेताहरूले माग गरिरहेको स्थायी कमिटी बैठकमा ‘राजीनामा’को अस्त्र बेकामे हुने निष्कर्ष ओलीको छ ।
‘बालुवाटारमा प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर नै संकलन भएको हो ?’ भन्ने लोकान्तरको प्रश्नमा सांसद निरुदेवी पालले भनिन्, ‘यस्तो बेलामा सरकार परिवर्तन गर्ने भन्दै केही नेताहरू लागिरहेको हुनाले हामीले पनि प्रधानमन्त्रीको पक्षमा बहुमत छ भन्ने देखाउन बालुवाटार पुगेका हौं ।’
उनले प्रधानमन्त्रीको पक्षमा सुविधाजनक बहुमत रहेको दाबी गरिन् ।
‘कागजमै हस्ताक्षर हुनुपर्छ भन्ने छैन,’ पालले भनिन्, ‘हामी प्रधानमन्त्रीको पक्षमा छौं र आवश्यक परे कागजमै पनि हस्ताक्षर गरेर बुझाउन तयार छौं ।’
सांसद पालले प्रधानमन्त्रीको पक्षमा अहिलेसम्म ९० जना भन्दा बढी सांसदहरू रहेको दाबीसमेत गरिन् ।
संसदीय दलमा ओलीसमूहमा ७८ जना, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमा ५३ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा ४३ जना सांसद रहेको मानिन्छ । तर यो संख्यामा केही घटबढ हुने सम्भावना देखिन्छ ।
बहुमतका लागि ओलीलाई थप १० जना सांसदको आवश्यकता पर्छ ।
सांसद पालले अहिले बालुवाटारमा जुटेका सांसदहरू प्रचण्ड या नेपालविरोधी नरहेको तर्क गरिन् ।
‘कठिन परिस्थितिमा छौं, यस्तो बेलामा सरकार फेर्नु हुँदैन भन्नेको बहुमत देखिएको छ, यो बहुमत नेकपाकै बहुमत हो ।’
प्रधानमन्त्री ओलीले ‘राजीनामा’को अस्त्रसँग भिड्न संसदीय दलमा बहुमत देखाउने कसरत थालेका हुन् ।