
लकडाउनका कारण पोखरामा अलपत्र ७२ जना विदेशी पर्यटकको बिहीवार उद्धार गरिएको छ ।
स्वीस र फ्रेन्च राजदूतावासको सहयोगमा पर्यटकलाई पोखराबाट पर्यटक बसमार्फत काठमाडौं पठाइएकोमा शनिवार काठमाडौंदेखि हवाइ उडानबाट आ–आफ्नो देश फर्काइनेछ ।
ती पर्यटकमध्ये सबैभन्दा बढी करीब ४० जना फ्रेन्च छन् भने ११ जना जर्मन नागरिक छन् ।
स्वीट्जरल्याण्डका लागि पोखरास्थित प्रतिनिधि समेत रहेका पर्यटन व्यवसायी वसन्तराज दवाडीले फ्रेन्चसहित युरोपेली युनियनले नेपालमा अलपत्र परेका पर्यटकलाई स्वदेश फर्काउन पहल गरेपछि पोखराबाट काठमाडौं पठाइएको छ ।
काठमाडौंबाट थप गरी ३०२ जना पर्यटक स्वदेश फर्किनेछन् । पोखरादेखि काठमाडौं लैजान ३ वटा पर्यटक बससहित अन्य सुविधा स्वीस राजदूतावासले गरेको छ भने फ्रान्सको राजधानी पेरिसका लागि फ्रेन्स राजदूतावासले विमान चार्टर्ड गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण गर्न नेपालमा गत चैत ११ गतेदेखि लकडाउन शुरू भएको हो । त्यसअघि उनीहरू नेपाल घुम्न आएका थिए । लकडाउनअघि फाट्टफुट्ट घुम्न पाएपनि त्यसपछि भने पोखराका होटलमै थुनिएर बस्न बाध्य भए ।
कोरोनाको प्रकोपबीच पनि आ–आफ्नो परिवारका सदस्यसँग भेट गर्न पाइने भएपछि कतिपय पर्यटक खुशी देखिन्थे । लेकसाइडको हल्लन चोक नजिकबाट गाडी चढ्ने सुविधा मिलाइएको थियो । आ–आफ्नो सामानसहित स्वदेश फर्कने तयारीमा रहेका पर्यटकले गाडी चढ्नुअघि उपस्थित नेपालीलाई बिदाइको हात हल्लाएका थिए ।

त्यसमध्येका एक फ्रेन्च थोमस होफमनले लकडाउनको कारण नेपालमा अड्किनुपरेको बताए । यद्यपि यहाँको बसाइँ सुखद रहेको उनको अनुभव छ ।
स्वीट्जरल्याण्डकी नागरिक एञ्जिलाले लामो समयको नेपाल बसाइँपछि स्वदेश फर्किन लाग्दा परिवारका सदस्य भेट्न पाइने खुशी एकातिर रहेपनि केही डर भने लागेको बताइन् ।
पोखराको राष्ट्रबैंक चोक घर बताउने एनआरएन पवित्रा गुरुङ पनि परिवारका ५ सदस्यसहित बेलायत फर्किने तयारीमा थिइन् । कोरोनाको केही डर लागेपनि पढाइका कारण जानुपर्ने बाध्यता रहेको सुनाइन् । कोरोनाको डर बेलायतको तुलनामा नेपालमा कम रहेको उनको भनाइ छ ।

स्वदेश फर्किने पर्यटकको सामान्य स्वास्थ्य जाँच एवं ज्वरो भए/नभएको जाँच गरिएको थियो । पर्यटक प्रहरी निरीक्षक गणेश खनालका अनुसार लकडाउनयता पोखराबाट हालसम्म ९३५ जना विदेशी पर्यटकको उद्धार गरिसकिएको छ । बिहीवार पोखराबाट काठमाडौं जानेमध्ये ७२ जना विदेशीबाहेक २३ जना एनआरएन पनि रहेका छन् ।