
सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले खरिद गरिएको थप मल भारतका बन्दरगाहमा आइपुग्ने क्रम जारी रहेको जनाएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार भन्सार र ढुवानी प्रक्रिया पूरा गरी मल चरणबद्ध रूपमा नेपाल भित्र्याइनेछ।
हाल ३० हजार मेट्रिक टन डीएपी मल भारतको विशाखापट्टनम बन्दरगाहमा र २७ हजार मेट्रिक टन डीएपी कोलकाता बन्दरगाहमा आइपुगेको मन्त्रालयले जनाएको छ। दुवै बन्दरगाहमा मल प्याकिङ भइरहेको छ। विशाखापट्टनमबाट मल रेलमार्फत नेपालतर्फ पठाउने प्रक्रिया सुरु भइसकेको छ भने कोलकाताबाट पनि छिट्टै लोडिङ गरिने तयारी छ।
सरकार–सरकारसम्झौताअन्तर्गत खरिद गरिएको अर्को डीएपी मल बोकेको जहाज साउन ३ गते (१९ जुलाई) कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका छ।
यस्तै ३०–३० हजार मेट्रिक टनका दुई खेप युरिया मल बोकेका जहाज साउन १ गते (१७ जुलाई) कोलकाता बन्दरगाहमा आइपुग्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल मल वितरण गर्ने दुवै कम्पनीसँग मौज्दात रहेको मल मल वितरण व्यवस्थापन कार्यविधि बमोजिम बिक्री–वितरण भइरहेको छ। बन्दरगाहमा आइपुगेका तथा आउने क्रममा रहेका मल आवश्यक भन्सार प्रक्रिया र ढुवानी सम्पन्न भएपछि क्रमिक रूपमा नेपाल भित्र्याइनेछ।