०६ साउन २०८३, बुधबार

सुदूरपश्चिममा कोरोना परीक्षण किटको चरम अभाव, शंकास्पदको नमूना संकलन प्रभावित

बैशाख २५, २०७७
सुदूरपश्चिममा कोरोना परीक्षण किटको चरम अभाव, शंकास्पदको नमूना संकलन प्रभावित

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षण किटको चरम अभाव भएको छ ।

सरकारले समयमै आपूर्ति गर्न नसक्दा किटको चरम अभाव सिर्जना भएको हो । पीसीआर किटसँगै आरडीटीको समेत अभाव भएको छ ।

किटको अभाव भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि निको भएर घर फर्केका बिरामीको पुनः परीक्षण समेत गर्न सकिएको छैन । काठमाडौं र वीरगञ्जमा निको भएका संक्रमितको पुनः परीक्षण गर्दा कोरोना ‘पोजेटिभ’ देखिएको अवस्थामा धनगढीमा निको भएका संक्रमितको पुनः परीक्षण हुन सकेको छैन । सेती प्रादेशिक अस्पतालमा रहेका ५ जना कोरोनाका बिरामीमध्ये हालसम्म ४ जना उपचारपछि घर फर्केका छन् ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा क्वारेन्टाइनमा राखिएका व्यक्तिको समेत कोरोना परीक्षण रोकिएको छ । संक्रमितको लगातार २ पटक कोरोना रिपोर्ट नेगेटिभ आएपछि १ हप्तासम्म होम क्वारेन्टाईनमा बस्नुपर्ने र ७ देखि १० दिनको अवधिमा पुनः परीक्षण गर्नुपर्ने मापदण्ड भएपनि पुनः परीक्षण हुन नसकेको हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले सुदूरपश्चिममा मात्रै नभई देशभर किटको अभाव भएको बताए । आपूर्तिको लागि पहल जारी रहेको बताउँदै उनले केहीदिनमै आपूर्ति सहज हुने उनको भनाइ छ ।

नेपालमा आरडीटीबाट प्रारम्भिक परीण गरिँदै आएको छ भने कोरोना भए/नभएको यकिन गर्न पीसीआर मशिनबाट परीक्षण हुँदै आएको छ । मोलेकुलर माइक्रोबायोलोजिस्ट सुनिल लेखकका अनुसार पीसीआर अन्तर्गत पीसीआर किट र आरएनए एक्पेक्सन किट प्रयोग हुँदै आएको छ । पीसीआर किटको उपलब्धता भएपनि एक्पेक्सन किटको अभाव भएपछि परीक्षण कार्य प्रभावित भएको छ ।

परीक्षण कार्य प्रभावित भएपछि कोरोनाको आंशकामा आइसोलेसन र क्वारेन्टाइनमा राखिएकाहरू अप्ठ्यारोमा परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–७ का वडाध्यक्ष हरिराम चौधरीले कोरोना संक्रमण भएका व्यक्ति उपचारपछि घर फर्केका तर उनीसँगै क्वारेन्टाइनमा बसेका अन्य व्यक्तिको परीक्षण नहुँदा जोखिम बढेको बताए ।

सो नगरपालिकाको वडा नम्बर ७ र ९ को लागि सरस्वती मावि प्रतापुरको क्वारेन्टाइनमा हालसम्म १०० बढीलाई राखिएको थियो तर अझैसम्म २३ जनाको १५ दिन बितेपनि कुनै पनि परीक्षण हुन नसक्दा न त उनीहरूलाई घर पठाउन सकिएको, न त कुनै उपचार दिन सकेको वडाध्यक्ष चौधरीले दुःखेसो सुनाए ।

salt training

कमेन्ट गर्नुहोस्