
कोरोना संक्रमित बढेपछि बुटवलमा थप आइसोलेसन सेन्टर निर्माण गरिएको छ । बुटवल उप–महानगरपालिकाले केही दिन यता ५० बेडको आइसोलेसन सेन्टर तयार पारेको हो ।
वडा नं. ११ देवीनगरस्थित एन्फा एकेडेमीको भवनमा ५० बेडको आइसोलेसन सेन्टर तयार पारिएको हो । धागो कारखानामा आइसीयूसहितको कोरोना विशेष अस्पतालपछि यहाँ अर्को थप सेन्टर निर्माण भएको हो ।
एन्फा एकेडेमीको भवनमा उपयुक्त आइसोलेसन सेन्टर निर्माण गरिएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्न बेड थप्ने कामसँगै अर्को आइसोलेसन सेन्टर निर्माण गरिएको प्रमुख सुवेदीको भनाइ छ ।
सेन्टरमा हाल ५० वटा बेड राखिएका छन् भने आवश्यक परेमा अरु थप गर्न सकिने उपमहानगरपालिकाले जनाएको छ । खुला मैदान समेत त्यही भएकाले व्यायामका लागि पनि उपयुक्त हुने विश्वास गरिएको प्रमुख सुवेदीले बताए ।
हाल बुटवल–१२, तामनगर क्वारेन्टाइनमा रहेका करीब एक सय २० जनाको आरडीटी परीक्षण भइरहेको छ । त्यसमा पोजेटिभ देखिनेको पीसीआर परीक्षण गरिनेछ । त्यसमा पनि पोजेटिभ देखिनेलाई सम्भवतः यही आइसोलेशन सेन्टरमा लगिनेछ ।
लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले उक्त आइसोलेसनको निगरानी गर्नेछन् । प्रदेश सरकारको समन्वयमा आइसोलेसन सेन्टर निर्माण गरिएको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
क्वारेन्टाइनमा योगा अभ्यास
क्वारेन्टाइनमा योगा पनि चलिरहेको छ । योगीराज विष्णुहरि आचार्यले योगा अभ्यास गराइरहेका छन् । बुटवलको तामनगर र कान्ति स्कुलमा क्वारेन्टाइन सञ्चालन गरिएको छ । तीनै स्थलमा पुगेर उनले योगाअभ्यास गराएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।