२० असार २०८३, शनिबार

स्याङ्जासम्म पुग्यो कोरोना संक्रमण, गुजरातबाट आएका संक्रमित जेठ १० गतेदेखि क्वारेन्टाइनमा

जेठ १३, २०७७
स्याङ्जासम्म पुग्यो कोरोना संक्रमण, गुजरातबाट आएका संक्रमित जेठ १० गतेदेखि क्वारेन्टाइनमा

गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा पहिलोपल्ट कोरोना संक्रमित देखापरेका छन् ।

भारतको गुजरात प्रान्तबाट जेठ १० गते नेपाल आएका २२ र २८ वर्षका संक्रमित दुवै पुरुष हुन् ।

स्याङ्जा प्रवेश गरेदेखि नै वालिङस्थित क्वारेन्टाइनमा राखिएका व्यक्तिको सोमवार राति स्वाब परीक्षणमा पोजेटिभ देखिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोबारे पुष्टि नगर्दै स्याङ्जाबाट प्रतिनिधित्व गर्ने २ सांसदले गण्डकी प्रदेश सभामा सोबारे जानकारी दिँदै उच्च सुरक्षाको माग गरेका थिए । सांसद भागवत्प्रकाश मल्ल र मोहनप्रसाद रेग्मीले सोमवार पोखरा सभागृहस्थित गण्डकी प्रदेश सभाको बैठकमा सोबारे जानकारी दिएका थिए । 

त्यसको केही घण्टापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नेपालमा सोमवार देखिएका ९० नयाँ संक्रमितमध्ये स्याङ्जाका पनि ती २ जना भएको पुष्टि गरेको हो ।
 
भारतबाट नेपाल प्रवेश गर्ने सिमानामा अलपत्र परेकालाई स्वदेश फर्कन दिने क्रममा संक्रमितहरू पनि जेठ १० गते नेपाल प्रवेश गरेका थिए । संक्रमितमध्ये २२ वर्षीय युवकको स्वास्थ्य अवस्था सामान्य रहेपनि अर्का २८ वर्षीय युवकको स्वास्थ्यमा समस्या देखिएको जनाइको छ । दुवै जना स्याङ्जाको केवरे भञ्ज्याङका हुन् । 

जिल्लामा पहिलोपल्ट कोरोना संक्रमित देखिएपछि सतर्कता अपनाइएको स्याङ्जाका निमित्त प्रमुख जिल्ला अधिकारी (सीडीओ) ध्रुव गिरीले जानकारी दिए ।

पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा पहिलोपल्ट कोरोना संक्रमित देखिएको छ । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस नेपालमा ९ माघमा देखिएको हो ।

नेपाल सरकारले कोरोना परीक्षण प्रदेशस्तरमा विस्तार गरेपछि गण्डकी प्रदेश राजधानी पोखरामा १८ चैतेदेखि पीसीआर परीक्षण हुँदै आएको छ । झण्डै २ महिना अवधिमा मात्र २ हजार जनाको परीक्षण भएको छ । आरडीटी ७ हजार पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले भने प्रदेशको बजेट अधिवेशनको पहिलो दिन पीसीआर मशिन थपेर परीक्षण दर बढाउने बताएका थिए । गण्डकीमा देखिएका २ नयाँ संक्रमितसहित प्रदेशमा कुल संक्रमित संख्या ७ जना पुगेको छ । तीमध्ये बागलुङका २ जना महिला उपचारपछि निको भइ घर फर्केका हुन् ।
 
गण्डकीमै जेठ १ गते नवलपुर देवचुली–१२ का ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भयो भने जेठ ६ गते लमजुङ घर भई काठमाडौं–१६ वनस्थली बस्ने ३ वर्षीय बालकलाई कोरोना संक्रमण देखा पर्‍यो । 

जेठ ९ गते नवलपुरका विनय त्रिवेणी नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

लमजुङका संक्रमित बालकको काठमाडौं र नवलपुरका २ संक्रमितको चितवनस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसनमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्