
सुदूरपश्चिम प्रदेशभित्र पर्ने दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई विवादित क्षेत्र भनेपछि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराको भनाइ रेकर्डबाट हटाइएको छ ।
प्रदेश सभाको नयाँ लोगोमा समेत सो भूभाग समावेश गरिसकेको सुदूरपश्चिम प्रदेश सरकारले सरकारकै बहालवाला मन्त्रीले विवादित भनेपछि उनको भनाइ प्रदेश सभाको रेकर्डबाट हटाइएको हो ।
प्रदेश सभाको मंगलवारदेखि शुरू भएको छैठौं अधिवेशनको पहिलो बैठकमा मन्त्री बोहराले प्रदेश सरकारको आव २०७७/२०७८ को विनियोजन विधेयक प्रस्तुत गर्ने क्रममा सो कुरा बोलेका थिए ।
लगत्तै सत्तारुढ दलकै प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीले नियमापत्ति जनाएका थिए । प्रदेशसभा सदस्य सोडारीको नियमापत्तिपछि सभामुख अर्जुनबहादुर थापाले उनको भनाई हटाउन निर्देशन दिए ।