
सेती प्रादेशिक अस्पतालको आइसोलेसन र कञ्चनपुरको क्वारेन्टाइनमा मृत्यु भएका दुबै जनाको पीसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
अस्पतालले बुधवार एक विज्ञप्ती जारी गर्दै अस्पतालमा मृत्यु भएका कैलालीको गौरीगंगा नगरपालिका ९ भगवानपुरका ५५ वर्षीय वीरबहादुर बन्तोला र कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका ७ का वडा अध्यक्ष ५८ वर्षीय कल्लु रानाको रिपोर्ट नेगेटिभ आएको जनाएको हो ।
कैलालीका मृतक मंगलबार नै भारतको महाराष्ट्रबाट फर्केका थिए । बुधवार विहान मृत्यु भएका उनमा टाउको दुख्ने र मुछित हुने तथा छारेरोगको समस्या रहेको अस्पतालले जारी विज्ञप्तीमा उल्लेख छ ।
मंगलबार दिउँसो उनलाई गौरीफन्टा बर्डरभन्दा ५ सय मिटर भित्रबाट बेहोस अवस्थामा उद्धार गरी सेती प्रादेशीक अस्पतालको इमरजेन्सी वार्डमा पुर्याइएको थियो । भारतबाट नेपालीहरुलाई ल्याएको बसले उनीसहितका यात्रुलाई बोर्डर पुग्न आधा किलोमिटर अगाडि नै एसएसबीको क्याम्प नजिक छोडेको थियो ।
बेहोस भएको खबर आएपछि नेपाली सीमा नाकामा राखिएको एम्बुलेन्सबाट उनलाई सेती अस्पतालमा पुर्याइएको थियो ।
त्यस्तै, वडा अध्यक्ष समेत रहेका कञ्चनपुरका मृतक राना क्वारेन्टाइन व्यवस्थापनमा जुटेका थिए । उनको मंगलवार राति मृत्यु भएको थियो ।