
अछाम जिल्लाको बयालपाटा अस्पतालले जागिरबाट निकालेपछि १ जना कर्मचारीले आत्मदाहको प्रयास गरेका छन् ।
अस्पतालको सरसफाइको काममा कार्यरत साँफेबगर नगरपालिका–६ का २७ वर्षीय सिद्धार्थ आउजीले सोमवार बिहान अस्पताल परिसरमा आत्मदाहको प्रयास गरेका हुन् ।
उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी नन्दकिशोर यादवले जानकारी दिए ।
संकटको बेला आफूहरूलाई कामबाट नहटाउन माग गरेका उनलाई अस्पतालले पदबाट हटाएको पत्र थमाएपछि आत्मदाहको प्रयोग गरिएको बताइएको छ ।
अस्पतालले आर्थिक संकट परेको भन्दै आउजीसहित ३३ जना कर्मचारीलाई हटाइएको बताइएको छ । २ महिनाअघि नै अस्पतालले हटाएको चिठी दिएपछि उनी तनावमा रहेका अर्का कर्मचारी विशाल पण्डितले बताए ।
‘म अस्पतालमा चौकीदारको काम गर्थे । सिद्धार्थ ट्वाइलेट सफा गर्थे । पुरानो नियुक्ति सकिन २ महिना बाँकी रहेको थियो । हामी काम गर्न अस्पताल गयौं,’ उनले भने, ‘तिमीहरूलाई हटाइसकेको हो । फेरि किन अस्पताल आयौ भन्दै हाकिमले थर्काए । प्रहरी लगाएर बाहिर निकाले ।’
सूचना अधिकारी यादवले आफ्नो शरीरमा आगो लगाएका आउजीलाई आउन सक्ने जटिलतालाई मध्यनजर गर्दै थप उपचारको लागि हेलिकप्टरमार्फत नेपालगञ्ज पठाइएको बताए । घटनाबारे अनुसन्धान समेत गरिने प्रशासनले जनाएको छ ।