०३ साउन २०८३, आइतबार

कोरोनाबाट ज्यान गुमाउने चिनियाँ महिला पोखरामा रेस्टुरेन्ट चलाउँथिन्

साउन ७, २०७७
कोरोनाबाट ज्यान गुमाउने चिनियाँ महिला पोखरामा रेस्टुरेन्ट चलाउँथिन्

नेपालमा कोभिड–१९ बाट पहिलो पटक विदेशी नागरिकको मृत्यु घटना सार्वजनिक भएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ४८ वर्षीया चिनियाँ महिलाको बुधबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जनाएको हो ।

कोभिड–१९ बाट ज्यान गुमाउने ती चिनियाँ नागरिक भने पोखरामा बस्दै आएकी थिइन् । उनले पर्यटकीय सहर पोखरा लेकसाइडमा केही वर्षदेखि रेष्टुरेन्ट चलाउँदै आएको खुलेको छ । साथै उनी १ वर्षदेखि चीन फर्केकी थिइनन् ।

कुनै पनि ट्राभल हिस्ट्री नभएकी ती नागरिकमा कसरी कोरोना भेटियो भन्नेबारे पोखरास्थित स्वास्थ्य निर्देशनालयका अधिकारी पनि अचम्मित छन् । स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं रेफर गरिएकी ती नागरिकमा कोरोना पुष्टि भएको आफूले जानकारी पाएको र कसरी कोरोना संक्रमण भेटियो भन्नेबारे कन्ट्याक्ट ट्रेसिङ थाल्ने जनाए ।

स्वास्थ्यमा समस्या देखिएपछि गत सुरुवातमा पोखराको मणिपाल शिक्षण अस्पताल भर्ना भएकी उनलाई साउन २ गते थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौस्थित ग्रान्डी अस्पताल लगिएको थियो । काठमाडौं पु¥याएपछि पीसीआर परीक्षण क्रममा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना पुष्टि भएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्जस्थित सघन उपचार कक्षमा लगिएकोमा बुधबार मृत्यु भएको हो । यसअघि, पोखराबाट हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पतालमा उपचारार्थ भर्ना भएका ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

संयोगवश उनी उपचारपछि निको भइ घर फर्केका छन् । ती पुरुष कोभिड–१९ संक्रमण पुष्टि हुने पोखरामै पहिलो केस थियो । गण्डकीमा हालसम्म १ हजार ३ सय ४५ कोरोना संक्रमित रहेकोमा ४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १ हजार ९१ जना निको भइ घर फर्केका छन् ।

salt training

कमेन्ट गर्नुहोस्