१० साउन २०८३, आइतबार

अन्य कम्युनिस्ट नेताको नजरमा नेकपा विवाद– सिद्धान्त होइन लेनदेन र स्वार्थको लडाईं !

साउन ८, २०७७
अन्य कम्युनिस्ट नेताको नजरमा नेकपा विवाद– सिद्धान्त होइन लेनदेन र स्वार्थको लडाईं !

सरकार समेत हाँकिरहेको नेपालको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको संकटलाई पार्टीका ८ लाख कार्यकर्ता मात्र होइन, स्वदेश र विदेशमा रहेका धेरै नेपाली र भारतीय मिडियाले समेत चासोका साथ हेरिरहेका छन् ।

चालू पाचौं स्थायी कमिटी बैठकमा सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवादले संकटको रूप लिएको थियो । 

संकट समाधानका निम्ति नेताहरूले व्यक्तिगत र सामूहिक पहल जारी राखेका छन् । ओलीले राजीनामा दिनैपर्छ भन्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूले आफ्नो यही अडानलाई बटमलाइन बनाएका छन् भने ओली पक्षका नेताहरूले नेतृत्व हस्तान्तरण गर्ने उपयुक्त थलो महाधिवेशन रहेको भन्दै तत्काल प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन नहुने अडानमा अडिग छन् । 

यही विवादका कारण गत असार १० गतेबाट शुरू भएको नेकपाको स्थायी कमिटी बैठक पटक–पटक स्थगनको मारमा परेको छ । नेकपामा शीर्ष नेताहरूले गर्ने व्यक्तिगत समझदारी मान्य नहुने र स्थायी कमिटी बैठकले नै निकास दिनुपर्ने मत राख्ने नेताहरू पनि धेरै छन् तर आफ्नो राजीनामा मागिएपछि प्रधानमन्त्री ओलीले बैठकको सामना गर्ने हिम्मत राख्न सकेका छैनन् ।

नेकपाका नेताहरूले आफूलाई मार्क्सवादी र कम्युनिस्ट भएको दाबी गर्छन् । नेपालमा आफूलाई कम्युनिस्ट मान्ने धेरै घटकहरू छन् । आफ्नो दललाई कम्युनिस्ट मान्ने नेकपा बाहेकका प्रायः सबै नेताहरूले नेकपालाई कम्युनिस्ट मान्दैनन् । हामीले अन्य केही वामपन्थी दलका नेताहरूलाई नेकपाभित्रको विवादलाई कसरी हेरिरहनुभएको छ भनेर प्रश्न गरेका थियौं । 

समझदारीमा विवाद हल नभए बहुमतीय प्रणाली अपनाउनुपर्छ – मोहनविक्रम सिंह, महामन्त्री, नेकपा मसाल  

नेकपाभित्र मैले देखेको विवाद राजनीतिक र सैद्धान्तिक हुँदै होइन । यिनीहरूले सत्ता, पद र प्रतिष्ठाका लागि खिचातानी गरिरहेका हुन् र पार्टीभित्र यस्ता मतभेद सिर्जना हुनु सामान्य हो । 

कसलाई प्रधानमन्त्री बनाउने, फिर्ता बोलाउने, पार्टीको अध्यक्ष को ? यस्ता प्रश्नहरू जुनसुकै पार्टीमा पनि उठ्ने गरेका हुन्छन् तर कम्युनिस्ट पार्टीमा त्यस्ता प्रश्नहरू हल गर्ने निश्चित विधि र पद्धति हुन्छन् । नेकपा नाममा मात्र कम्युनिस्ट भएकाले ती पद्धतिहरू मानिएका छैनन् । 

जनवादी केन्द्रीयता नेकपाले अस्वीकार गरेको छ । त्यो प्रक्रिया अवलम्बन गरिएको छैन । दोस्रो बुर्जुवा दलले पनि सामान्य बहुमतबाट विवाद हल गर्छ, नेकपाले त्यो पनि गर्न सकेको छैन । गुटबन्दी गर्ने, कोठे बैठक गर्ने र बाहिर छताछुल्ल विवाद लैजाने र जग हँसाउने काम नेताहरूले गरिरहेका छन् ।

हामीले नेकपालाई कम्युनिस्ट पार्टी नै मान्दैनौं तर मित्रशक्ति भने मानेका छौं । नेकपा हाम्रो दुश्मन शक्ति होइन । मित्रशक्ति भएकाले मैले नेकपाका नेताहरूलाई समझदारीका आधारमा विवाद समाधान गर्न सुझाव दिन्छु । 

समझदारी नभए जारी स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकको बहुमतबाट निर्णय गरेर अघि बढे देश, जनता र नेकपा नै नेताहरूको बन्धनबाट मुक्त हुने थिए । 

यिनीहरू फुटे पनि जुटे पनि कम्युनिस्ट आन्दोलनलाई केही नाफाघाटा हुँदैन – रामसिंह शिरिष, स्थायी कमिटी सदस्य, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी 

मार्क्सवादका आधारभूत सिद्धान्त नै छोडेर दलाल पुँजीपति र नोकरशाही वर्गको सेवा गर्ने उद्देश्यले सत्ता चलाइरहेको पार्टी नेकपा आफैंमा विवादको जड हो । नेकपाका नेताहरू विचार र सिद्धान्तका लागि लडिरहेका छैनन् । उनीहरूको आन्तरिक संघर्ष सत्ताको दोहन गर्नका लागि चाहिने पद प्राप्तिका लागि मात्र हो । 

नेकपाका शीर्ष बाहेकका अन्य नेता कार्यकर्ताहरू पनि कुन गुटमा लागे कसले के पाउने भन्ने हिसाबकिताबमा व्यस्त छन् । निश्चित रूपमा जनतालाई नेकपाबाट केही आशा थियो तर त्यो आशा मात्र रह्यो । जनतालाई दिएको वाचा पूरा गर्न सकेनन् यिनीहरूले । अहिले पदका लागि झगडा गरिरहेका छन् । 

यिनीहरू जनताबाट अलोकप्रिय हुँदै जाँदा केही फाइदा हामीलाई पनि होला । त्यहाँभित्र रहेका क्रान्तिकारी साथीहरूले अब त हुँदैन, विकल्प खोज्नुपर्‍यो भन्ने गरेका छन् । नेकपा अलोकप्रिय हुँदा हामीलाई मात्र होइन, प्रतिगमनकारीलाई पनि फाइदा पुगेको छ । 

हामीले संसदीय व्यवस्थाबाट जनताका आवश्यकता पूरा हुँदैन भनेका थियौं र हामी सही रहेछौँ भनेर नेकपाले पुष्टि गरेको छ । यो व्यवस्थाकै विकल्प खोज्नुपर्छ । यही व्यवस्था कायम रहने हो भने नेकपाबाट ओली र प्रचण्ड प्रधानमन्त्री हुनुमा कुनै तात्विक अन्तर छैन । 

नेकपाभित्र पद र प्रतिष्ठाकै लागि संकट सिर्जना भएकाले यो संकट समाधान हुनु र नहुनुले देशमा कुनै प्रभाव पार्दैन । उनीहरू मिलेर अघि गए पनि, फुटेर अगाडि बढे पनि कम्युनिस्ट आन्दोलनलाई केही नाफाघाटा हुँदैन । उनीहरू कम्युनिस्ट रहेनन् । 

प्रचण्डलाई पूर्व एमालेहरूले युद्ध अपराधमा फसाउने धम्की दिएर साइजमा ल्याएका छन् – गोपाल किराँती, अध्यक्ष, नेकपा माओवादी केन्द्र 

हामीले तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतालाई माओवादीको एमालेमा विलय भनेका थियौं, अहिले त्यो पुष्टि भएको छ । जसरी माओवादी जनसेनालाई सैद्धान्तिक रूपमा समायोजन भनेर व्यावहारिक रूपमा सेनामा विलय गराइएको थियो, नेकपाभित्रको स्थिति पनि त्यस्तै हो । 

नेकपाभित्रको विवाद अझ चर्को हुँदै जान्छ । एमाले त्यो शक्ति थियो, जसले संविधान निर्माणमा मात्र होइन गणतन्त्र घोषणामा पनि अवरोध गरेको थियो । त्यस्तो शक्तिसँग मिल्न जानु भनेको आत्मसमर्पणबाहेक केही होइन भनेका थियौं । प्रचण्डलाई अझै पनि पछाडि फर्कने बाटो छ । माओवादी केन्द्र जस्ताको त्यस्तै छ, यतै आउन मेरो सुझाव छ । 

२०६३ सालको अन्तरिम संविधानमा सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन दुईतिहाइ सांसद चाहिने व्यवस्था थियो । चुनावपछि माओवादी पहिलो पार्टी बन्यो । माओवादीबाहेक अन्य दलको दुईतिहाइ नपुग्ने भयो । २०६५ सालको जेठ १५ गते गणतन्त्र घोषणा गर्ने दिन कांग्रेस र एमालेले त्यो दुईतिहाइको प्रावधान नहटाए गणतन्त्र नै घोषणा हुन्न भनेका हुन् । माओवादी सामान्य बहुमतीय प्रणालीमा आउन बाध्य भयो । नत्र त्यतिबेलैदेखि सरकार स्थिर हुन्थ्यो । 

हामीले एमालेलाई राम्रोसँग चिनेका थियौं । त्यस्तो प्रतिगामी शक्तिसँग एकता गएर प्रचण्डले राम्रो गर्नुभएको होइन । आफूले नराम्रो गरेको परिणाम अहिले भोग्दै हुनुहुन्छ । उहाँलाई पार्टीभित्र दाह्रा र नंग्रा निकालेर राखिएको छ । अर्को पक्षले उहाँलाई युद्ध अपराधमा फसाउने धम्की दिइरहेको छ । 

हुन त जनताले नेकपालाई ५ वर्षका लागि चुनेका हुन् । उनीहरू झगडा नगरी देश चलाए हुन्थ्यो । कसलाई प्रधानमन्त्री बनाउने र कसलाई निकाल्ने भनेर निर्णय गर्ने काम उनीहरूकै हो । हामीले त सुझाव मात्र दिने हो । 

नेकपाभित्रको विवाद एउटा समूहले कमाएको देखेपछि अर्कोले टुलुटुलु हेर्न नसकेर सिर्जना भएको हो – विश्वभक्त दुलाल ‘आहुती’, वैज्ञानिक समाजवादी पार्टी नेपाल 

नेकपाभित्र विवाद कसरी समाधान हुन्छ भन्ने प्रश्नको जवाफ एकता नै किन भयो भन्ने प्रश्नमा छ । यिनीहरू तत्कालका लागि भागबण्डा गरौं र विचार सिद्धान्तका कुरा पछि गरौंला भनेर एक भएका हुन् । 

यिनीहरूको शुरूआत नै बेठीक थियो भने परिणाम ठीक हुने त प्रश्नै हुँदैन । नेकपाभित्र जसलाई हामीले गुट देखेका छौं, तिनीहरू विभिन्न आर्थिक समूहहरू हुन् । एउटा समूहले खाने, अर्को समूहले टुलुटुलु हेर्ने त हुँदैन । खान नपाउने समूहले लफडा त सिर्जना गर्छ । त्यसैलाई अहिले विवाद भनिएको हो । जसको समाधान नेकपाभित्र छैन । 

नेकपाले आफूलाई कम्युनिस्ट दाबी गर्ने गरेको भए पनि खासमा यसले कम्युनिस्ट आन्दोलन बदनाम गराउन र सिध्याउन भूमिका खेलिरहेको छ । जनताले कम्युनिस्ट भनेका भ्रष्ट रहेछन् भनेर बुझेका छन् ।

यिनीहरूको विवाद मिल्ने नमिल्ने कुराले आम जनतालाई खासै प्रभाव पार्दैन । जनतालाई त कोरोनाको जोखिमले तर्साएको छ, लाखौंको रोजगारी खोसिएको छ । जनताको खातामा पैसा हाल्दिनुपर्‍यो, गफ हाल्दिएर त भएन ।

salt training

कमेन्ट गर्नुहोस्