२८ असार २०८३, आइतबार

४० हजार विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै पोविका विद्यार्थी आन्दोलित

साउन ९, २०७७
४० हजार विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै पोविका विद्यार्थी आन्दोलित

पोखरा विश्वविद्यालय (पोवि) नेतृत्वविहीन भएको भन्दै विद्यार्थीहरु चरणबद्ध आन्दोलनमा छन् । उनीहरुले विश्वविद्यालयमा उच्च पदाधिकारीहरु तत्काल नियुक्तिको माग गर्दै शान्तिपूर्ण धर्ना दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म उनीहरुले शान्तिपूर्ण धर्ना दिए । कोभिड–१९ विरुद्ध सामाजिक दूरी कायम र आवश्यक स्वास्थ्यसुरक्षा अपनाएका उनीहरुले विभिन्न नाराअंकित प्लेकार्ड बोकेका थिए ।

साथै उनीहरुले आगामी ४ दिनभित्र विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रार लगायत पद पूर्णकालीन नियुक्ति हुनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत कुलपति समेत रहेका प्रधानमन्त्री र सहकुलप्रति समेत रहेका शिक्षामन्त्रीसमक्ष ज्ञापनपत्र बुझाए ।

आन्दोलन संयोजक रविन न्यौपानेले विश्वविद्यालय नेतृत्वविहीन हुँदा करिब ४० हजार विद्यार्थीको भविष्य अन्यौलमा परेकोले तत्काल नियुक्तिको माग गर्दै आफूहरु यसरी आन्दोलनमा होमिनुपरेको बताए ।

उनले भने, ‘मसँगै अर्को विश्वविद्यालयमा पढेको साथै अहिले छैटौं सेमेष्टर पढिरहेको छ तर मेरो पाँचौं सेमेष्टरकै परीक्षा हुन सकेको छैन ।’ उनी स्कुल अफ इञ्जिनीयरिङअन्तर्गत सिभिलतर्फ पाँचौ सेमेष्टरका विद्यार्थी हुन् । यी र यस्तै विविध समस्या उनीजस्तै विद्यार्थीहरुको छ ।

विश्वविद्यालयमा हाल उपकुलपति,रजिष्टार,परीक्षा नियन्त्रक, डीन र निर्देशक गरी प्रमुख ५ वटै पदहरु खालि छन् । उपकुलपति र रजिष्टारलाई कार्यवाहक दिइए पनि हाल उनीहरु समेत सेवा अवधि टुंगिएर विदा भएका छन् ।

विद्यार्थीहरुले पूर्णकालीन नेतृत्व लिन सक्ने ती पदहरुमा आगामी ४ दिनभित्र नियुक्तिको माग गरेका छन् । यदि नियुक्ति नभए तेस्रो चरणको आन्दोलन गर्न आफूहरु बाध्य हुने आन्दोलनका अर्का संयोजक एवं सातौं सेमेष्टरका विद्यार्थी अर्जुन पराजुलीले बताए ।

शहीदचोकस्थित जिल्ला प्रशासन कार्यालयको धर्नामा पोखरा विश्वविद्यालयअन्तर्गत पोखरामा रहेको सम्बन्धनप्राप्त कलेजहरु ला ग्राण्डी, पेक, पोखरा कलेज अफ म्यानेज्नमेन्ट र गण्डकी कलेज अफ इञ्जिनियरिङ एण्ड सफ्टवयेरका विद्यार्थी सहभागी थिए ।

त्यसो त देशका ५८ वटा कलेज पोखरा विश्वविद्यालयसँग सम्बन्धनप्राप्त छन् । पोखराको ढुंगेपाटनमा केन्द्रीय कार्याय रहेको पोखरा विश्वविद्यालयमा हाल स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ बिजनेस, स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्स, स्कुल अफ सोसल डेभलपमेन्ट गरी ४ संकायमा पढाइ हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्