
वीरेन्द्रनगरमा चैते धान पाक्न शुरू भएको छ । वीरेन्द्रनगर नगरपालिकामा २०४८ भन्दा पहिले चैते धान रोप्ने गरिएपनि त्यसपछि खेति हुन छाडेको थियो ।
झण्डै तीन दशकपछि सुर्खेत उद्योग वाणिज्य संघका उपाध्यक्ष दिपेन्द्र ढकालले वीननपा ११ धुलियाविटमा सप्तरीको जलेश्वरबाट ‘हर्दिनाथ–३’ जातको चैते धान रोपेको सवा तीन महिना पुग्नै लाग्दा धान पाकेपछि उनमा खुशी छाएको छ ।
‘यो धान सामान्यतया एक सय बीस दिनमा पाक्ने गर्दछ । मैले सुरुवाती मात्रै गरेको हो । जग्गा बाँझो राख्नु भन्दा चैते धान नै रोपेर भएपनि उत्पादनमा हात हालौँ कि भनेर रोपाई गरेको हो,’ उनले भने, ‘अहिले अनुमानित प्रति रोपनी पाँच मुरी धान फल्ने अपेक्षा छ । १२ रोपनी जग्गामा मैले धान रोपेको हो ।’
उनले लकडाउनका कारण चैत महिनाको एक दुइ गते नै रोप्नु पर्ने धान रोपाई ढिलो भएको बताए । ‘चैत महिनाको एक दुई गते नै धान रोपाइँका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेको थिएँ । मैले धान चैत २८ गते रोपेको हो,’ उनी भन्छन्, ‘मौसममा सुधार भएको खण्डमा आगामी एक दुई दिनमा धान काट्ने र वर्षे धान रोप्ने तयारी गरेको छु ।’
उनले चैत पछि खेत बाँझो राख्नु भन्दा यसरी धान रोपेको खण्डमा किसानले दोहोरा फाइदा पाउने बताए ।
उनले त्यहाँ माछा पालन पनि गरिरहेका छन् । ‘माछा पालन गरेको पानी मलिलो हुन्छ र खेति पनि हुन्छ भन्ने लागेर धान रोपेको हो ,’ उनी भन्छन्, ‘साउन २५ भित्र धान रोपेर सक्ने योजना छ ।’
यता, वीरेन्द्रनगरमै चैते धान फलेको देखेपछि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी चैते धान रोपाइँलाई प्रदेश भर नै विस्तार गर्ने योजनामा छिन् ।
‘सल्यान, जाजरकोट, दैलेखलगायतका पहाडी जिल्लाको सिंचाइ हुने स्थानमा आगामी चैतमा यो धानको बिउ बाँड्ने र धान खेति गर्न प्रोत्साहन गर्ने योजना मन्त्रालयले बनाउँछ,’ उनी भन्छिन्, ‘बिउ खरिद गर्ने, मूल बीउ उत्पादन गर्ने जस्ता कार्यक्रम ल्याउन हामी लाग्नेछौँ । उहाँको बारीमा फलेको धान हेर्दा कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन चैते धानले महत्वपूर्ण योगदान दिने अपेक्षा मैले गरेकी छु ।’
उनले सुरुको चरणमा सिंचाई हुने स्थानमा रोपाई गरिने र त्यसपछि भौतिक पूर्वाधार निर्माण गरेर चैते धानलाई गर्मी हुने स्थानमा फलाउने गरी सरकार अघि बढने बताइन् । ‘अहिले सिंचाई हुने र गर्मी हुने स्थानमा मात्रै यो धान खेती गर्ने गरी हामी अघि बढ्छौँ,’ उनले भनिन्, ‘त्यसपछि सिंचाई लगायतका पूर्वाधारहरुको विकास गरेर उत्पादन हुनसक्ने स्थान छानेर यो धानको खेति गर्ने योजना बनाउँछौं । यसले कर्णालीमा खाद्यान्न उत्पादनमा ठूलो योगदान दिने हाम्रो अपेक्षा छ ।’
उनले लकडाउनका कारण उत्पादनमा असर पर्ने देखिएको भएपनि त्यसलाई कम गर्न मन्त्रालयले विभिन्न कोणबाट अध्ययन गरिरहेको बताइन् ।