३१ असार २०८३, बुधबार

वीरेन्द्रनगरमा चैते धान पाक्दा कृषकसँगै कर्णाली सरकार मुस्कुरायो, आगामी वर्ष बिउ बाँड्ने तयारी

साउन १०, २०७७
वीरेन्द्रनगरमा चैते धान पाक्दा कृषकसँगै कर्णाली सरकार मुस्कुरायो, आगामी वर्ष बिउ बाँड्ने तयारी

वीरेन्द्रनगरमा चैते धान पाक्न शुरू भएको छ । वीरेन्द्रनगर नगरपालिकामा २०४८ भन्दा पहिले चैते धान रोप्ने गरिएपनि त्यसपछि खेति हुन छाडेको थियो ।

झण्डै तीन दशकपछि सुर्खेत उद्योग वाणिज्य संघका उपाध्यक्ष दिपेन्द्र ढकालले वीननपा ११ धुलियाविटमा सप्तरीको जलेश्वरबाट ‘हर्दिनाथ–३’ जातको चैते धान रोपेको सवा तीन महिना पुग्नै लाग्दा धान पाकेपछि उनमा खुशी छाएको छ ।

‘यो धान सामान्यतया एक सय बीस दिनमा पाक्ने गर्दछ । मैले सुरुवाती मात्रै गरेको हो । जग्गा बाँझो राख्नु भन्दा चैते धान नै रोपेर भएपनि उत्पादनमा हात हालौँ कि भनेर रोपाई गरेको हो,’ उनले भने, ‘अहिले अनुमानित प्रति रोपनी पाँच मुरी धान फल्ने अपेक्षा छ । १२ रोपनी जग्गामा मैले धान रोपेको हो ।’

उनले लकडाउनका कारण चैत महिनाको एक दुइ गते नै रोप्नु पर्ने धान रोपाई ढिलो भएको बताए । ‘चैत महिनाको एक दुई गते नै धान रोपाइँका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेको थिएँ । मैले धान चैत २८ गते रोपेको हो,’ उनी भन्छन्, ‘मौसममा सुधार भएको खण्डमा आगामी एक दुई दिनमा धान काट्ने र वर्षे धान रोप्ने तयारी गरेको छु ।’

उनले चैत पछि खेत बाँझो राख्नु भन्दा यसरी धान रोपेको खण्डमा किसानले दोहोरा फाइदा पाउने बताए ।

उनले त्यहाँ माछा पालन पनि गरिरहेका छन् । ‘माछा पालन गरेको पानी मलिलो हुन्छ र खेति पनि हुन्छ भन्ने लागेर धान रोपेको हो ,’ उनी भन्छन्, ‘साउन २५ भित्र धान रोपेर सक्ने योजना छ ।’

यता, वीरेन्द्रनगरमै चैते धान फलेको देखेपछि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी चैते धान रोपाइँलाई प्रदेश भर नै विस्तार गर्ने योजनामा छिन् ।

‘सल्यान, जाजरकोट, दैलेखलगायतका पहाडी जिल्लाको सिंचाइ  हुने स्थानमा आगामी चैतमा यो धानको बिउ बाँड्ने र धान खेति गर्न प्रोत्साहन गर्ने योजना मन्त्रालयले बनाउँछ,’ उनी भन्छिन्, ‘बिउ खरिद गर्ने, मूल बीउ उत्पादन गर्ने जस्ता कार्यक्रम ल्याउन हामी लाग्नेछौँ । उहाँको बारीमा फलेको धान हेर्दा कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन चैते धानले महत्वपूर्ण योगदान दिने अपेक्षा मैले गरेकी छु ।’

उनले सुरुको चरणमा सिंचाई हुने स्थानमा रोपाई गरिने र त्यसपछि भौतिक पूर्वाधार निर्माण गरेर चैते धानलाई गर्मी हुने स्थानमा फलाउने गरी सरकार अघि बढने बताइन् । ‘अहिले सिंचाई हुने र गर्मी हुने स्थानमा मात्रै यो धान खेती गर्ने गरी हामी अघि बढ्छौँ,’ उनले भनिन्, ‘त्यसपछि सिंचाई लगायतका पूर्वाधारहरुको विकास गरेर उत्पादन हुनसक्ने स्थान छानेर यो धानको खेति गर्ने योजना बनाउँछौं । यसले कर्णालीमा खाद्यान्न उत्पादनमा ठूलो योगदान दिने हाम्रो अपेक्षा छ ।’

उनले लकडाउनका कारण उत्पादनमा असर पर्ने देखिएको भएपनि त्यसलाई कम गर्न मन्त्रालयले विभिन्न कोणबाट अध्ययन गरिरहेको बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्