
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ५ स्थित देउती आधारभूत विद्यालयमा छात्रवृत्तिको रकम दुरुपयोग भएको छ । विद्यालयमा अध्ययनरत दलित विद्यार्थीका लागि आएको छात्रवृत्तिको करिब ५० हजार सरोकारवालालाई थाहा नदिई खाताबाट झिकेर झ्वाम पारिएको हो ।
जिल्ला प्रशासन कार्यालय दैलेखले विद्यालयका प्रधानाध्यापक अनिताकुमारी न्यौपाने र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद रेग्मीलाई ३ दिनभित्र स्पष्टिकरण सहित बैंक स्टेटमेन्ट पठाउन अनुरोध गरी साउन ९ गते पत्रसमेत पठाएको छ ।
प्रशासनले विद्यालयका दलित बालबालिकाका नाममा आएको छात्रवृत्तिको रकम प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितले खाताबाट झिकेर हिनामिना गरेको आरोपसहित कारवाहीका लागि उजुरीसमेत परेको जनाएको छ ।
चामुण्डाविन्द्रासैनी ५ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण रेग्मीले २०७६ फागुनमा उक्त छात्रवृत्तिको करीब ५० हजार रकम निकाल्ने विद्यालय व्यवस्थापन समितिको निर्णय भएको बताए ।
‘फागुनमा उक्त रकम निकालेर वितरण गर्ने निर्णय भएको हो,’ उनले भने ’म आफ्नो कार्यव्यस्ततामा थिएँ । मैले सुनेअनुसार उक्त रकम चैतमा निकालेर प्रधानाध्यापकले राखेका छन् भन्ने सुनेको छु । लकडाउनको कारण वितरण नगरिएको भन्ने कुरा छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मीले उक्त छात्रवृत्तिको रकम प्रधानाध्यापक न्यौपानेसँग भएको दावी गरे । ’फागुनमा निकासी गरेको छात्रवृत्तिको रकम उहाँसगै छ,’ उनले भने ’शनिवार अभिभावकले उक्त छात्रवृत्तिको बारेमा बुझ्न भेला गरेका थिए । भेलामा उहाँ आइदिनुभएन । अभिभावकले उहाँलाई शनिवार नै प्रधानाध्यापक पदबाट निष्कासन गर्ने घोषणा पनि गरिसकेका छन् ।’
प्रधानाध्यापक अनिता कुमारी न्यौपानेले चैत ६ गते छात्रवृत्तिको रकम झिक्ने निर्णय भएको बताइन् । ‘चैत १५ गते रिजल्टसँगै छात्रवृत्ति पनि वितरण गर्ने भनी निकालेका हौं,’ उनले भनिन्, ’लकडाउनका कारण वितरण गर्न पाइएन । अब छिट्टै वितरण गर्छौं ।’
