०७ असार २०८३, आइतबार

कोरोना संक्रमित एसपी निवासमै बस्ने, अरु प्रहरीलाई अस्पताल लैजाने तयारी

साउन १२, २०७७
कोरोना संक्रमित एसपी निवासमै बस्ने, अरु प्रहरीलाई अस्पताल लैजाने तयारी
फाइल फोटो

स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सहित १८ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

संक्रमित सबै जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत छन्, तीमध्ये १ जना महिला हुन् । 

स्याङ्जाका स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले गत साउन ६ गते हवल्दार र सिपाहीमा कोरोना पुष्टि भएपछि कार्यालयमा कार्यरत प्रहरी र थुनुवा सबै १०२ जनाको स्वाब संकलन गरी पोखरामा परीक्षण गरिएकोमा १८ जनामा कोरोना देखिएको बताए । अझै ८४ जनाको रिपोर्ट आउन बाँकी छ ।

संक्रमित एसपी आफ्नै निवासमा आइसोलेसनमा बस्न थालिसकेका छन् भने बाँकी १७ जनालाई भीरकोट–१ हेलुस्थित कालिका सामुदायिक अस्पतालमा लैजाने तयारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीका अनुसार सेवामा खटिने क्रममा कहाँ कसरी कोरोना पुष्टि भयो भन्नेबारे यकिन भन्न सकिएको छैन । सबैको साउन ७ गते स्वाब संकलन गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाइएको थियो । अरु ८४ जनाको रिपोर्ट अझै नआइसकेको उनले बताए । जिल्ला प्रहरी कार्यालयमा प्रहरी कर्मचारी हाल ९८ जना कार्यरत छन् । बाँकी ४ जना थुनुवा हुन् ।

गत हप्ता जिल्लामा कार्यरत प्रहरीमा कोरोना देखिएपछि कार्यालय नै सील गरी सुरक्षा व्यवस्था अपनाइएको थियो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले कार्यालय प्रमुखसहित २१ प्रहरीमा कोरोना देखिएपछि पुतलीबजारमा कडाइ गरिएको जानकारी दिए । उनले पहिलो चरणमा प्रहरी प्रमुखदेखि जवानसम्मको स्वाब लिइएको र सम्पर्कमा आएकाको खोजी शुरू गरिएको बताए ।

स्याङ्जामा हालसम्म कोरोना संक्रमितको संख्या २२३ पुगेको छ । तीमध्ये १८८ निको भइ घर फर्केका छन् । २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गण्डकी प्रदेशमा भने कूल संक्रमित संख्या करीब १ हजार ४०० पुगिसकेको छ ।

कमेन्ट गर्नुहोस्