०२ साउन २०८३, शनिबार

सुनको मूल्य एक लाख नजिक, व्यवसाय चौपट हुने त्रासमा सुन व्यवसायी

साउन १३, २०७७
सुनको मूल्य एक लाख नजिक, व्यवसाय चौपट हुने त्रासमा सुन व्यवसायी

नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ । 

मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अब १ हजार ८ सय रुपैयाँ मूल्य वृद्धि भएमा सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ पुग्ने सहजै अनुमान गर्न सकिन्छ । 

सुनको मूल्य अझै बढ्न जाने र एक लाख रुपैयाँभन्दा माथि हुन सक्ने सुन व्यवसायी तेजरत्न शाक्यले लोकान्तरसँग बताए । 

कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी रुपमा सिर्जना गरेको महामारीका कारण सुनको मूल्यमा अत्याधिक वृद्धि भएको हो । 

महासंघले मंगलवार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय ६० रुपैयाँ कायम गरिएको छ ।

यसअघि सोमवार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ रहेको थियो भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय ६०  रुपैयाँ कायम भएको थियो । 

चाँदीको मूल्यमा पनि पछिल्लो समय अत्याधिक वृद्धि भएको छ । 

सोमवार १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

सरकारले गत चैत ११ गतेदेखि मुलुकमा लकडाउन जारी गरेको थियो । लकडाउन जारी हुनुभन्दा अघिल्लो दिन १० गते छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुनको मूल्य ७६ हजार ७ सय रुपैयाँ कायम भएको थियो । 

चैत ११ देखि भदौ १२ गतेसम्म छापावाल सुनको मूल्यमा प्रतितोला २१ हजार २ सय रुपैयाँ वृद्धि भएको छ ।

किन बढ्यो सुनको भाउ ? 

सुन व्यवसायी तेजरत्न शाक्यका अनुसार कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म सुनको मूल्यमा सुधार हुन सक्ने सम्भावना नदेखेको बताउँछन् ।

उनका अनुसार, पछिल्लो समय कोरोना भाइरसको महामारीमात्रै नभई ठूला अर्थतन्त्र भएमा दुई मुलुकबीचको द्वन्द्वका कारण पनि सुन बजार प्रभावित छ ।

‘महामारीका बीचमा पछिल्लो समय अमेरिका र चीनबीचमा जारी द्वन्दका कारण पनि सुन बजार प्रभावित हुन पुग्यो, सुनको मूल्य १ लाख माथि नै चढ्ने अनुमान छ,’ उनले भने । 

व्यवसाय चौपट
कोरोना महामारीका बीचमा सरकारले जारी गरेको लकडाउनका कारण सुनचाँदी व्यवसाय चौपट भयो ।

विवाह तथा अन्य धार्मिक सँस्कारहरूका समयमा नै लकडाउन हुँदा सुन किनबेच हुन पाएन । जसका कारण सुनचाँदी व्यवसाय प्रभावित भए । अहिले सरकारले लकडाउन अन्त्य गरेको अवस्था छ ।  यद्यपि सुनचाँदी व्यवसायीको पीडा ‘ज्यूँ का त्यूँ’ छ । 

सुनको मूल्यमा आएको अचाक्ली वृद्धिका कारण अहिले बजारमा ग्राहकको आकर्षण छैन । अझै भनौं यसका कारण सुनको माग शून्य जस्तै भएको छ । हिन्दु धर्मावलम्बी महिलाहरूको विषेश चाडका रूपमा तीज नजिकिँदै छ ।

अन्य समयमा यो समयमा सुनको कारोबार बढी हुने गरेपनि मूल्य वृद्धिका कारण अहिले सुनको माग नभएको व्यवसायी शाक्य बताउँछन् । उनी भन्छन्, बजार सुनसान छ, हाम्रो त रोजीरोटी नै गुम्ने अवस्था आयो ।’
 

salt training

कमेन्ट गर्नुहोस्