३० असार २०८३, मंगलबार

पोखरामा अर्का कोरोना संक्रमितको मृत्यु

भदौ २, २०७७
पोखरामा अर्का कोरोना संक्रमितको मृत्यु
प्रतिकात्मक तस्वीर

पोखरामा अर्का १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुष रहेका छन् । 

कोभिड–१९ पुष्टि भएका मधुमेह, मिर्गाैलाका समेत बिरामी ती वृद्ध गत शनिवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाको इमर्जेन्सी विभागमा भर्ना भएकोमा उनको उपचारका क्रममा मंगलवार बिहान १०ः४० बजे मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए ।

उनलाई सोमवारदेखि कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा सारिएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोनाका कारण मृत्यु हुने उनी चौथो व्यक्ति हुन् ।

यसअघि स्याङ्जाका २, कास्कीका १ सहित अन्य ३ जनाको सो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

पोखरामा सोमवार राति सेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी तनहुँको व्यासकी ५० वर्षीया महिलाको पनि मंगलवार कोरोना पुष्टि भएको थियो । मृतक दुवैको शव अन्त्येष्टिको तयारी भइरहेको छ । 

गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगिसकेको छ । गोरखा र बागलुङका १–१ जना पुरुषको मृत्यु भइसकेको छ ।

पोखरामा कोरोना संक्रमित दर बढ्दै गएको भन्दै प्रशासनले मंगलवार रातिदेखि भदौ ७ गतेसम्म कास्की जिल्लाभर निषेधाज्ञा घोषणा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्