
पोखराको मालेपाटनमा गएराति भएको मोटरसाइकल दुर्घटनाका घाइते अर्का प्रहरी हवल्दारको पनि मृत्यु भएको छ ।
यसअघि मोटरसाइकल चालक प्रहरी जवान चन्द्रबहादुर बगालेको मृत्यु भएको थियो ।
पोखरा–बागलुङ राजमार्गअन्तर्गत पोखरा–५, मालेपाटनमा गएराति करीब १ बजे बाग्लुङ बसपार्कबाट जिरोकिलोतर्फ आउँदै गरेको ग २ च २६२६ नम्बरको बोलेरो जीपले प्रहरी सवार ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी वडा प्रहरी कार्यालय बैदाममा कार्यरत पाल्पाका २० वर्षीय चन्द्रबहादुर बगालेको मृत्यु भएको थियो ।
यस्तै, मोटरसाइकल पछाडि सवार बर्दिया घर भएका प्रहरी हवल्दार ३४ वर्षीय डम्बरबहादुर थारू घाइते भएकोमा उनको पनि बुधबार दिउँसो मृत्यु भएको हो ।
दुर्घटनापछि गम्भीर घाइते दुवैलाई उपचारार्थ गण्डकी मेडिकल कलेज नयाँबजार लगिएको थियो ।
बगालेको उपचारका क्रममा गएराति नै १ बजेर ५० मिनेटमा र थारुको बुधबार दिउँसो १ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
जीप र जीपचालक पोखरा ५, मालेपाटनका ३४ वर्षीय विशाल केसी प्रहरी नियन्त्रणमा छन् ।
राति १२ देखि बिहान ६ बजेसम्मका लागि क्यूआरटी (र्यापिड रेस्पोन्स टीम) मा ती प्रहरीहरू ड्युटीमा थिए ।