
काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समय थप्ने वा हटाउने भन्ने बारेमा निर्णय गर्न यहाँका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरुको बैठक जारी छ। बैठकमा यसअघिको निषेधाज्ञाको बारेमा समीक्षा र आगामी योजनाबारे छलफल भइरहेको जनाइएको छ।
यसअघि यही भदौ ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो। उक्त आदेश भोलि बुधबार राति १२ बजे सकिँदै छ।
कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले त्यसलाई रोक्न उक्त निर्णय गरिएको थियो।
बैठक जारी रहेको र सम्भव भएमा आज र नभए भोलि बिहानसम्ममा उपयुक्त निर्णय हुने लिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।
यसअघि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भने समय थप्न सिफारिस गरेको थियो। निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ।
कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उपत्यकासहित नेपालमा झण्डै ५० जिल्लामा निषेधाज्ञा जारी छ। सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको हो।