३० जेठ २०८३, शनिबार

राजधानीमा जमेका सफल रेस्टुरेन्ट व्यवसायी कुमार भण्डारीको प्रेरणादायी कथा

भदौ १३, २०७७
राजधानीमा जमेका सफल रेस्टुरेन्ट व्यवसायी कुमार भण्डारीको प्रेरणादायी कथा

होटल रेस्टुरेन्ट व्यवसायमा कुमार भण्डारीलाई नचिन्ने कमै होलान् । त्यो बेलाको निकै विकट मानिने रामेछाप जिल्लामा जन्मेर पनि राजधानीको एक सफल व्यवसायीसम्म आइपुग्दा कुमार भण्डारीले निकै उतारचढाव भोग्नुभएको छ ।

पैसा कमाउन विदेश नै जानु पर्दैन भन्ने एक अब्बल उदाहरण पनि उहाँले सावित गरेर देखाउनुभएको छ । बुवा उदयबहादुर भण्डारी र माता कोटीकुमारी भण्डारी कोखबाट मिति २०३४ चैत ४ गते उहाँको जन्म खाडदेवी गाउँपालिका–८ भदौरे रामेछापमा भएको थियो । परिवारमा दाइ पछिका माइलो छोरो, १ भाइ र २ दिदी हुनुहुन्छ । 

मध्यम परिवारमा जन्मनुभएका भण्डारीले प्राथमिक शिक्षा आफ्नै गाउँमा पूरा गर्नुभयो भने त्यसपछि ६ देखि १० कक्षासम्म श्री प्रयागेश्वर मावि फुल्पा पकरवासबाट पूरा गर्नुभयो । उहाँले स्कूललाई सक्दो आर्थिक सहयोग गर्नुभयो र अहिले त्यहाँ डिग्रीसम्मको पढाइ हुन्छ । उहाँको पालामा १० कक्षासम्म हुन्थ्यो ।

त्यहीँबाट उहाँले एसएलसी २०५० सालमा प्रथम श्रेणीमा पास गर्न सफल हुनुभएको थियो । उहाँले पढेको स्कूल भदौरेमा अहिले बीबीएससम्म पढाइ हुन्छ र अहिलेका विद्याथीलाई निकै सहज भएको छ, नत्र २ घण्टा हिँडेर पकरवास पुग्नुपर्थ्यो ।

उच्च शिक्षाको लागि जब उहाँ राजधानी छिर्नुभयो, तब उहाँका संघर्षका दिन शुरू भए । जावालाखेलको रोयल फास्ट फूड एन्ड केक शपमा वेटरको रूपमा काम गर्दै मिनभवन क्याम्पस आईकम अध्ययन गर्न थाल्नुभयो उहाँ । आईकम पास गरेपछि २०५४ सालमा नेपाल आर्मीको क्याडेटमा अफिसरको लागि दरखास्त दिनुभयो तर सफल नभएपछि पुनः आफ्नै काममा इमान्दारिका साथ लाग्नुभयो । सिनियर वेटर, क्याप्टेन, क्यासियर हुँदै सोही रेस्टुरेन्टमा उहाँ म्यानेजर पदसम्म पुग्नुभयो र यो अवधिमा उहाँलाई विदेशी कयौं गेस्टहरूले विदेश लैजाने अफर दिए तर उहाँको मन मानेन र १ दिन आफ्नै पेशा गरेर आफैं साहु हुने दृढ विश्वासका साथ अघि बढ्दै २०५७ सालबाट उहाँले व्यावसायिक यात्रा शुरू गर्नुभयो ।

उहाँले शुरूमा थापाथलीमा रिगल इमेज क्याफे सञ्चालन गर्नुभयो । त्यतिबेलासम्म उहाँले बीकमसम्मको पढाइ सम्पन्न गरिसक्नुभएको थियो । आफ्नो व्यावसायमा बिस्तारै सफल हुँदै गएपछि उहाँ २०५९ सालमा कोटेश्वर निवासी क्याप्टेन लालब कार्की र सीता कार्कीको कान्छी छोरी सरिता कार्कीसँग विवाह बन्धनमा बाधिनुभयो । उहाँको जीवन संगिनीले पनि व्यवसायमा निकै साथ, सहयोग दिएकै कारण उहाँ आजको स्थितिमा पुग्न सफल हुनुभयो । उहाँ अहिले २ जुडुवा छोरा र १ छोरीसँगै आफ्नै बलबुताले कोटेश्वरमा बनाएको घरमा बस्नुहुन्छ । फास्ट फूड एशोसिएशनका पूर्व सदस्य समेत रहिसक्नुभएका भण्डारीले काठमाडौं भ्यालीका १४५ फास्ट फूड तथा क्याफेको हकहितमा समर्पित भएर आवाज उठाउँदै आउनुभएको छ । टीभी, मिडिया र पत्रपत्रिकामा एक सफल युवा व्यवसायी भनेर निकै चर्चा गरिने उनै कुमार भण्डारी अहिले सवै विदेशिन खोज्ने युवाका लागि प्रेरणाका स्रोत सावित हुनुभएको छ ।

इमान्दारी, लगन, संयमताका साथ लागेमा सफल हुन कुनै देश जानु पर्दैन भन्ने उहाँले सावित गरेर देखाउनुभएको छ । आफ्नो व्यवसायसँगै दर्जनौं सामाजिक संघसंस्थामा आवद्ध भण्डारी दीनदुःखीलाई दिल खोलेर सहयोग गर्न रुचाउनुहुन्छ । सामाजिक कार्यका लागि भनेर उहाँले कमाएको १० प्रतिशत रकम सदैव छुट्याएर राख्नुहुन्छ । उहाँलाई कहिले बाल आश्रममा, कहिले वृद्धाश्रममा त कहिले दीनदुःखीको सेवा गरिरहेको देख्न सकिन्छ । सामाजिक कार्यमा सक्रिय रूपमा लागेका कारण उहाँलाई विभिन्न प्रमाणपत्र र कदरपत्रका साथ संघसंस्थाहरूले सम्मान गरेका छन ।   

सामाजिक कार्य सँगसँगै धार्मिक कार्यमा पनि त्यतिकै सक्रिय रूपमा लागिपर्ने कुमार भण्डारी विभिन्न मठमन्दिर, क्लब, टोल सुधारमा पनि सक्दो सहयोग पुर्‍याउँदै आउनुभएको छ । आफू जहाँ पुगेता पनि आफ्नो जन्मथलो र आफ्ना मातापितालाई कदापी भुल्नु हुन्न भन्ने सोच राख्नुहुने उहाँ बेलाबेलामा आफ्नो जन्मथलो रामेछाप पनि पुग्नुहुन्छ र विभिन्न धार्मिक कार्यको आयोजना गरेर आफ्ना मातापिताको इच्छा पुर्‍याउनुहुन्छ । गाउँका स्कूल तथा अन्य सामाजिक संघसंस्थालाई पनि उहाँले खुलेर आर्थिक सहयोग गरेका कारण लोकप्रियता कमाउनुभएको छ । आफ्नो र आफ्ना परिवारको जन्मदिनमा कुनै बाल आश्रम वा वृद्धाश्रममा पुगेर केक काटेर मनाउन रुचाउने भण्डारी अलि भिन्न र उदार स्वभावका हुनुहुन्छ । २०७७ सालमा आफ्नो गाउँमा बुवा आमाको पैतृक सम्पतिबाट स्वास्थ्य चौकी बनाउन २ रोपनी बढी जग्गा निःशुल्क सबै परिवारको तर्फबाट उहाँले उपलब्ध समेत गराउनुभएको छ । रामेछाप जिल्ला सभापतिको समन्वयनमा जग्गादान समेत गर्ने पवित्र काम गरेर ३–४ वडाका बिरामीको लागि उपचार गर्ने ठाउँ सित्तैमा उपलब्ध गराएर गाउँमा उल्लेखनीय काम गराउन सफल हुनुभएको छ ।

आफूले गरेको पेशामा उहाँ पूर्ण सन्तुष्ट हुनुहुन्छ । यही पेशाबाट उहाँले छोराछोरीलाई राम्रो स्कूल–कलेज पढाउनुभएको छ भने भनेजस्तो ठाउँमा आफ्नो बास पनि खडा गर्न सक्नुभएको छ । स्वदेशको कमाइले उहाँले विदेशी जीवन बिताएको देखिए पनि वास्तविक रूपमा सामान्य व्यक्तित्व हुनुहुन्छ । व्यवसाय विस्तार गर्ने क्रममा उहाँले विगत १८ वर्षदेखि एभरेस्ट क्याफे भाटभटेनी सञ्चालन गर्दै आउनुभएको छ । त्यही एभरेस्ट क्याफे सञ्चालनसँगै कोटेश्वर चोकमा सिंगै घर लिएर एभरेस्ट फूड् ल्यान्ड पनि १ वर्षसम्म सञ्चालन गरी आफ्नो व्यस्तताले गर्दा सो फूडल्यान्ड आफ्नो सहकर्मीलाइ छोडेर एभरेस्ट क्याफे भाटभटेनीमा मात्र लागिराख्नुभयो । 

आफू बाँचौं र दीनदुःखीलाई पनि बचाऔं भन्ने उच्च सोचका साथ अघि बढ्नुभएका भण्डारीले इन्द्रेणी ग्रूपको पनि एक हिस्सा मालिकको रूपमा स्थापित हुनुहुन्छ । अहिले पछिल्लो समय भण्डारीले इन्द्रेणी ग्रूपको महाराजगञ्ज र बसुन्धरामा पनि शेयर होल्डरको रूपमा स्थापित हुनुभएको छ । आगामी दिनका लागि कैयौ योजनाहरू बनाएर यही पेशामा समर्पित हुने अठोटका साथ उहाँ लागिपर्नुभएको छ । अहिलेका युवाका प्रेरणादायी व्यक्तित्व भण्डारी निकै सहयोगी भावका हुनुहुन्छ र हरेक कार्यमा सफल हुनुभएको छ । आफ्नै लगनले कमाएको पैसाले विश्वका दर्जनभन्दा ज्यादा देशमा पर्यटकको रूपमा परिवारसहित घुम्न भ्याएका भण्डारीका आगामी दिनमा युवालाई लक्षित गरेर केही नयाँ योजना बनाउने र नेपाली श्रम विदेशी भूमिमा खर्चन काम आउने कुरामा विश्वस्त हुनुहुन्छ । पहिलाको तुलनामा आफ्नो गृहजिल्ला पनि निकै विकास भएको र युवाले पनि पहिलाको तुलनामा धेरै रोजगारीको अवसर पाएकोमा निकै खुशी व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जति दुःख र कष्ट भोगेर यो स्थानमा आइपुगिएको छ, भावी पुस्ताले आधा मात्र मेहनत गरे पनि भविष्य उज्ज्वल देख्छु ।’

salt training

कमेन्ट गर्नुहोस्