१७ असार २०८३, बुधबार

नेपालको डरलाग्दो परनिर्भरता: १ रुपैयाँको निर्यात, १३ रुपैयाँको आयात

कात्तिक २०, २०७४
 नेपालको डरलाग्दो परनिर्भरता: १ रुपैयाँको निर्यात, १३ रुपैयाँको आयात

काठमाडौं, २७ वैशाख– मुलुकको आन्तरिक उत्पादन खस्किदै जाँदा नेपालको वैदेशिक व्यापार निरासाजनक देखिएको छ । व्यापार तथा निकासी प्रवद्र्वन केन्द्रका अनुसार ९ महिनामा मात्रै नेपालले सवा ७ खर्ब रुपैयाँ बराबरकोे वस्तु आयात गरेको छ ।

चालू आर्थिक वर्ष (आव) २०७३/७४ को वैशाखसम्ममा नेपालले ७ खर्ब २६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चालू आव २०७३/७४ को वैशाखसम्ममा नेपालले ५५ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तुमात्र निर्यात गरेको छ ।

कमजोर आन्तरिक उत्पादन खस्किँदा आयात अत्यधिक बढेको देखिएको छ ।

बढ्यो व्यापार घाटा

गत वर्षको तुलनामा सुधार देखिए पनि आयात र निर्यातबीचको असन्तुलनका कारण चालू आवको पहिलो ९ महिनामा व्यापार घाटा अरु बढेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार समीक्षा अवधिमा नेपालको कूल वैदेशिक व्यापार घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा करीव ४१ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको पहिलो ९ महिनामा नेपालको व्यापार घाटा करीव पौने ५ खर्ब रुपैयाँ बराबरको रहेकामा चालू आवको सोही अवधिमा ६ खर्ब ७० अर्ब रुपैयाँ पुगेको केन्द्रको तथ्याङ्क छ । गत आवको तुलनामा चालू आवमा मुलुकको वैदेशिक व्यापार सुधारोन्मुख भए पनि निर्यातको तुलनामा आयात अत्यधिक बढ्दा व्यापार घाटा पनि सोही अनुपातमा बढेको हो ।

केन्द्रका अनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ९ प्रतिशतले वृद्धि भई ७ खर्ब ८१ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा नेपालको कुल निर्यात ९ दशमलव ९ प्रतिशत र आयात ३८ दशमलव ४ प्रतिशतले बढेको केन्द्रले जनाएको छ ।

समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापारमा निर्यात तथा आयातको अनुपात क्रमशः ७ दशमलव १ प्रतिशत र ९२ दशमलव ९ प्रतिशत पुगेको केन्द्र बताउँछ ।

केन्द्रका अनुसार चालू आवको प्रथम नौ महिनामा नेपालको निर्यात –आयात अनुपात १ बराबर १३.१ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो अनुपात १ बराबर १०.४ थियो ।

समीक्षा अवधिमा नेपालबाट मूख्यगरी ऊनी, गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी लगायतका वस्तु निर्यात भएको केन्द्रले जनाएको छ ।

समीक्षा अवधिमा नेपालले ५ अर्ब ६६ करोड रुपैयाँको ऊनी गलैंचा, ३ अर्ब ९७ करोड रुपैयाँको तयारी पोशाक, ४ अर्ब २७ करोड रुपैयाँको फलाम तथा स्टीलका उत्पादन, ४ अर्ब ८१ करोड रुपैयाँको पोलिष्टर तथा अन्य धागोको निर्यात भएको केन्द्रले जनाएको छ ।

नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, क्यानडा, वंगलादेश, अष्ट्रेलिया, नेदरलेण्ड्स र भियतनाम आदि प्रमुुख रहेका छन् ।

केन्द्रका अनुसार ८७ अर्ब ३९ करोड रुपैयाँको पेट्रोलियम पदार्थ, ७६ अर्ब ९० करोड रुपैयाँको फलाम तथा स्टीलजन्य उत्पादन, ६३ अर्ब ३० करोड रुपैयाँको यातायातका साधन र तिनका पार्टपुर्जा, २९ अर्ब ४७ करोड रुपैयाँको इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्री र १७ अर्ब ४२ करोड रुपैयाँको औषधिको आयात भएको छ ।

नेपालको आयात बजारमा व्यापारमा भारत, चीन, युएई, फ्रान्स, इण्डोनेशिया, थाइलेण्ड, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, साउदी अरेविया, क्यानडा, जापान, मलेशिया र भियतनाम प्रमुुख रुपमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्