
नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेशसभा दलको बैठक शुक्रवार बस्ने भएको छ ।
गत असोज २५ गतेदेखि आन्तरिक किचलोमा फसेको नेकपा कर्णाली प्रदेशसभा दलको बैठक प्रमुख सचेतक सीता नेपालीले आह्वान गरेकी हुन् ।
विवाद मिलाउन काठमाडौं पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकका लागि वीरेन्द्रनगर आइसकेका छन् भने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालगायत अन्य नेता सुर्खेत फर्किंदैछन् ।
मुख्यमन्त्री शाहीले सकेसम्म सबैलाई मिलाएर लैजाने बताएका छन् । लोकान्तरसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले आफू एक कदम अघि बढिसकेको बताउँदै सबैले आफ्नो गल्ती सुधार गरेर जान खोजे सहमतिमा नै आफू अघि बढ्न तयार रहेको बताए ।
‘सकेसम्म सबै पक्षलाई मिलाएर लैजान्छु । सबैले आफूबाट भएका गल्ती महसूस गर्ने र आगामी दिनमा नदोहोर्याउने प्रतिबद्धता जनाउन आवश्यक छ,’ उनले भने, ‘बैठकमा मैले मेरो धारणा राख्छु । सहमति नभए बहुमतका आधारमा भए पनि अघि बढछु ।’
आफू कुनै गुट–उपगुटमा विश्वास नगर्ने व्यक्ति भए पनि आजको मितिसम्म काम गर्न नदिइएको गुनासो उनले गरे । ‘मैले यसअघि सबैलाई मिलाएर लैजाने भन्दै अघि बढेको थिएँ,’ उनले भने, ‘तर अब कर्णालीमा धेरै पानी बगिसकेको छ । कर्णालीका नागरिकका चाहना मुताबिक काम गर्न बहुमतकै आधारमा भए पनि अघि बढ्छु ।’
मुख्यमन्त्री शाहीले अबको केहीदिनमै मन्त्री हेरफेर हुनसक्ने बताए । उपसभामुख पुष्पा घर्तीले समेत आफू विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकोप्रति दुःखी हुँदै मुख्यमन्त्री शाहीले दलको बैठकले उपयुक्त निर्णय लिने बताए । उनलाई हटाउने वा के गर्ने भन्ने विषयमा अहिले नै भन्न हतारो हुने उनले बताए ।
मुख्यमन्त्री शाहीले प्रमुख सचेतक र सचेतक नियुक्त भइसकेको बताउँदै अब जिम्मेवारीमा कुनै पनि हेरफेर नहुने बताए ।