
जब अभिनेत्री शिल्पा पोखरेलसँगको वैवाहिक जीवनको मुद्दा अदालतमा पुग्यो, छविराज ओझा एकाएक गुमनाम भए ।
न चलचित्र निर्माणको कुरा गरे, न उनी चलचित्रसम्बन्धी कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रममा देखिए ।
बाघ निर्माताकोरूपमा चलचित्र उद्योगमा स्थापित छविराज शायदै ४० वर्षे चलचित्र इतिहासमा यसरी सुस्ताएका थिए । चलचित्र मंगलमपछि उनी अरू कुनै चलचित्रमा जोडिएका छैनन् ।
यद्यपि छविराज ओझा अब भने कमब्याक गर्ने तयारीमा छन् ।
उनले आफ्नै ब्यानरमा निर्माण भएको चलचित्र ‘कसले चोर्यो मेरो मन २’ निर्माण गर्ने तयारी गरेका हुन् । यो चलचित्रलाई पहिलो सिरिजकै निर्देशक सवीर श्रेष्ठले निर्देशन गर्ने भएका छन् ।
कलाकार सबै नयाँ
पहिलो सिरिजमा रेखा थापा, आर्यन सिग्देलको मुख्य भूमिका थियो । तर, दोस्रो सिरिजमा भने अधिकांश कलाकार नयाँ हुने बुझिएको छ ।
चलचित्रका निर्देशक सवीर श्रेष्ठले लोकान्तरसँग भने, ‘छविराज सरको कुरा र हामीहरूको सरसल्लाहअनुसार यो चलचित्रमा पुराना कलाकार नहुने पक्का छ ।’
रेखा फिल्मसबाट बनेको ‘कसले चोर्यो मेरो मन’ त्यो बेला सर्वाधिक हिट चलचित्र बनेको थियो ।
स्क्रिप्ट राइटर बिते, बाँकी काम टुङ्ग्याउने तयारी
‘कसले चोर्यो मेरो मन २’ को स्क्रिप्ट ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङले लेखिरहेका थिए । तर, उनको केही महिनाअघि निधन भयो ।
उनको निधनपछि स्क्रिप्टको काम रोकिएको थियो । अब भने निर्माता, निर्देशक लगायत मिलेर यो स्क्रिप्टलाई अन्तिम रूप दिने तयारी भइरहेको छ ।
निर्देशक सवीर भन्छन्, ‘यस विषयमा सल्लाह भइरहेको छ । अब विकल्प खोजेर चलचित्रको स्क्रिप्टको काम सकाउने योजनामा छौं ।’
फागुनदेखि छायांकन थाल्ने तयारी
निर्माता छविराज ओझाका अनुसार यो चलचित्रको छायांकन दशैंलगत्तै गर्ने पूर्व तयारीमा बाधा आएको छ ।
स्क्रिप्ट राइटरको निधन र कोभिड- १९ ले जन्माएको परिस्थितीका कारण यो चलचित्रको छायांकन समयमै हुन सकेन । तर, आगामी फागुनमा चलचित्रको छायांकन थाल्ने निर्माण पक्षको तयारी छ ।
ओझा भन्छन्, ‘केही महिना प्रि–प्रोडक्सनको काम हुनेछ । त्यसपछि फागुनमा फ्लोरमा जाँदा समय ठीकै हुने अनुमान गरेको छु ।’