०९ साउन २०८३, शनिबार

चलचित्र हल नखोलेपछि सरकारमाथि दबाब दिने तयारी

मंसिर १५, २०७७
चलचित्र हल नखोलेपछि सरकारमाथि दबाब दिने तयारी

कोरोना महामारीले ठप्प चलचित्र उद्योगलाई चलायमान बनाउन यससँग सम्बन्धित विभिन्न ६ वटा संस्थाले संयुक्त रूपमा दबाब दिने भएका छन् ।

काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा हल सञ्चालकहरूले निरन्तर दबाब दिएरै भए पनि चलचित्र उद्योग खोल्ने जनाएका छन् ।

नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र द्वन्द्व संघ तथा जनजाति चलचित्र महासंघले पटक–पटकको वार्ता निष्कर्षविहीन भएको ठहर गर्दै अब दबाब दिएर चलचित्र उद्योग बचाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कोभिड–१९ को प्रकोप शुरू भएदेखि विगत ९ महिनायता जनजीवन, व्यापार, व्यवसाय, पेशा सबै अस्तव्यस्त भएको छ र पेशा, व्यापार, व्यवसायलाई गम्भीर असर परेको छ, विज्ञप्तिमा भनिएको छ, ‘चैत ११ गतेदेखिको लकडाउनले गर्दा नेपाली चलचित्र क्षेत्र समेत बन्द छ । यसले हजारौं पेशाकर्मी बेरोजगार भएका छन् । रोजगारी नभएका कारणले चलचित्रका हजारौं पेशाकर्मीको जीवनयापन कठिन भइरहेको छ भने चलचित्रका लगानीकर्ताको लगानी स्थिर भएर बसेको छ ।’

संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका प्रदर्शकको अवस्था झन् गम्भीर भएको र फिल्म क्षेत्रका विभिन्न संघ/संस्था र चलचित्र विकास बोर्डले राहत उपलब्ध गराए पनि यो क्षेत्रको उत्थानका लागि दीर्घकालीन समाधानको बाटो खोज्नुपर्ने उनीहरूले बताएका छन् । ‘अन्य क्षेत्रहरू चलायमान भए जस्तै विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्डको अधिनमा रही चलचित्र क्षेत्र चलायमान हुनुपर्छ भन्ने हाम्रो माग हो,’ विज्ञप्तिमा भनिएको छ, ‘मापदण्डको पालना गरी चलचित्र छायांकन हुनुपर्छ, चलचित्र प्रदर्शन हुनुपर्छ । यसका लागि चलचित्र क्षेत्रका संघ–संस्थाहरुले कस्तो भूमिका निर्वाह गर्नुपर्छ, त्यसको लागि हामी तयार रहेको प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।’

चलचित्र सम्बन्धित संघसंस्थाले सञ्चार तथा सूचना मन्त्रीलाई भेटेर चलचित्र क्षेत्रमा संघसंस्था सम्मिलित प्रतिनिधि मण्डलले ध्यानाकर्षण गराएको थियो । तर सरकारले चलचित्र उद्योगलाई कसरी चलायमान गराउन सकिन्छ भन्ने विषयमा ठोस निर्णय लिन सकेको छैन ।

पत्रकार सम्मेलनमा सरकारसँग फिल्मकर्मी बचाउन तथा पलायन हुनबाट रोक्नका लागि आवश्यक आर्थिक राहत प्याकेजको व्यवस्था गर्न समेत माग गरिएको छ । पत्रकार सम्मेलनमा सार्वजनिक भएको विज्ञप्तिमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र प्राविधिक संघको अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा राणा, नेपाल चलचित्र नृत्य संघका कार्यबाहक अध्यक्ष जनक कार्की, नेपाल चलचित्र द्वन्द संघका अध्यक्ष सूर्य थोकर तथा जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारको नाम उल्लेख छ । तर २ वटा संघका अध्यक्षहरू कारणवश उपस्थित हुन नसक्दा निर्देशक समाजका महासचिव जनकदीप पराजुली, द्वन्द संघका उपाध्यक्ष हिक्मत थपलियाले पनि आफ्नो तर्फबाट चलचित्र घर खोलाउनका लागि पहल गर्ने जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्