०३ साउन २०८३, आइतबार

कोरोनाको डरले चन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा स्थगित, पूजा विधि हुने

मंसिर १५, २०७७
कोरोनाको डरले चन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा स्थगित, पूजा विधि हुने

करीब साढे ३०० वर्षदेखि प्रत्येक वर्ष हुँदै आएको चन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको छ ।

जात्रा नभए पनि अमालकोटबाट हुने पूजालगायत मन्दिरभित्रका विधि भने पूरा गरिने जात्रा समन्वय समितिका संयोजनक नवीन गोर्खालीले जानकारी दिए ।

पशुपतिनाथ अमालकोट कचहरीका द्वारेले पहिलो दिन चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा शुरू हुने परम्परा छ ।  

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्गशीर्ष कृष्ण तृतीयासम्म ४ दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको शुरूआत गराएको विश्वास गरिन्छ ।

जात्राको पहिलो दिन ‘मलजा नकेगु’ अर्थात् कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाउने परम्परा छ । चन्द्रविनायक उपत्यकाका ४ विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता समेत छ ।
   
पूर्णिमाका दिन बेलुकी सोमवार मन्दिर परिसरमा धुनी जगाउने विधिसमेत गरिने छ । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ । मार्गशीर्ष कृष्ण प्रतिपदाका दिन बिहान श्रीचन्द्रविनायक र श्रीभैरवनाथको खट उठाइन्छ ।
 
जात्राको दोस्रो दिन गणेशलाई ‘हलमली’ अर्थात् मकै, गहुँ, भटमास, सखरखण्ड, पिँडालु, लड्डु, पेडा र लावा चढाइन्छ । यी चढाइएका चीज प्रसादका रुपमा बेलुकी जात्रालु एवं भक्तजनलाई बाँडिन्छ । यसैगरी दोस्रो दिन श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराउने विधि छ । स्नानपछि दुवै खटलाई बेलुकी चारुमती बिहारमा लगेर बिसाइन्छ । 

मार्ग शीर्ष कृष्ण द्वितीयाका दिन दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराएर त्यहीँदेखि चुच्चेपाटीसम्मका मूल चोकहरूमा घुमाउने जात्रा विधि छ । बेलुकी भने चारुमती बहालमै रथ नचाई टसी अर्थात् बिमिरो प्रसादका रुपमा वितरण गरिन्छ । 
   
मार्गशीर्ष कृष्ण तृतीयाका दिन बिहान अमालकोट कचहरीका द्वारेले श्रीचन्द्रविनायक र श्रीभैरवनाथलाई अबिर चढाएपछि जात्रा समापन हुन्छ । ४ दिने जात्रा सफलतापूर्वक समापन भएको खुशीयालीमा तृतीयाका दिन दिनभर चावहिल क्षेत्रमा सिन्दूर जात्रा गरिन्छ ।

कोरोनाका कारण गत वर्ष चैतदेखि नै चन्द्रविनायक मन्दिर बन्द गरिएको छ । विक्रम संवत् २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । १ महिनामा मन्दिर पुनःनिर्माण सम्पन्न हुने काठमाडौं महानगरपालिका–७ का अध्यक्ष शुद्धकुमार डङ्गोलले जानकारी दिए । पुनःनिर्माण सम्पन्न भएपछि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुला गर्ने तयारी भएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्