१० साउन २०८३, आइतबार

गण्डकीमा ह्वात्तै बढ्यो कोरोना, संक्रमितले पाएनन् प्रभावकारी उपचार

मंसिर १५, २०७७
गण्डकीमा ह्वात्तै बढ्यो कोरोना, संक्रमितले पाएनन् प्रभावकारी उपचार

कास्कीमा कात्तिक २४ गतेसम्म कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या २ हजार ७१७ थियो । त्यसयता हालसम्म करीब २० दिनको अवधिमा संक्रमितको संख्या बढेर झण्डै दोब्बर पुगेको छ ।

संक्रमण नियन्त्रणमा विभिन्न संयन्त्र प्रयोग भइरहे पनि संक्रमित दर घट्नुको सट्टा झन्–झन् बढ्दो छ । 

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार हाल कास्कीमा सक्रिय संक्रमितको संख्या ३ हजार ४४३ पुगेको हो । प्रदेशमा विभिन्न जिल्लामा पनि कास्कीको तुलनामा कम संक्रमित रहे पनि संक्रमण दरमा भने कमी आएको पाइँदैन । प्रदेशभर हाल ४९०३ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । तीमध्ये तीमध्ये कास्कीमै ७० प्रतिशत छन् । कास्की सदरमुकाम पोखरा प्रदेशकै राजधानी पनि हो । यहाँ जनसंख्याको चाप रहेको पनि ठूलो संख्यामा दिनहुँ संक्रमित भेटिने गरेका हुन् । 

आइतवार मात्र प्रदेशमा ५१६ पीसीआर परीक्षणमध्ये करीब २० प्रतिशत अर्थात् १०५ संक्रमित थपिएसँगै प्रदेशमा कूल संक्रमितको संख्या ११ हजार ९६७ पुगेको छ । तीमध्ये ६९ सय १० जना निको भएर घर फर्केका छन् भने हालसम्म १५४ जनाको ज्यान गएको छ ।

गत १ हप्तामा ९०६ सक्रमित थप, ६७९ निको, १३ जनाको मृत्यु भएको तथ्यांक छ । अस्पतालमा आइसोलेसन बेड पर्याप्त नहुँदा धेरैजसो संक्रमित घरमै बस्न बाध्य छन् । प्रदेशका हाल सक्रिय ४ हजार ९०३ संक्रमितमध्ये होम आइसोलेसनमै ३ हजार ९७५ जना बसेका छन् । 

गण्डकी प्रदेशभर विभिन्न १९ अस्पतालमा आईसीयू शय्या २२३ र भेन्टिलेटर सुविधा ६२ वटा मात्र रहेको छ । कोरोना उपचारकै लागि भनी पोखराका ६ अस्पताललाई तोकिएकोमा बिरामीको दिनानुदिन चापले शय्या पाउनै मुस्किल हुँदा बिरामी अस्पताल चहार्दाचहार्दै बाटोमै मृत्यु हुने घटना पनि दोहोरिने गरेको पाइयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पताल र फिस्टेल अस्पताल मात्र कोभिड–१९ का बिरामीको उपचार हुन्छ । कोभिड–१९ कै बिरामीको उपचार गर्न भनी प्रदेश सरकारले तोकेको लेखनाथको संक्रामक तथा सरुवा रोग अस्पतालमा भने प्राविधिक अभावमा आईसीयू र भेन्टिलेटर सञ्चालनमा आइसकेको छैन । 
२ साताअघि स्याङ्जाकी धनमाया गुरुङको उपचारार्थ भेन्टिलेटर खोज्दाखोज्दै बाटोमै ज्यान गयो । उनले पोखराका ६ अस्पताल चहार्दा पनि भेन्टिलेटर पाउन सकिनन् । त्यस्तै भयो हालै पोखराका विकास शाक्यको अवस्था पनि । उनी भेन्टिलेटर नपाउँदा मृत्युको मुखमा परे । कास्कीको अन्नपूर्ण गाउँपालिकाका राजेश कार्कीले उपचारको लागि अस्पताल चहार्दै ज्यान फाले । पोखरामा अचेल यस्तो कहालिलाग्दो घटनाक्रम दोहोरिन थालेपछि उपचार सेवामाथि प्रश्नचिह्न उठ्न थालेको छ । 

यस विषयमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशवासीको लापरबाही नै कोरोना फैलिनुको मुख्य कारक मान्छन् । उनले नियमित रूपमा मास्क प्रयोग गर्न, स्यानिटाइजर लगाउन र आपसमा भौतिक दूरी कायम गर्न अटेर गर्दा सोचेभन्दा बढी संक्रमित रहेको बताए । उनले निजीमा तुलनामा सरकारी अस्पतालमा गएर निःशुल्क सेवा लिन आग्रह गर्दछन् ।

उनले कोरोना महामारीविरुद्ध शुरूदेखि नै तयारीसाथ लागेको दाबी गरे । जनशक्ति अभाव तथा पूर्वाधार निम्नस्तरको हुँदा सुधारेर लैजानु आवश्यक रहेको बताउँछन् । विगतमा संक्रमितको पीसीआर नेगेटिभ आएपछि मात्र घर पठाउने गरेको प्रदेश सरकारले सो निर्णय सच्चाउँदै अबदेखि १४ दिन आइसोलेसन बसेपछि पीसीआर नगरी घर पठाउने भएको छ । 

वैज्ञानिक महावीर पुनको प्रयासमा राष्ट्रिय आविष्कार केन्द्रले गण्डकी प्रदेश सरकारलाई स्वाब संकलन गर्ने एम्बुलेन्स सहयोग गरेको छ । सो एम्बुलेन्सले वडावडामा पुगेर स्वाब संकलन गर्ने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले बताए । 

प्रदेशमा कोरोनाबाट ज्यान गुमाएका १५४ जनामध्ये कास्कीका मात्रै २८ महिला र ५२ पुरुष गरी ८० जना पुगेका छन् । मनाङ र मुस्ताङमा हालसम्म मृत्युको घटना छैन । अन्य जिल्लामध्ये पर्वतमा मात्र २ जना पुरुषको मृत्यु भएको छ । कास्कीपछि नवलपुरका ४ महिला र १५ पुरुष गरी १९ जना, तनहुँका ७ महिला र ११ पुरुष गरी १८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । संक्रमित हुनेको संख्या पनि ११ जिल्लामध्ये कास्कीमा सर्वाधिक ५ हजार ८९ जना छन् । त्यसपछि क्रमशः नवलपुरमा २ हजार २२३ र तनहुँमा १ हजार २०२ जना संक्रमित संख्या छ । सबैभन्दा कम मनाङमा ९ जना पुगेका छन् ।

प्रदेशमा कास्कीसहित मुस्ताङ, मनाङ, म्याग्दी, पर्वत, गोरखा, लमजुङ, तनहुँ, बागलुङ, स्याङ्जा र नवलपुर गरी ११ जिल्ला पर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्