
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लेखक गुरुराज घिमिरेको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ छिट्टै बजारमा आउने भएको छ । यो उनको दोस्रो कविता संग्रह र छैटौं कृति हो ।
समाज, राजनीति, माया प्रेम र मानवीय संवेदनामा आधारित ३६ वटा कविता नयाँ संग्रहमा समेटिएका छन् ।
विक्रम संवत् २०६० देखि २०७७ सम्म लेखिएका कविता संग्रहमा समावेश भएका छन् ।
खुलामञ्च प्रकाशनले प्रकाशन गर्न लागेको संग्रहमा एक चौथाइ कविता ०७० को दशकमा लेखिएका हुन् भने बाँकी २०६० को दशकमा लेखिएका हुन् ।
राजनीति नैतिक मूल्य मान्यतामा आधारित हुनुपर्ने, जनताको जीवनस्तरमा सुधार आउनु पर्ने विषय उनको लेखनका विशेषता हुन् ।
‘समाजमा देखिएका असामाजिक, संवेदनहीन, दारुण गरीबी, शासन सञ्चालनको शैली, राजनीतिक नेतृत्वको अनैतिक क्रियाकलाप र राष्ट्रिय अस्मिता जस्ता विषयले मलाई कविता लेख्न प्रेरणा दिन्छ,’ घिमिरेले लोकान्तरसँग भने, ‘कविता लेख्न मलाई एकान्त ठाउँँ नै चाहिँदैन, पोखरा नै जानुपर्दैन, कोलाहलको बीचमा पनि लेख्छु ।’
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको अध्यक्ष समेत बनिसकेका केन्द्रीय सदस्य घिमिरेले राजनीति सँगसँगै लेखनलाई पनि निरन्तरता दिँदै आएका छन् ।
घिमिरेको पहिलो कविता संग्रह ‘प्रतिज्ञाको पहाड’ २०७३ सालमा साझा प्रकाशनबाट प्रकाशित भएको थियो ।
यस अतिरिक्त जेलको संस्मरण, दुईवटा विचार संग्रह, एउटा कथा संग्रह प्रकाशित भइसकेका छन् । निकट भविष्यमै घिमिरेको एउटा उपन्यास र विचार संग्रह प्रकाशन हुँदैछ ।