३० असार २०८३, मंगलबार

मन्त्रिपरिषद् बैठकको त्यो २५ मिनेट जसले देशको भविष्यलाई अन्धकारतर्फ धकेल्यो

पुस ५, २०७७
मन्त्रिपरिषद् बैठकको त्यो २५ मिनेट जसले देशको भविष्यलाई अन्धकारतर्फ धकेल्यो

आइतवार अकस्मात डाकिएको मन्त्रिपरिषद् बैठक जम्माजम्मी २५ मिनेट बस्यो ।

संसद् विघटन गर्ने प्रधानमन्त्रीको तयारीका बारेमा मन्त्रीहरू जानकार थिएनन् ।

मन्त्रीहरूलाई बैठकका लागि भनेर साढे ९ बजेको समय दिइएको थियो । सबै मन्त्रीहरू बालुवाटार पुगे ।

प्रधानमन्त्रीले अध्यादेश फिर्ताको प्रक्रिया शुरू गर्न बैठक मन्त्रिपरिषद् बैठक बोलाएका होलान भन्नेमा मन्त्रीहरू विश्वस्त थिए ।

बैठकमा जानुअघि एक मन्त्रीले लोकान्तरसँग कुरा गर्दै भनेका थिए, 'आज त्यही अध्यादेश फिर्ताको सिफारिश गर्न बोलाइएको हुनुपर्छ ।'

बैठक शुरू हुनेबित्तिकै संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ताको निर्णय भयो । यतिबेलासम्म मन्त्रीहरू चुप बसेका थिए ।

त्यसपछि ओलीले भने, 'ल साथीहरू ताजा जनादेशका लागि अघि बढ्नुपर्‍यो । संसद् विघटन गर्ने र वैशाखमा चुनाव गर्ने !'

त्यसपछि मन्त्रीहरू मुखामुख गर्न थाले । ओलीले मुख्यसचिवलाई त्यही अनुसारको भाषा माइन्युटमा लेख्न लगाए ।

केही मन्त्रीहरूले प्रतिवाद गर्ने प्रयाससमेत गरेका थिए । मन्त्रीहरूमध्ये वर्षमान पुन, घनश्याम भुसाल, योगेश भट्टराई र प्रदीप ज्ञवालीले पार्टीभित्र छलफल गरौँ, अहिल्यै यस्तो निर्णय नगरौं भने, तर ओलीले उनीहरूको कुरा सुनेनन् ।

प्रधानमन्त्री ओली बिहानैदेखि अलि थाकेका र गलेका जस्ता देखिन्थे । उनले शनिवार बेलुकादेखि नै संसद् विघटनका बारेमा आफूनिकट नेता र कानूनविदसँग सल्लाह गरेका थिए ।

'प्रधानमन्त्री यो निर्णयमा पुगिहाल्नु भएको छैन होला भन्ने हाम्रो अनुमान थियो,' ओलीनिकट मानिने एक मन्त्रीले लोकान्तरसँग भने, 'तर अन्त्यमा संसद विघटनको सिफारिस भयो ।'

बैठक जम्माजम्मी २५ मिनेट मात्र बस्यो । बैठकका निर्णयहरू माइन्युट गर्न लगाएर प्रधानमन्त्री ओली निर्णयसहित अन्य केही फाइल बोकेर कक्षबाट बाहिरिए ।

त्यसपछि बालुवाटारमै ओलीलाई कुरिरहेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग ओलीको छोटो भेट भयो ।

भेटमा प्रचण्डले यति धेरै अविश्वास किन ? भनेर सोधेका थिए ।

ओलीले तपाईंहरूले मलाई साथ नदिने भएपछि मैले चाल्नुपर्ने कदम नै यही हो भनेर आफ्नो कदमको प्रतिवाद गरे ।

बाहिर कुरिरहेका प्रचण्डलाई भित्रका मन्त्रीहरूले नै पल-पलमा म्यासेज गरेर घटनाक्रमका बारेमा जानकारी गराएका थिए ।

ओली शितलनिवासतिर लागेपछि प्रचण्ड आफ्नो निवास खुमलटार फर्के । उनले तत्कालै आफूनिकट नेताहरूलाई फोनमा ओलीले 'कू' गरेको ब्रिफिङ गरे ।

त्यसपछि खुमलटारमा प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल लगायतका नेताहरू जम्मा भएका थिए ।

फाइल बोकेर ओली राष्ट्रपति कार्यालय शितलनिवासतिर लागे । करीब डेढ घण्टा राष्ट्रपति कार्यालयमा बिताएर ओली बालुवाटार फर्किसकेका छन् ।

राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् बैठकले गरेको सिफारिश यो समाचार टिप्पणी लेख्नेबेलासम्म अनुमोदन भएको छैन ।

आजै नेकपाको स्थायी कमिटी बैठक बस्ने कार्यतालिका थियो । ओलीको हठात् निर्णयले बैठक अनिश्चित बनेको छ ।

तर केही नेताहरू बालुवाटार पुगेका छन् । बैठक बस्छ या बस्दैन भन्ने कुनै निश्चित नभएको नेताहरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्