
प्रतिनिधि सभा विघटनपछि नेकपा लगभग विभाजन भएको छ ।
मंगलवार छुट्टा–छुट्टै भेला गरी प्रचण्ड–माधव नेपाल र केपी ओली पक्षले निर्णय गरेपछि राजनीतिक तरंगको राप निकै फैलिएको छ ।
ओली पक्षले बहुमत पुर्याउन केन्द्रीय कमिटीमा सदस्य थपेको छ भने प्रचण्ड–माधव पक्षले पनि केही वर्षअघि निलम्बनमा परेका तत्कालीन अध्यक्ष दीर्घ सोडारीको निलम्बन फुकुवा गरी नेकपाको कैलाली अध्यक्ष तोकेको छ ।
मंगलवार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ५५६ जना केन्द्रीय सदस्य थपे, त्यसमध्ये कैलालीका पनि केही परे ।
कैलालीबाट रुकमणि देवकोटा, यज्ञराज बास्तोला, सन्तोष शर्मा, जिवन्ती पौडेल, गोमा आचार्य, कमला शाही थपिएका छन् ।
उता कञ्चनपुरबाट नरबहादुर धामी, कृपाराम राना, इन्दु कडरिया विष्ट र रामचन्द्र नेपाल थपिए ।
कैलालीमा पनि दुई अध्यक्ष, पेचिलो बन्दै बिवाद
केन्द्रमा केपी पक्षको छलफल चलिरहँदा नेकपाको जिल्ला पार्टी कार्यालयमा दाहाल–नेपाल पक्षका नेता तथा कार्यकर्ताले तालाबन्दी गरे ।
त्यसै तालामाथि पछि केपी पक्षका नेता कार्यकर्ताहरूले पनि अर्को ताला लगाए । मंगलवार नै बसेको प्रचण्ड–नेपाल भेलाले निलम्बनमा परेका सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत रहेका दीर्घ सोडारीको कारवाही फुकुवा गर्यो ।
तत्कालीन नेकपा कैलाली अध्यक्ष समेत रहेका सोडारीलाई पुनः कैलालीको अध्यक्षको जिम्मेवारी दियो ।
पार्टीले सोडारीको आचरण र पदीय मर्यादाविरुद्ध उजुरी परेको भन्दै २०७५ कात्तिकमा कारवाहीमा गरेको थियो ।
उनलाई हटाएर सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी र कैलाली अध्यक्षमा रतन थापालाई नियुक्त गरेको थियो ।
सोडारी प्रदेश सभा सदस्य भने कायममै थिए । उनी कैलाली क्षेत्र नम्बर ४ (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
‘पार्टी केन्द्रीय कमिटीले निर्णय गर्यो,’ दुई वर्षपछि निलम्बन फुकुवा भएका सोडारीले भने, ‘भोलि बिहीवारपछि केन्द्रीय कमिटीको छलफल छ । छलफलले आगामी रणनीति बनाउँछ, त्यसकै आधारमा हामी अघि बढ्छौं ।’
‘केन्द्रमा पार्टी दुई समूहमा बाँडिएसँगै कैलालीका वडा–वडा तहमा पनि हामीले नेता कार्यकर्ता सक्रिय पारिसकेका छौं,’ सोडारीले थपे, ‘अहिले प्रधानमन्त्रीले गरेको कुविरुद्ध विरोध प्रदर्शनका कार्यक्रम भइरहेका छन् ।’
‘पार्टीले मलाई अध्यक्षको जिम्मेवारी तोकेपछि हाम्रा गतिविधि शुरू गरेका छौं,’ केही प्रक्रिया पुर्याएर औपचारिक बैठक पनि बोलाउँछौं,’ उनले भने ।
अध्यक्ष रतन थापाले पार्टीको वैधानिक अध्यक्ष आफू नै भएको बताए ।
‘म कुनै गुटले तोकेको अध्यक्ष हैन, म त नेपाल कम्युनिस्ट पार्टी नेकपाले तोकेको कैलाली जिल्ला अध्यक्ष हुँ । विधिको शासनअनुसार पार्टी चल्नै पर्छ । सोडारीलाई प्रदेश कमिटीले कारवाही गरेको हो, प्रदेश कमिटीले नै फुकुवा गर्नुपर्छ ।’
अध्यक्ष थापाले थपे, ‘पार्टी फुटिसकेको छैन, संस्थापक अध्यक्ष म नै हुँ । म हिजोको एमालेको अध्यक्ष पनि हैन, माओवादीको अध्यक्ष पनि हैन नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष हुँ ।’
तत्कालीन एमालेको अध्यक्ष हुँदैमा नेकपाको अध्यक्ष हुन नसक्ने थापाको भनाइ छ । निलम्बनमा परेका सोडारीलाई प्रचण्ड–माधव पक्षले फुकुवाको घोषणा गरेपछि पार्टीमा अर्काे खालको तरङ्ग आइरहेको छ ।
केन्द्रमा दुई अध्यक्ष रहेको नेकपा कैलालीमा पनि दुई अध्यक्ष भएको भन्दै टीकाटिप्पणी शुरू भएका छन् ।
‘यो सँगै प्रदेशमा पनि दुई अध्यक्ष, दुई इञ्चार्ज पो हुने हुन् कि भन्ने चर्चा र चिन्ता गर्न थालिएको अवस्था छ,’ नेकपा सुदूरपश्चिम अध्यक्ष कर्ण थापा भन्छन्, ‘लज्जास्पद् कुरो भयो । तिनै माधव–प्रचण्ड लगायतले समेत पार्टीको आचरणविपरीत काम गरेको भन्दै सदस्य पदबाट हटाएको अवस्था हो । विधिको कुरा गर्ने प्रचण्ड–नेपालले सुदूरपश्चिमको हकमा आफ्नो नक्कली अनुहार देखाउनुभयो ।’
‘उहाँहरूले निलम्बन फुकुवा गरेर अर्को पार्टी घोषणा गरेमा त्यसको केही अर्थ हुँदैन नेकपामा उहाँहरूले गरेको निर्णय वैधानिक छैन, जो पार्टी अध्यक्ष हुनुहुन्छ, उहाँहरूले नै काम कारवाही अघि बढाउनुहुन्छ’, थापाले भने ।