भारतको पुणेमा ल खीर डेली आउटलेटको खीर प्रख्यात छ । त्यहाँ न्युट्रेला, ब्राउनी, चकलेट, ओरियो लगायतका फ्लेभरका खीरहरू पाइन्छन् ।
सन् २०१९ मा दाजु शिवांग सूद र बहिनी शिविका सूदले यो आउटलेट खोलेका हुन् । उनीहरूले बनाएको खीर भारतभरि प्रसिद्ध छ ।
शिवांगका अनुसार, सानो छँदा आमाले बनाएको खीर पूरै परिवारले मज्जाले खाने गरेको थियो । सन् २०१७ मा शिविकाले खीरमा एक चम्चा नटेला र ओरियो हालेर ट्राई गरिन् । खीरको स्वाद झन् राम्रो बन्यो ।
उनले आमालाई यो कुरा बताइन् । अनि आमाले गुलाफको पातबाट बनेको गुलकन्द र ब्राउनी हालेर खीर पकाइन् । परिवारका मानिस र छरछिमेकका मानिसले खुबै मन पराए ।
त्यसपछि उनीहरूलाई यसको व्यापार शुरू गर्ने आइडिया फुर्यो । उनीहरूले सडकमा ठेला राखेर खीर बेच्न थाले । फरक फरक फ्लेवरको खीर ग्राहकहरूले खुबै मन पराए ।
व्यापार बढ्दै गयो । उनीहरूले खीर पसल नै खोले । सन् २०२० मा उनीहरूले एक करोड भारुभन्दा बढीको व्यापार गरिसकेका छन् ।
शिवांग र शिविकाकी आमा सोनिया सूदले विद्यालयमा पढाउन छोडेर खीर व्यापार गर्न थालेकी छन् ।