मौलिक : को हो, को होइन ?

सुशील गौतम
सुशील गौतम

गौतम मौलिक जरोकिलो पार्टीका केन्द्रीय अध्यक्ष हुन् 

मौलिक : को हो, को होइन ?

जरो किलो प्रतिष्ठान नेपालको आयोजनामा फागुन १७ गते एक सत्संग आयोजना गरी योगी नरहरिनाथको १०७ औं जयन्ती मनाइयो । योगी नरहरिनाथले मौलिकताको बाटोमा अग्रसर हुन निर्माण गर्नुभएको विचारको उत्तराधिकारीको रूपमा जरो किलो महाअभियान खडा भएको कुरा वक्ताहरूले बताएका थिए ।


Advertisement

योगी नरहरिनाथले लेख्नुभएको कविताको यी पंक्तिहरूले मौलिकताप्रतिको उनको लगाव देखाउँछ ।


Advertisement

हाम्रो मौलिकता कतातिर गयो मूलस्थली हो कता ?
भाषाभूषण भेष संस्कृति कला आदर्श शैली कता ?

केही समय अगाडिसम्म मौलिकताको कुरा गर्दा पुरातनवादी, पछ्यौटेपन, रुढीवादीको आरोप खेप्नुपर्ने हो कि भनेर रक्षात्मक हुनुपर्ने बाध्यता थियो तर अहिले मौलिकता मूलधारको विषय बनेको छ । आफूले लिएको विचार, सिद्धान्त वा कार्यक्रमलाई पनि ‘मौलिक’ भन्नुपर्ने अवस्था आएको छ । यो राम्रो पक्ष हो ।


Advertisement

युगद्रष्टा गुरु डा. निर्मलमणि अधिकारीले पटक–पटक भन्नुभएको छ, नेपाल अब पुनर्जागरणको युगमा प्रवेश गरिसकेको छ । उहाँद्वारा लिखित पुस्तक नेपालको पुनर्जागरणको अर्थ र आधारमा नेपालको पुनर्जागरण के कसरी हुनुपर्छ भनेर लेखिएको छ ।

निष्पट्ट अन्धकारको केही समयमा झिसमिसे बिहानी भए जस्तै । पट्यारलाग्दो लामो राजनीतिक अस्थिरता अनि घनचक्करले निम्त्याएको आर्थिक, सांस्कृतिक र सामाजिक संकटबाट मोचन गर्न विभिन्न तह र तप्काका मानिसहरू ‘अब यसरी भएन, केही त गर्नैपर्‍यो’ भनेर समूह बनाउने, अभियान चलाउने वा पार्टी नै खडा गरेर राजनीतिमा होमिने क्रम बढ्दैछ ।

पटक–पटक असफल पात्रहरूलाई फेरि सत्तामा पुर्‍याउँदा बहुमत प्राप्त दलका नेताहरूको कुर्सी मोहको कारण सत्तावृत्तमा देखिएका घिनलाग्दो राजनीति र यस्ता पात्रहरूले निम्त्याएका अस्थिरताको घनचक्करबाट मुलुकलाई मुक्त गराउनुपर्छ भन्ने चेतना आमसर्वसाधारणमा पलाएका छन् ।

नेपाल सधैं यस्तै पछौटेपन, परनिर्भर र अवसादको अवस्थामा थिएन । कुनै समय जागृत अवस्थामा थियो । नेपालको स्वाभिमान र प्रतिष्ठा कुनै समय उच्च रहेको अवस्थामा थियो । विविध कारणले बीचको समयमा ओझेलमा पर्‍यो । अब पुनः आफ्नो स्वाभिमान र सम्प्रभूतालाई स्थापित गर्नुपर्छ भन्ने मान्यता बढ्दै जानु भनेको नेपालको पुनर्जागरणको चेतना बढ्दै जानु हो ।   

मौलिकता भनेको के हो ?

मौलिकताको चर्चा बढ्दै गएपछि जो कोहीले आफू पनि मौलिक भएको दाबी गर्न थाल्नु स्वाभाविक हो । के मौलिक हो, के मौलिक होइन भनेर नीर क्षीर विवेकी भएर सोचिएन भने छद्म मौलिकताधारीबाट धोका हुनसक्छ ।

मौलिकताले बजार पिटेको मौका छोपेर आयातित विचारलाई पनि मौलिकताको जलप लगाउने प्रयास शुरू भइसकेको छ । 

नेपाली शब्दकोश अनुसार मौलिकको अर्थ हुन्छ – १. मूल वा जडसित सम्बन्धित; मूलभूत । २. मुख्य; प्रधान । ३. कसैको आधार नलिएको; नवीन वा सिर्जनात्मक ।
मौलिकताले २ महत्त्वपूर्ण कुरा समेट्छ । मूलसँग सम्बन्धित हो कि होइन र त्यसमा नवीनता छ कि छैन ? आफूलाई मौलिक दाबी गर्नेले लिएको विचार, सिद्धान्तको आधार हाम्रा वेद, पुराण, त्रिपिटक, मुन्धुमका कुनै श्लोकलाई उदृत गर्छ कि युरोपमा यस्तो भनिएको थियो, अमेरिकामा त्यस्तो गरिएको थियो भन्छ ? ऋषि, आचार्य, तीर्थंकर, बुद्ध, मुहिगुम अङसिमाङका मार्गनिर्देशनलाई सगौरव आधार मान्छ कि फरक सभ्यता, संस्कृति र चिन्तन पद्धतिका मानिसको भनाईकै पछि लाग्छन् ? यसको आधारमा नेपालको मौलिक हो कि होइन भनेर निर्क्यौल गर्न सकिन्छ ।   

मौलिकताको परिभाषाले मूलसँग सम्बन्धित भन्ने मात्र देखाउँदैन, के नवीनता छ भन्ने कुराको समेत खोज्छ । मूलसँग सम्बन्धित रहनु र त्यसमा नवीनता समेत हुनु भनेको स्थितिगत्यात्मक प्रगतिवाद हो । मूलभूत कुरा नछोडिकन नयाँ परिस्थिति सापेक्ष बनाउनु नै मौलिकता हो र यो नै स्थितिगत्यात्मक प्रगतिवादको संकेत पनि हो । मौलिकता भन्ने बित्तिकै जस्ताको तस्तै ग्रहण गरिरहने प्रवृत्तिलाई भनिएको होइन । सति प्रथा पनि हाम्रै मौलिकता हो भनेर दिदीबहिनीलाई चितामा पठाउनु भनिएको होइन । इतिहासको कुनै कालखण्डमा प्रयोगमा आएको तर वर्तमान युग चेतनामा पाच्य नदेखिने विषय छोड्दैमा मौलिकताबाट विच्छिन्न भइन्न । शरीरमा आएको मुसा काटेर फाल्दैमा व्यक्तिको पहिचानको नाश हुँदैन ।

मौलिकताले ल्याउने सम्भावना

पुर्तो रिकोका गायक लुइस फोन्सी र ड्याडी यांकीले गाएको देस्पासितो बोलको गीत नसुन्ने युवापुस्ता कमै होलान् । युट्युबमा राखिएका श्रव्य/दृश्यमध्ये विश्वमै सबैभन्दा धेरै पटक हेरिएको गीत बनेको थियो सन् २०२० सम्म । हालसम्म ७ अर्ब २३ करोड हेरिएको यो गीत अहिले पनि दोस्रो अत्याधिक हेरिएको स्थानमा छ ।

पुर्तो रिकोको रेग्गातोन शैलीमा निर्मित यो गीतले पाएको ख्यातिले देखाउँछ आफ्नो मौलिकतामा प्रविधिको उचित संयोजन गर्न सके रातारात प्रख्यात हुन सकिने विश्व बनेको छ । नेपालका प्रख्यात गायक दिपक बज्राचार्यले लामो समय ल्याटिनो शैलीका गीत गाए, बजाए । विदेशमा सांगीतिक कार्यक्रम गर्न जाँदा, कुनै विदेशीले आएर यहाँ बजाइएको ड्रम हाम्रै हो, गीतार हाम्रै हो, लय हाम्रै हो, शैली हाम्रै हो – हामी त नेपाली संगीत पो सुन्न आएको त । तिमीहरूको मौलिक संगीत छैन ?’ भनेर प्रश्न गरेपछि आफ्नो सांगीतिक शैलीमा परिवर्तन गरेका रहेछन् ।

विदेशीले गरेको प्रश्नलाई उनले संगीतमार्फत जवाफ दिएका छन् । मन मगन गज्जबको गीत बनेको छ । दृश्यमा नेपालको मौलिक संस्कृति देखाइएको छ । नेपालको नामै नसुनेको विदेशीले यो भिडियो हेरेपछि नेपालको सांस्कृतिक पक्षलाई लिएर आफ्नो मस्तिष्कमा एउटा पृथक चित्र बनाउने किसिमको छ । नेपालको नेसन ब्राण्ड बिल्डिङमा दिपक बज्राचार्यले यही गीतबाट योगदान दिएका छन् । 

कुनै बेला दिपक बज्राचार्य ल्याटिनो शैलीमा गाउँथे । अब विदेशीलाई समेत देखाउँदा गर्वले छाती फुल्ने मौलिक शैलीका संगीत रचना गर्ने बताएका छन् । उता लुइस फोंसी र ड्याडी यांकीले आफ्नो मौलिक अर्थात ल्याटिनो शैलीका गीत देस्पासितोले तहल्का मच्चाएका छन् । आफ्नै मौलिकतामा रहेर उत्कृष्ट संगीत सिर्जना हुनसक्छ भन्ने यसले देखाएको छ ।  

बलिउडका सिनेमाहरू ठाडो नक्कल गरेर नेपाली सिनेमा बनाइने गरेको भनेर आलोचना हुने गरेको छ । हाम्रा सिनेमाहरूमा नेपालको मौलिक विषयवस्तुले अझै पनि प्रवेश पाइसकेको छैन । थाई सिनेमा ओङ्गबाक र भारतीय सिनेमा बाहुबलीमा मौलिकता र प्रविधिको बेजोडको संयोजन छ । ओङ्गबाकले ११ लाख डलरको लगानीले २ करोड ४० लाख डलरको आम्दानी गर्‍यो भने २ अर्ब ५० करोड लगानीमा बनेको बाहुबलीले झण्डै १८ अर्बको आम्दानी गर्‍यो, विश्वभर कमाएको ख्याति त छँदैछ ।

साजसज्जादेखि कथावस्तु र प्रस्तुतीकरणमा कुनै सफल हलिउडको सिनेमाको नक्कल गरिएको भए ओङ्गबाक र बाहुबलीले कमाएको ख्याति र आम्दानी यति नहुन पनि सक्थ्यो । हाम्रा नेपाली सिने उद्योगले नेपालका मौलिक विषयवस्तुलाई आधुनिक प्रविधिको संयोजन गरेर बेजोडका सिनेमा निर्माण गर्न थाले अर्थतन्त्रका साथसाथै विश्व राजनीतिमा नेपालको ‘सफ्ट पावर’ सुदृढ हुनसक्थ्यो ।

बीबीसी मास्टर सेफको अन्तिममा पुगेका सन्तोष साहसँगै योमरीको चर्चा चुलिएको छ । नेपालको मौलिक परिकारले अन्तर्राष्ट्रिय चिनारी पाएको छ । सन्तोष साहले योमरीको सट्टा बर्गर अथवा पिज्जा पनि बनाउन नसक्ने थिएनन् तर योमरी बनाए ।

विदेशीको लागि नौलो स्वाद बन्न पुग्यो नै, उनको समेत पृथक चिनारी बन्यो । जति नै मिठो पिज्जा बने पनि ईटालीमा बन्ने पिज्जाभन्दा आधिकारिक हुँदैन । ईटालीको पिज्जा बनाउने कलालाई युनेस्कोले अभौतिक सांस्कृतिक सम्पदाले मान्यता दिएको छ । नेपालीको आधिकारिकता नक्कल गरिएको विषयमा होइन, नेपालको मौलिक सांस्कृतिक सम्पदाहरूमा हुन्छ ।

खाद्यान्न, कला, संगीत र सिनेमाका क्षेत्रमा मात्रै मौलिकता प्रधान भएर आए पनि राजनीति, शिक्षा, अर्थतन्त्र जस्तो महत्त्वपूर्ण क्षेत्रमा विदेशी सिद्धान्तका फोटोकपी हाबी भइरहेसम्म नेपाल पुनर्जागृत अवस्था पुग्न सम्भव छैन । के बेलायती वेस्टमिनिस्टर शैली नै उत्कृष्ट भनेर हाम्रो राजनीतिक व्यवस्थाको पुनर्जागरण हुन्छ ? फरक सभ्यता र पृष्ठभूमिमा लेखिएका मार्क्सवाद र पुँजीवादको फोटोकपीलाई नेपालमा लादेर नेपालको अर्थ–राजनीतिको पुनर्जागरण हुन्छ ? हिटलर, स्टालिन, पोलपोट, माओ, किमसोङ्ग इलले निरंकुश तानाशाह लाद्न प्रयोग गरेका ‘समाजवाद’को अगाडि नेपाल, वैज्ञानिक, राष्ट्रिय, जनता जस्ता विशेषण थपेर खोलिएका राजनीतिक दल नेपालको पुनर्जागरणका साधन हुन सक्छन् ?

तयारी चाउचाउ जस्तो बनिबनाउ मताग्रहको अक्कल विनाको नक्कल गरिएका राजनीतिक सिद्धान्त, आर्थिक सिद्धान्त, शैक्षिक सिद्धान्त अन्धाधुन्ध प्रयोगले नेपालको आज यो अवस्था भएको हुँदा फेरि पनि तिनै फोटोकपीधारीबाट पुनर्जागरणको अपेक्षा गर्नु राष्ट्रको अस्तित्वको लागि नै हानिकारक हुन्छ । 

नेपालको पुनर्जागरण नेपालमै जरो नेपालमै किलो भएको दर्शन, वाद, सिद्धान्त, प्रतिमानको आधारमा नेपालको राज्यतन्त्र, शिक्षातन्त्र र अर्थतन्त्र चल्न थालेपछि मात्रै सम्भव छ ।

(लेखक मौलिक जरो किलो पार्टीका केन्द्रीय अध्यक्ष हुन् ।)

सुशील गौतम
सुशील गौतम

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्